Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कोरिया रिटर्नी हाइड्रो प्रोजेक्ट

३० सोमबार , कार्तिक २०७२११ बर्ष अगाडि

 कोरियाली दूतावास र इपीएस कोरिया शाखाको समन्वयमा कोरिया रिटर्नीहरुको प्रत्यक्ष लगानीमा विद्युत उत्पादन परियोजना सम्भाव्यताका लागि सरोकारवालाहरुसँग छलफल सुरु भएको छ। वैदेशिक रोजगारीमा कमाएको सम्पत्तिको लगानीमा जलविद्युत आयोजना निर्माण गर्नु भनेको नितान्त नयाँ विषय हो र देश निर्माणको पहिलो खुट्किलो मानिएको छ। हुन त, एनआरएनले पनि लगानी गर्ने जनाएको छ। दोहोरो नागरिकता पाएपछि एनआरएन लगानी गर्न हौसिएको संकेतहरु देखिएका छन्। तर, नेपाली आफैले विदेशमा कमाएको पैसाले हाइड्रो पावर प्रोजेक्ट नै निर्माण गर्नु उत्साही विकास हुनेछ।
विदेशमा पसिना बगाएर कमाएको पैसा, सिकेको सीप र अनुभव नेपालको उर्जा संकट टार्ने काममा लाग्नु आफैमा प्रशंसनीय अभियान हो। यस्ता निर्माण कार्यमा नेपाल सरकारले तत्काल सकारात्मक सोच लिएर साथ दिनुपर्छ। भारतीय नाकावन्दीले चरम उर्जा संकट बेहोरिरहेका छन् जनताले। त्यसकारण रिटर्नीहरुको प्रयास २ देखि १० मेगावटसम्मका आयोजना भएकाले त्यस्ता सम्भाव्य आयोजनाहरु निर्माणको जिम्मा कोरिया रिटर्नीहरुलाई तत्काल दिनु उपयुक्त हुनेछ। झट्ट हेर्दा यो सानो प्रयासजस्तो देखिन्छ। यथार्थमा अन्य मुलुकहरुमा काम गरेर फर्केकाहरुको श्रम, सीप र पुँजी हाइड्रो पावर उत्पादनमा लाग्यो भने यसले आश्चर्यजनक परिणाम दिनसक्छ। त्यसै पनि रेमिटान्सका रुपमा भित्रेका पुँजीहरुसमेत घरखर्च अथवा अनुत्पादक भएर रहेका छन्। ती पुँजी पनि हाइड्रो पावर उत्पादनतिर लाग्ने प्रेरणा कोरिया रिटर्नीहरुले दिन सक्छन्। सरकार ध्यान देउ यता।