Advertisement Banner
Advertisement Banner

३० शनिबार, असार २०८१17th April 2024, 11:33:48 am

लोकतन्त्र र लोकतान्त्रिक सरकार यस्तै हुन्छ ?

१४ मंगलबार , कार्तिक २०८०८ महिना अगाडि

लोकतन्त्र र लोकतान्त्रिक सरकार यस्तै हुन्छ ?

राजन कार्की
लोकतन्त्र कस्तो हुनुपर्छ, लोकतान्त्रिक सरकारले के कस्तो काम गर्नुपर्छ ? नेपालको लोकतन्त्र लोकतन्त्र जस्तो छ र ? न त सरकार नै लोकतान्त्रिक जस्तो छ । फेरि किन लोकतन्त्र लोकतन्त्र भनेर भनिन्छ ?
लोकतन्त्र जनजीवनमा देखिनुपर्छ । जब जनजीवन कष्टकर छ, जनजीवनमा हुनैपर्ने कुनै पनि आधारभूत आवश्यकताको पूर्ति हुनसक्दैन, लोकजीवन अत्यासलाग्दो, बित्यासलाग्दो छ, त्यस्तो पद्धति लोकतन्त्र हुनसक्दैन ।
नेपालमा लोकतन्त्र आकर्षक साइनबोर्डमात्र हो । साइनबोर्ड र बुख्याँचामा कुनै भिन्नता हुन्न । दुबैको काम आकर्षक तर तसाउने । साइनबोर्डले जनजीवनमा कुनै परिवर्तन ल्याउन सक्दैन । साइनबोर्ड बढी भ्रम पनि हुनसक्छ । साइनबोर्ड हेरेर लोकतन्त्रको मूल्याङ्कन गर्न सकिदैन ।
लोकतन्त्रका नायकहरूले बिधि र व्यवहारमा चल्न सक्नुपर्छ । बिधि र व्यवहार झिंझाको डाँकाजस्तो गर्ने, मुखले राम राम भनेझैं लोकतन्त्रको डिङ हाँकेर लोकतन्त्र लोकतन्त्रजस्तो हुँदैन । लोकतन्त्रलाई लोकले अनुभूत गर्नुपर्छ, जब लोक निराश छ, त्यस्तो तन्त्रलाई लोकतन्त्र भन्नु मिथ्या हो ।
नेपालको लोकतन्त्र यथार्थमा डाँकातन्त्रजस्तो छ । प्रत्येक पल भ्रष्टाचार हुन्छ, अपराध भइरहेको छ । कानुनले शासन गर्न सक्दैन । नियमले छेक्दैन । समाज दिनदिनै भत्किदै र बिथोलिदै गएको छ । लोकतन्त्रले मर्यादामा नेतृत्व, शासक प्रशासकलाई राख्न सक्दैन भने त्यस्तो लोकतन्त्र साइनबोर्डभन्दा फरक कहाँ हुन्छ र ?
राष्ट्रियता भनेको लोक हो । लोक भनेको सीमा हो । नेपालको लोकतन्त्रले न लोकको रक्षा गर्नसक्यो, न राष्ट्रको सीमाको । न राष्ट्रिय नीति र बिधिको । कुनै पनि राष्ट्रका राष्ट्राध्यक्ष वा अपराधी आए गए पनि व्यवस्थाका सञ्चालकहरू थाहा पाउँदैनन् वा थाहा पाएर पनि बेवास्ता गर्छन् भने बुझ्नुपर्छ पद्धति सकियो । नेतृत्व देशका लागि होइन, विदेशीका लागि खेताला बने ।
जब कुनै नेता नेपालीत्वप्रति गर्व गर्न सक्दैन, नेपालीत्वको नीतिमा अड्न, उभिन सक्दैन, त्यस्तो नेता भनेको अर्काले उभ्याइदिएको बुख्याँचामात्र हो । बुख्याँचाले चरालाई तर्साउन सक्ला, देश र जनताको रक्षा गर्न सक्दैन ।
जनगणना भयो, पालिका र संघीय निर्वाचन भयो, संसदले चुच्चे नक्सा जारी ग¥यो, नक्साअनुसारको भूगोल नेपालको हकभोगमा छैन । कालापानी, लिम्पियाधुरा क्षेत्रमा चुनाव हुन सकेन, जनगणना पनि भएन । भारतले ठूला परियोजना सञ्चालन गरेको छ नेपाली भूमिमा ।
केही दिन अघिमात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लिपुलेक, लिम्पियाधुरा, कालापानी हुँदै कैलाशपर्वतको दर्शन गर्न पुगे । नेपाली गाउँहरूमा ४ सय करोडका परियोजनाको निरिक्षण पनि गरे । यो सब नेपालीले देखे, नेपाल सरकारले देखेन । संसदमा कोकोहोलो मच्चाइयो, तर संसदले सरकारलाई ती भूमि नेपालको कि भारतको भनेर खरी घस्न सकेन । नेपाली भूमिको रक्षा गर्न नसक्ने पनि लोकतन्त्र हुन्छ ? बिस्तारै बिस्तारै नेपालको क्षमता गौण हुँदैछ । यी कस्ता नेता हुन्, जो आफ्नो भूमिमा अर्को राष्ट्रका सरकार प्रमुखले भ्रमण गर्दासमेत बोल्दैनन्, आफ्नो भूमिमा अर्काले योजना लागू गर्दासमेत थाहा नपाएजस्तो गर्छन्, यस्तो छ नेपालको लोकतन्त्र र असक्षम अकर्मण्य लोक शासकहरू ।
नयाँ पार्टीहरू पनि छन् संसदमा । युवा नेता पनि छन्, ती कसैले पनि प्रभावकारी रूपमा भारतका प्रम मोदीको कालापानी क्षेत्रको भ्रमणलाई प्रभावकारी रूपमा उठाउन सकेनन् । न त सडक आन्दोलन गर्नेहरूले नै यो मुद्दामा सरकारको आलोचना गर्नसके । यहाँसम्म कि नेपालको चुच्चे नक्सा सर्बसम्मत पारित गर्ने संसदले नेपालको भूगोमा विदेशी सरकार प्रमुखले बिना अनुमती, बिना जानकारी यसरी भ्रमणगर्दासमेत थाहा पत्तै नपाएजस्तो गर्नु १० दलीय सरकारको लम्पसारवादी नीतिको खुलासा भएन र ?
तैपनि यो सरकार भन्छ– लोकतान्त्रिक सरकार हो । यो कस्तो लोकतन्त्र हो, जुन सरकारले देशको भूमिको रक्षासमेत गर्न सक्दैन । आफ्नो भूगोलको संरक्षण र सुरक्षा गर्न नसक्ने पनि लोकतान्त्रिक सरकार ?
नेतृत्वकै कारण नेपाल दिनदिनै कमजोर बन्दै गएको छ । राजनीतिक रूपमा अराजकता, शासन सत्तामा अस्थिरता र कूटनीतिक रूपमा असफल हुँदै गएको छ । लोकतन्त्रमा राष्ट्रियता यसरी मैनबत्ती पग्लिएजसरी पग्लिन्छ ? लोकतन्त्रमा राष्ट्रियतामाथि यसरी विदेशीले धावा बोल्छन् ? लोकतन्त्रमा राष्ट्रियता भन्ने विषय पानीभन्दा पातलो हुन्छ ? लोकतन्त्रमा संविधानको रक्षा र पालन गर्ने दायित्व सरकार र संसदले निर्वाह गर्नुपर्दैन ? यहाँसम्म कि संसद छ भन्न सकिने अवस्था पनि छैन । किनकि संसद छ भन्ने बाहेक संसदले खेल्नुपर्ने कुनै भूमिका खेलेको देखिदैन । संसद सांसदले भत्ता र सुविधा असुल्ने हण्डीखानाजस्तो हुनपुगेको छ । यस्तो गाईजात्रा पनि लोकतन्त्र हुनेरहेछ । कुनै पनि कर्तव्य पालना गर्नु नपर्ने भए केको लोकतन्त्र ? केको संवैधानिक व्यवस्था ? के को राष्ट्रियता ? यो पद्धतिले देश र जनतालाई हरिकङ्गाल बनाएर छाड्ने भयो ।
बरू वर्तमान नेतृत्वले हामी राजनीति होइन, राजनीतिका नाममा अपराधिकरण गरिरहेका छौं, राजनीतिका नाममा व्यवसाय चलाइरहेका छौं भने हुन्न र ?
खुला सत्य के हो भने राजनीति गर्नेहरूले देश र जनतालाई नराम्ररी हेपे । देशका बुद्धिजीवी, विवेकशीलहरू बोल्न छाडे, जनता हातमुख जोड्ने कि नेतालाई खबरदारी गर्ने ? नेतृत्वले बुझेको सत्य के हो भने जतिसकेको भ्रष्टाचार गर्ने हो, भ्रष्टाचार गरेको पैसाले चुनाव जित्न सकिन्छ । चुनाव जितेपछि सत्ता, शक्तिशाली हुन कसले रोक्छ ? यस्तो दयालाग्दो सोचबाट ग्रसित छन् वर्तमान नेतृत्व । जसका कारण राष्ट्र असफल हुनुका सबै विशेषताहरू बढ्दै गएका छन् । नेपाल असफलताको भीरमा पुगेको छ ।
बेथिति बढ्दो छ । यस्तै गैरजिम्मेवार राजनीतिले कानुन व्यवस्था कायम गर्न सकेन । कानुनव्यस्था नएपछि हुने अव्यवस्था हो, कुशासन हो । देशमा यतिबेला अपराधिकरण भएको राजनीतिले शासन प्रशासन चलाइरहेको छ । जनता प्रताडित छन् । प्रताडनाको बढ्दो क्रमका कारण अब त अति नै भयो ? न देश सुरक्षित रह्यो, न लोकतन्त्र ? यो पद्धति उत्तम हो, शासक गलत पर्नाले पद्धतिकै बदनाम भइरहेको छ ।
नेतामा मात्र होइन, प्रशासकमा समेत जे गरे पनि हुन्छ भन्ने मानसिकताले सीमा नाघ्यो । नेतृत्व र प्रशासनले बुझ्नैपर्ने कुरा के हो भने उनीहरू भ्रमित भएका छन् । यस्तै हेपाह प्रवृत्तिले जनविद्रोह हुने हो । जब जनविद्रोह हुन्छ, त्यतिबेला संरक्षण दिने अदृश्य शक्तिले पनि छाडिदिन्छ, सातो बोलाइदिने पनि कोही हुने छैनन् । त्यतिबेलाको कहालीलाग्दो अवस्थाको भय कसैमा देखिदैन । भय बढ्दो छ ।
पछिल्लो घटनाक्रम हो, भारतका प्रधानमन्त्री नेपाली भूमिबाट चीनसँग व्यापार गर्न सहमति गरेको ९ वर्ष भइसक्यो । तैपनि नेपालले आफ्नो भूमिको महत्व बुझेन । नेपालको भूराजनीतिको महत्व बुझ्ने विश्वशक्ति नेपालमा प्रतिस्पर्धा गर्न थालिसकेका छन्, नेपाली नेताहरू मुनाफा र स्वार्थमा रलमलिएर नेपालको गरिमा र महिमा सिध्याइरहेका छन् ।
भारतका प्रधानमन्त्री नेपाली भूमि भएर केलाश भ्रमण गरिसके । नेपालका प्रधानमन्त्री वा मन्त्रीहरू मात्र होइन, कुनै नेता पनि आफ्नै भूमिसम्म पनि जान सक्दैनन् । नेपालको चुच्चे नक्सासम्म भ्रमण गर्न नसक्ने नता वा सरकारले आफूलाई राष्ट्रवादी भनेर फुइँकी लगाउनु भनेको आकाशतिर फर्केर थुक्नुसरह हो । जबदेखि राजतन्त्र फालियो, तबदेखि नेपाल अभिभावक विहीन बन्नपुग्यो ।
जनता कमजोर भएपछि हुने यस्तै अपराधिक, अस्वस्थ राजनीति, राष्ट्रघात हो । जनताले बुझेका छन्, जनतालाई पार्टी पार्टीमा बिभाजन गरेकाले नैतिकहीनताले प्रश्रय पाएको हो । नैतिकवानहरूको आवाज पातलिएको छ । भ्रष्टहरूको चर्को आवाज घन्किएको छ । यसकारण त आचरण निर्वाचितमा मात्र होइन, समानुपातिक संवैधानिक सिद्धान्तमा समेत कायम रहन सकेन । जताततै राष्ट्रघात मात्र भइरहेको छ ।
अतिवाद लोकतन्त्रवाद बन्यो भनेको त लोकतन्त्रवादीसमेत अतिवादसँग मिलेर अतिवाद बढाइरहेका छ्न । लोकतन्त्रका नाममा यो अतिवाद हो । अतिवाद अब सह्य हुनुहुन्न । राजनीति त्यसै पनि अपराधिक हुँदै गएको छ, राजनीतिले धर्म छाड्दै गएको छ । त्यसमाथि राष्ट्रघातका श्रृङ्खला चल्नु,  यो थप अपराध हो । राजनीतिका नाममा स्थापित अपराधको अन्त अब जनताले नै गर्नुपर्छ । अकर्मण्यता राजनीतिको चरित्र बनेको छ । यस्तो चरित्रको नास हुनुपर्छ । लोकतन्त्रका नाममा अपराध राजनीतिले देश र जनता दुबैलाई सिध्याउने साजिस गरिरहेको छ । यस्तो साजिसको पर्दाफास गर्नका लागि अघि नबढ्ने हो भने भोलि भोलि धेरै ठूला संकटहरू आउने निश्चित छ । यसकारण जनता जागरूक हुनुपर्छ, अन्यथा हतारमा यस्ता गएगुज्रेका गैरजिम्मेवार नेतृत्वको भर पर्दा भोलि फुर्सदमा खप्परमा हात लगाएर पछुताउनु पर्ने अवस्था आउने छ । अभिभावक नभएको अराजक राजनीतिले देश सिभ्याउन सक्छ, जनता जाग्नैपर्छ ।