Advertisement Banner
Advertisement Banner

१४ सोमबार, जेठ २०८१17th April 2024, 11:33:48 am

Image

७० वर्षदेखि गरीबका मात्र कुरा हुन्छन्

बैकुण्ठ भण्डारी

१४ मंगलबार , कार्तिक २०८०७ महिना अगाडि

७० वर्षदेखि गरीबका मात्र कुरा हुन्छन्

प्रजातन्त्र आएको ७० वर्ष नाघिसक्यो, सधैं गरीबका मात्र कुरा हुन्छन् । गरीबको उद्धार कहिले पनि हुनसकेन ।
ठाईला बा दंग छन् । राणा शासन, राजा शासन, प्रजातन्त्र, पञ्चायत, पुन प्रजातन्त्र, पुन राजतन्त्र, लोकतन्त्र अनि गणतन्त्र भोगेका ठाइला बा किन यति दंग छन् भन्ने कुरामा पो अचम्म छ । 
फलैंचामा बसेका उनी हातमा भएको स्मार्ट फोन हेरिरहेका छन् । समुद्रपारीबाट छोराले पठाईदिएको फोनमा आजकल दिनदिनै भिडियो कल गर्छन् अनि सानो नातीसँग अँः अँः भन्दै फुक्लिएर वाँकी रहेको अगाडिका दुई वटा दाँत ङ्गिच्च पारेर हाँस्छन् । 
सत्तरी वर्ष अघितिर रेडियो नेपालको समाचारमा प्यालेस्टाइनमा बम हानेको र रकेट प्रहारको खवर सुन्थे । जुन बेला भर्खर भर्खर रेडियो स्थापना भएको थियो । त्यही रेडियोमा नेपालका भन्दा बढी विदेशका खवर आउँथे । ‘झम झम पानी पर्यो असारको रात, बारी भरि बज्न थाल्यो मकैका पात’ प्रकृतिसँग जोडिएको नेपाली  गीत पनि नसुनेका हैनन ठाईला बाले । तर आज त त्यही फोनमा असारमा परेको पानी जस्तै इजरेल र प्यालेस्टाइनमा रकेट बर्षेको र बम पड्किएको प्रत्यक्ष रूपमा भिडियो नै हेर्न  पाएका छन् । त्यही भएर पो ठाईला बा दंग भाको रे ! मोवाईलमा भिडियो हेर्दै ठाईला बाले भनेको । 
तर कुरा त्यहाँमात्र छैन नि ठाईला बा । अर्को हप्ता चिल गाडी चढेर समुद्रपारी पो जाँदैछु भन्छन्  । विज्ञानको चमत्कार हो बाबु चमत्कार ! यस्तो होला भनेर कसले सोच्या थ्यो र ? सँगै बसेका कान्छालाई ठाईलाको जिज्ञासा । 
कान्छो बालाई सोध्छ, अव तपाईहरूको पालामा जस्तो रमाईलो कहाँ छ र ? अहिले त सवै मोवाईलमै छ । छोरा एकातिर बुहारी अर्कोतिर ? भेट्नै मुश्किल ! तपाईले हेरको युद्धको भिडियो पनि त्यही मोवाईलमै काइदाको छ नि । 
काईदा के हुनु हो । यो त विकास गरेका नि । ठाईला बाको उत्तर आईहाल्यो । ऊ बेलादेखि अहिलेसम्म जसको शक्ति उसको भक्ति बाहेक के छ र ? सानालाई सवैले हेप्छन्, थिचोमिचो गर्छन् । 
मोवाईलमा भिडियो देखाउँदै ठाईला बा कान्छालाई भन्छन्, यी हेर यहाँ सत्तरी वर्ष अघि सुनेको युद्ध अहिले सत्तरी बर्षपछि रकेट हानेको देख्न पाईया छ । हेर त गरिव देशको हालत । 
मट्याङग्रो कान्छाले निकै कौतुहलताका साथ सोध्छ, होइन ठाईला बा यत्रा ठूला ठूला घर छन कसरी गरिव हुन्छन् हो ? हामी जस्ता झुपडीमा बस्ने पो गरिव त ? यिनीहरू त रकेटै उडाउन सक्ने पनि गरिव हुन्छ त ? 
‘हेर न हेर यस्का कुरा’, पैसाले धनी हुने हो र मन धनी हुनु पर्यो नी । यीनका दुई आनामा बीस तल्ले घर बनाउँछन् जग्गा जमीन थोरै भए पछि गरिव भएन । त्यसै हेपेको  र छ ? संसारमा गरिव भएपछि जसले पनि हेप्छ भन्ने कुरा यो सत्तरी वर्षसम्म नफेरिएको समाचारले देखाएको छ । 
त्यस्तो नि हुन्छ र भन्या ठाईला बा ? मट्याङग्रो कान्छो प्रश्न गर्छ ।  हुन्छ नि किन हुँदैन । नेतालाई देशको माया नभए पछि, छेपारोले रंग फेरे जस्तै विचार फेरेपछि  के के  हुन्छ ।     
विष नभएको सर्प र इख नभएको मान्छेको के काम ? कम्तिमा त्यहाँका नेतामा इख छ र त सत्तरी वर्ष भन्दा अघिदेखि आफ्नो राष्ट्रका लागि लडेका लडै छन् । हाम्रा त उही हो !
हाम्रा चाहि के ठाईला बा ? 
के हुनु ननि आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुन्छ । देशको परिवर्तन होइन आफै परिवर्तन भईदिन्छन् । गरिवको नाम भजाउँछन् अनि आफ्नो स्वार्थ पूरा भएपछि साहेव बन्छन् । 
कसरी ठाईला बा ? बालकले सोधे जस्तै गरी मट्याङग्रो कान्छो सोध्छ ? हाम्रै देशको इतिहास छ त ? ठाईला बा भन्छन्, नेपाल प्रजातन्त्र आएको ७० वर्ष नाघिसक्यो । सत्तरी वर्षदेखि गरिवको कुरा मात्र हुन्छ ।  ८० वर्ष अघिसम्म राणा शासनमा राजा गरिव जनताका थिए, जनता राजाका पक्षमा थिए । त्यही भएर जनताले राणा शासन ढाले र राजालाई राजगद्दीमा राखे । उनीहरू सत्तामा पुगेपछि जनतालाई रैती बनाए । ६० वर्ष अघि कांग्रेस गरिवको पार्टी बनेर आयो । जनता कांग्रेस बने, जव कांग्रेस सत्तामा पुग्यो । तिनका नेताहरू बाबुसाहेव बने जनतालाई कार्यकर्ता बनाए ।  
त्यसपछि ४० वर्ष अघि एमाले फेरि गरिवको पाटी बनेर आयो । जनता एमाले भए । एमाले सत्तामा पुग्यो त्यसपछि कमरेड भन्ने नेताहरू कमाउ रेड बने र जनताको रेट पो तोके । एमाले बने  वापत कार्यकर्ताले ‘लेवि’ नै तिर्नु पर्ने बनाए । 
लौन त्यत्तिले नि भएन । गरिवको बोलिदिने कोही छैन हो भन्दै २८ वर्ष अघि सशस्त्र युद्धमा होमिएर साँच्चै सर्वाहारा वर्गको नेतृत्व गर्ने भन्दै माओवादी गरिवको पाटीका रूपमा गाउँ छिर्यो । जनता भोकै  शोकमा बसेर भएपनि पत्याईदिए । त्यो गरिवको पार्टी भनेको सर्वहारा पनि सत्तामा पुग्यो । उसैको बलमा राजसत्ता नै ढल्यो । उसले त देश र जनताको मुहार फेर्छु भन्दै, भन्दै आफ्नै रूप फेरिदियो । उ पनि तस्कर र ठेकेदारसँग रमाउन थाल्यो । 
ठाईला बा बहकिन थाले । इतिहास एकोहोरो भट्याउन थाले । कुनै बेला गुमेको आफ्नो दाहिने हात मट्याङग्रो कान्छोलाई देखाउँदै, ‘यी हेर राष्ट्रको लागि झण्डै शहिद बनेको म’ विचरा गहभरी आँशु पार्दे, ङ्गिच्च हाँसेर ठाइला बा भन्न थाले, ‘हेर त अहिलेका उरण्ठेउलाहरू घाँटी सुक्ने गरी कराउँदै साँच्चै नै देश दलेले बिगारे भन्दै गरिवको लागि युवाहरू भन्दै दल खोलेर आए । जनताले पनि पत्याईदिए । तर ती पनि सत्तामा पुगे । विचरा तिर्खा लागेकाले कमिशन र भ्रष्टाचारीसँग मिलेर द्रव्य पिउन थाले । ’
तैले पत्याउँदैनस ? मट्याङग्रो कान्छोलाई धाप मार्दै, हेर कान्छा २० माथिको युवा देश छाडेर सवै खाडीमा, भ्रष्ट, कमिशनखोर, अत्याचारी बलात्कारी सवै सरकारी चिल्ला गाडीमा । यही हो विचार ? यही सिद्धान्त ? अव कसका लागि हो र ? के परिवर्तन गर्ने ? राणा फाले, पञ्चायत, फाले, प्रजातन्त्र फाले, राजा फाले अव के फाल्ने ? विचार र सिद्धान्त नै फालीसके । अव त चिच्याउने कराउनेहरूसँग फाल्ने कुरा केही पनि छैन । चिच्याउँछन्, कराउँछन्, आफ्नै देश सिध्याउने ! यिनीहरूसँग न त विचार छ, न सिद्धान्त ! हामी जस्ता बुढालाई पनि समुद्रपारी फाल्दैछन् । 
मैले कुरो अलि बुझिन ठाईला बा,  कसरी फाल्दैछन् ? 
ठाईला बा भन्छन्,सत्तरी बर्षमा मैले परिवर्तनको महसुस नै गर्न पाइन । अव म आफै परिवर्तन हुँदैछु । चिलगाडी चढेर जाँदैछु कान्छा ‘तेल भिषा’मा । प्यालेस्टाइनी जस्तो देशभित्रै मर्छु भन्ने आँट आएन । विदेशी गुलामी बनेर चिच्याउने र कराउनेको आश पनि भएन । ठाईला बा का दुई आँखाबाट झरेका बर्षे भेलले म निःशब्द भएँ !