Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

राष्ट्रिय सुरक्षाका क्षेत्र थप व्यापक छ: प्रधानसेनापति शर्मा

३० मंगलबार , फाल्गुण २०७९४ बर्ष अगाडि

 काठमाडौं । रक्षा मन्त्रालय र नेपाली सेनाले विभिन्न मन्त्रालय, निकाय र सुरक्षा सङ्गठनका नीति तर्जुमा तहमा रहने माथिल्लो अधिकृतका लागि उच्चस्तरीय राष्ट्रिय सुरक्षासम्बन्धी तालिम सञ्चालन गरेको छ ।
राष्ट्रिय सुरक्षा सुनिश्चित र राष्ट्रयहित प्रवर्धन गर्ने हेतुले उक्त तालिम सञ्चालन गरेको हो ।

शिवपुरीस्थित सैनिक कमान्ड एन्ड कलेजमा आजदेखि सुरु भएको आठौँ समूहको उक्त १५ दिने तालिममा राष्ट्रिय सुरक्षाका बहुपक्षीय आयामलगायत राष्ट्रियहितका विविध विषयमा ज्ञान दिइनेछ । उक्त तालिम शुभारम्भ गर्दै प्रधानसेनापति महारथी प्रभुराम शर्माले शीतयुद्धपश्चात् विश्व व्यवस्थामा आएको परिवर्तन र बढिरहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाका क्षेत्र थप व्यापक भएको बताएका छन् । 

उनले रुस–युक्रेन युद्धले विश्वमा नै सैनिक शक्तिको महत्व बढेको पनि बताए । उनले दिगो आर्थिक समुन्नतिका लागि सुरक्षित वातावरण अपरिहार्य रहेको बताए। प्रधानसेनापति शर्माले गैर परम्परागत सुरक्षा चुनौतीहरू बढ्ने क्रममा चुनौतीहरू सामना गर्ने उपयुक्त विकल्पहरूको खोजी हुनु स्वाभाविक रहेको बताए । 

नेपालको राष्ट्रिय सुरक्षाका चुनौतीहरूको सम्भावित प्रभाव अनुमान गर्दै त्यसलाई सामना गर्न राष्ट्रिय सुरक्षा नीतिको मार्गदर्शनमा जोड दिए।  १५ चैतसम्म सञ्चालन हुने सुरक्षा तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, सञ्चारमाध्यमलगायत सरकारी र गैरसरकारी निकायका वरिष्ठ अधिकारीहरू ३० जना सहभागी छन्। 

वि.सं. ०७२ सालदेखि सञ्चालन भएको यस तालिमबाट हालसम्म १६६ जना प्रशिक्षित भइसकेको सेनाले जनाएको छ।