Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सुशीलदा राष्ट्रपति, सुजाता पार्टी सभापति

२५ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

सुजाता कोइरालाको राजनीतिक व्यक्तित्व भनेको गिरिजापुत्री हुनु थियो। गिरिजाको देहावशानपछि कांग्रेस पार्टीबाटै उति महत्व नपाएकी सुजाता कोइराला चुनावमा आत्मघाती अनुशासनहीन व्यवहार गरेको भनेर स्पष्टिकरण मुद्दामा समेत मुछिइन्। उनको भाग्य, सुशील कोइराला सभापति थिए, सभापतिबाट माफी पाइन्। अव तिनै सुजाता कोइराला भन्न थालेकी छिन्– म सभापतिमा लड्छु। यद्यपि सुजाता नेपाली कांग्रेसको केन्द्रीय सदस्य छिन्, १३औं महाधिवेशनमा लड्न सक्छिन्। लड्नका लागि लड्छिन् कि जित्नका लागि? १६ बुदे सहमति गरेर चार दलले ठूला ५ पद भित्रभित्रै बााडफााड गरिसकेको सन्दर्भमा सुजाता कोइरालाले पार्टी सभापतिमा उठ्ने विचार राख्नु अनुचित होइन।

सुशील कोइरालालाई राष्ट्रपति दिने सहमति भइसकेकाले आखिर नेपाली कांग्रेसलाई कुनै न कुनै कोइरालाले त हााक्नै पर्‍यो। कांग्रेस पार्टी कोइराला परिवारको बपौतिजस्तै छ भन्दा हुन्छ। यही कारण रामचन्द्र पौडेल र शेरबहादुर देउवा आजसम्म कोइराला परिवारबाट झापड खाादै आएका छन्, नेतृत्वमा पुग्न सकेनन्।कांग्रेसमा अरु दुई कोइराला छन्: वीपी पुत्र सशांक कोइराला र नोना पुत्र शेखर कोइराला। शेखर कोइराला १२औं महाधिवेशनमा सुशील विरुद्ध देउवा क्याम्पमा पुगेका थिए। त्यसपछि निरन्तर सभापति तथा प्रधानमन्त्री सुशील कोइरालको खोइरो खन्दै आएका छन्। सशांक सहनशील छन्, योग्य पनि छन्। तर कांग्रेसभित्र उनको हैसियत जुनियर नै हो। त्यसो त सुजाता पनि कांग्रेस पार्टीभित्र 'बालिका' नै मानिन्छिन्।

अव हेर्नुछ, वीपीको बिरासत गिरिजाले थामे। गिरिजाको अवसानपछि सुशील कोइराला अधिपति छन्। उनले कांग्रेसको साम्राज्य रामचन्द्र वा देउवालाई सुम्पिन्छन् अथवा कान्छा भए पनि सुजाता वा सशांकलाई रोलक्रममा राख्छन्। भारतको भवानीपुरमा जन्मेको नेपाली कांग्रेस यसैगरी भीडभाडमा चलेर आएको छ। गिरिजाप्रसादले नेपाली कांग्रेसलाई समाजवादी सिद्धान्तबाट थपक्क झिकेर 'अवसरवादी' सिद्धान्तको लिकमा ल्याइदिएकाले कांग्रेसभित्रका होनहार नेताहरु बेला बेलामा यता न उताका कुरा गर्छन्। यसपटक त अमरेश कुमार सिंहले  मधेसलाई छुट्टै मुलुक बनाउने सीके राउतभन्दा अगाडि बढेर बोलिदिए। सबैलाई प्रतिक्षा छ, यसपटकको दसैं कुन कांग्रेसको खप्परमा फुलौरा बर्सिन्छ, कुन कांग्रेसको खप्पर धपक्कै बल्छ? सुजाताको सभापति बन्ने सपनाको विपना पनि यही दसैं छेको छर्लङ्ग हुनेछ।