Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

अवकाशेहरु पेन्सनको गाँस, विदेशमा बास

बैकुण्ठ भण्डारी

०५ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

अवकाशेहरु पेन्सनको गाँस, विदेशमा बास

शासक, प्रशासकहरु अवकाशपछि पेन्सन स्वदेशको खाने, बास विदेशमा बस्ने गरेका अनेक उदाहरण छन् ।
‘कस्ता कस्ता आए गुलेली खेलाए, मट्याङ्ग्रा सत्यानाश’ भन्ने  उखान नेपाली व्यूयोक्रेट्ससँग हुबहु मिल्छ । राष्ट्रवादी मानिएका व्यूरोक्रेट्सहरु ५८ वर्ष उमेरसम्म राष्ट्रका सवै नीति नियम, कानून खेलाउँछन् खेलाउँछन्, आफ्नो स्वार्थ पूरा गर्छन् । अनि  राष्ट्रलाई नै तिलाञ्जली दिँदै विदेशीको दास बन्न विदेशतिर लाग्ने गरेका छन् ।
बैरी । नेपाल सरकारको सहसचिवबाट रिटायर्ड भएको केही महिना पनि भएको छैन । धन्नैले सचिवमा बढुवा भएका उनलाई सचिव नभएकै जाती भयो रे ! किन भनेर सोधेको  ? सचिव भाको भए, अवकाश पछि कहाँ गयो के ग¥यो भन्दै सोधी खोजी गर्नेहरु धेरै हुन्थे । त्यही भएर यही जाती । 
कोही मुठाका मुठा विटा बुझाएर रिझाउँदा पनि सचिव हुन पाईन भन्दै पिआर नविकरण गराउन फुत्त उता पुगेर आउँछन् । बैरी चाहि किन विरक्क्तिएका होलान् भनेको त उनको पहिले  नै पिआर रैछ ! कुन बेला पेन्सन होला र राज्यलाई टेन्सन दिएर भागौंला भन्ने भाको रैछ !
आजकल चिलगाढी चढेर अष्ट्रेलिया, अमेरिका नाती नातीना खेलाउन जाने ९० प्रतिशत त यस्तै सरकारी जागिरे अवस्थामा नै पिआर लिएका बैरी जस्तै सयौं व्यक्ति भेटिन्छ, एयरपोर्टमा ।  अनि तेल भिषामा जाने अधिकांश यस्तै उस्तै त्यस्तै सरकारी कर्मचारी नै  फेला पर्छन् । कतिपय त विदेशी एयरपोर्टमा ह्वीलचेयर घचेटेको भेटिन्छन् ।
बैरीहरुको विचारै बैरी भने जस्तो । सरकारी जागिर खानु त मालदार अड्डामा नै रहेछ । भन्सार र सञ्चार भन्थे रे ऊ बेला । अहिले पनि त्यस्तै छ । पचास वर्ष अघि भोकले विदेशिन्थे पैसा कमाउन । अहिले शोखले विदेशिन पनि छन् पैसा सिध्याउन । 
देशबाट पैसा लिएर जानेहरु हाँसिखुशी आफ्ना छोराछोरीलाई विदा गर्छन, छ सात महिनामा उतै भेट्ने गरी । विदेशबाट पैसा लिएर आउने भाग्यमानीहरुलाई विदाई गर्छन् अर्को थरी बाबु आमा आँसु झार्दै दुई वर्षे भिषा सकेर स्वदेशमा सँगै बस्ने गरी । 
नगरुन् पनि किन ? यहाँ त बैरी जस्ताले शासन गरेको देश हो नि त ? अभिभावक जस्तो सरकार छैन ! व्यापारी जस्तो सरकार छ । सरकारले नै मान्छे बेच्छ ! अनि गरिवका छोराछोरीले पठाईदिएको रेमिट्यान्सबाट जुस र घुस खानेहरुबाट मुलुक कहिले बन्ला र ? मुलुक सिध्याउने यिनै हुन् ।
पचास वर्ष अघि लङ्गौटी लगाएर चामलका लागि लाईन बस्थे र  हाम्रा ‘बा’ हरु ! अहिले जिन्स पाईन्ट लगाएर चामल किन्ने पैसा जोहो गर्न वैदेशिक यात्राका लागि पासपोट र भिषाका लागि लाईन बस्छौं हामीहरु ! कठैबरा देश बनाउन खर्चिनु पर्ने अमूल्य समय लाईन बस्दा बस्दै आधा उमेर जान्छ । 
राष्ट्र कहाँ गरिव हो र ? देशलाई गरिव बनाउने त बैरीहरु हुन् । जसले देशको विकास र जनताको सेवा गर्छु भन्दै शपथ खाएको थियो । तर उसले शपथ खाएसँगै घुस खान थाल्यो । विदेशीको दास बन्दै देशको गोप्य सूचनाहरु सेतो कपडामा कालो दाग लगाउँदै पठाउन थाल्यो । त्यसैले त अवकाश भएको एक महिना हुन नपाउँदै बैरी भए भरको सम्पत्ति बेचेर पिआर सहित उतै दास बन्न हिडिंरहेका छन् । शासक शोषक भएपति कसको बाउको के लाग्छ र ? आखिर देश धान्ने त उही गरिवले नै त हो । देश जोगाई दिनु पर्ने उही गरिव, श्रमिक र श्रममा विश्वास गर्नेले नै त हो !
५८ वर्षे जागिरको अवकाश अनि त्यसपछि जन्मभूमिलाई धोका दिएर विदेशीतिर बास हुनेहरुबाट के नै पो अपेक्षा गर्न सकिन्छ र ? सरकार, सरकार नै नभएपछि बैरीहरुले गर्ने त यस्तै हो । जीवनभर सरकारी सेवा भन्दै क्यास कमाउने, उमेर पुगेपछि त्यही राज्यलाई ख्याँस दिने । 
बैरीले गरेको पनि ठिकै हो । जालसाझी गरेरै भए पनि, नेताको दैलो धाएरै भए पनि । त्यत्ति पुगेन भने दूतावासमै पुगेरै भएपनि देशको इज्जतलाई फालेर आफ्नो स्वार्थ त पूरा गरेकै छ नि । सरकार भन्नेलाई चाहिएकै त्यस्तै हैन र ? 
हिजोका धनाढ्य र जुस र घुस खाएर नव धनाढ्य बनेकाहरु छोरछरी अमेरिका, अष्ट्रेलिया ताक्छन् उतै भासिन्छन् । छोराछोरी कहाँ छ भन्दा उतै भन्छन्, बुढेसकालमा पानी ख्वाउने पनि मान्छे नहुँदा बल्ल पो धिक्कार्छन् । अनुहार दुखि बनाउँछन् । देश र सिस्टम विगार्ने त यिनै त हुन् । आफैले आफैलाई लोप्पा ख्वाउँछन् । 
गरिवका छोराछोरी सँधै गरिव नै देखिन्छन्  मलेसिया, दुवई कतार जान्छन् । दुईचार बर्षमै आफ्नै थाकथलो आउँछन् । छोराछोरी कहाँ छन् भन्दा स्वदेशमै छन् । व्यापार गर्दैछ वा यस्तै मास्टरी सास्टरी केही गर्दछन्, सँगै छम् भन्छन् । खुशी देखिन्छन् । धन भएर दुखी हुनु भन्दा नभएरै खुशी छन् । देशमै छन् । 
देशमा न त नेताका छोराछोरी छन्, न त व्यूरोक्रेट्सका, न त व्यापारीका ! सवैका सवै विदेशतिरै छन् । यताबाट लुट्नु लुट्छन् उतैतिर पठाउँछन् । राष्ट्र बैकका शासकहरुले हुण्डी गर्न सिकाउँछन् । नियमले गरिवले कमाएको ल्याउनै मिल्दैन ! तर अनैतिक ढंगले देश खोक्रो बनाउनेले उता कसरी पढाउन मिल्ने । कहिले एम अधिकारीको चक्कर । कहिले हुण्डीवालाको ठक्कर  ! चक्कर र ठक्करले देश कंगाल भइरहेछ । त्यही भएर होला ५८ वर्षसम्म राज्यको ढुकुटी रित्याउँदा शासक बनेकाहरु अवकाश पछि दास बन्नका लागि विदेशतिरै लाग्ने गरेका छन् । जुन जोगी आए पनि कानै चिरेका त्यसै कहाँ भन्या रैछ र ? 
गाउँ रित्तो, बुढाबुढी असक्त भएर छामी हिड्छन् भित्तो । झण्डावालालाई झण्डैको चिन्ता । देश भाँडमा जाओस् सत्ता सँधै आफ्नैमा आओस् यिनका बाउको विर्ता ? संसद र सांसद जनता चुस्ने जरिया हुन्,  विदेशीको कमिशनमा अपराधको भारी वोक्ने भरिया हुन् । राजनीतिका फटाहाहरुलाई जताततै लुटै लुट, राष्ट्रिय ढुकुटीदेखि एयरपोर्टसम्म यिनलाई छुटै छुट ! गरीवका लागि ऐन छ, यिनलाई चैन ।
नेता होस् कि व्यूरोक्रेट्स उमेर सकिएपछि अवकाश, देशको सम्पत्तिमा विदेशमा बास ? यस्ता देशघातकलाई पाता फर्काउने हिटलर र देश बनाउने सिँगापुरका लि क्वान यु को नेपालमा छैन आश । जय शम्भो । नेता र व्यूरोक्रेट्सलाई पैसाले कम भो ।  अरुको होस् या नहोस्, देश लुटाहहरुकै जय होस् । जय भइरहेकै छ । लुट सकेजति लुट ।