Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

विपन्नको निशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने चेतावनी

०६ शनिबार , जेठ २०८०३ बर्ष अगाडि

काठमाण्डौं महानगरपलिकाले स्वास्थ्य संस्था सञ्चालनको मापदण्ड अनुसार विपन्न, असहाय र बेवारिसे बिरामीको निशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । स्वास्थ्य संस्था सञ्चालनको मापदण्ड २०७७ को आरक्षण कोटाअनुसार निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने चेतावनी दिएको हो ।

लक्षित वर्गलाई उपलब्ध गराएको सेवाको सूचना प्रत्येक महिनाको १० गतेभित्र टाँस्न महानगरपालिकाका मेयर बालेन शाहले अस्पतालहरूलाई निर्देशन दिएका छन् । उनले मापदण्ड अनुसार विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कुल शय्याको दस प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था गरे पनि त्यो नपाइएको बताउँदै त्यसालाई कडाईका साथ लागु गर्ने बताएका छन् ।

लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्न तथा महानगरमा प्रत्येक महिनाको १० गतेसम्म बुझाउन जानकारी गराउँदै सामाजिक सन्जाल फेसबुक मार्फत उक्त कार्य नगरे काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारबाही गरिने चेतावनी दिएका छन् ।

उनले अस्पतालहरूले मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा,सेवाग्राहीमैत्री सेवा प्रवाह, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पनि निर्देशन दिएका छन् ।

मेयर बालेनले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन आव्हान गरेका छन् ।