शाश्वत शर्मा :-
तमलोपा (तँ, म लोभी, पापी) भन्ने मधेसवादी दल, जो अहिले संयुक्त मधेसी मोर्चाको व्यानरमा तराई मधेसतिर आन्दोलनरत छ, हो, त्यहीपार्टीका एकजना बुद्धिजीवीले केही समय अघि यो पंक्तिकारसँग अहिलेको 'नेपाली सेना' मधेस र मधेसीमैत्री छैन भन्ने गुनासो गरेका थिए। उनको तर्क थियो: यो सेनाले मधेसहिरुको विरोध गर्छ। उनले यो कुरा मधेस आन्दोलन सुरु हुनुभन्दा धेरै अघि यो पंक्तिकारसँग गरेका थिए।
त, मधेसका पार्टीगत बुद्धिजीवीहरु यसरी नै त्यहाँका सोझासाझा नेपालीहरुलाई गुमराहमा पारिरहेका छन्। ...यसरी नै त्यहाँका नेपालीहरुलाई भड्काईरहेका छन्। त्यसो त भन्नु पर्दैन कि यी बुद्धिजीवीहरु सीमापारिबाट 'दीक्षित' छन् भनेर। तर पनि नेपाली सेना जो आज पर्यन्त सर्वमान्य संविधानलाई मानिआएको छ, का बारेमा यसता भ्रमहरु जसरी छरिदैछ, त्यसलाई स्वयं नेपाली सेनाले चिर्नु जरुरी छ। नेपाली सेना पहाडीयाहरुको मात्रै होइन, मधेसीहरुको पनि हो, सबै नेपालीको साझा राष्ट्रिय संगठन हो भनेर एउटा जागरण कार्यक्रम नै मधेसतिर चलाउन जरुरी देखिन्छ। त्यत्रो आन्दोलन भइरहेको छ, त्यत्तिका नेपाली भूभागहरु मिचिएका छन्, अहँ संविधानभक्त नेपाली सेनाले कहिल्यै आफ्नो लाइनलाई क्रस गरेन। अझ कहिले पनि कसैलाई एउटा चेतावनीसम्म दिएन। संविधान अनुसार आउनुपर्छ, (सुरक्षा परिषद, सरकार र राष्ट्रपति मार्फत) नेपाली सेना फेरि जे गर्न पनि तैयार हुन्छ। तराई मधेसतिर गएर नेपाली सेना आफैले सञ्चालित हुने होइन, सरकारले सञ्चालन गर्ने हो भन्ने पनि बुझाउन सकिएको छैन।
गत हप्ता राष्ट्रपति श्रीमती विद्या भण्डारीको जनकपुरको जानकी मन्दिमा भएको पूजाआजा अनि त्यहाँ भएको झडप पछि राष्ट्रपति विरुद्धमात्रै होइन कि केही उच्छृंखलहरुले नेपाली सेनालाई समेत गाली गरे। अहिले यो पंक्ति लेखुञ्जेल वीरगञ्ज, विराटनगरका क्षेत्रहरु फेरि आन्दोलित भएका छन््। प्रहरी र प्रदर्शनकारीहरुवीच झडप पुनः सुरु भएको छ। मधेसी मोर्चा फेरि भड्किएको छ। दिल्लीले पनि 'धोका' दियो भन्ने मानसिकतामा पुगेको भनेर बताइन्छ मधेसी मोर्चालाई। त्यसैकारण दिल्लीको साख जोगाउन र दिल्लीका विरुद्ध यहाँका पहाडियाहरुको रिसलाई साम्य पार्न अव केही दिन नाका केन्द्रित र राजमार्ग केन्द्रित आन्दोलन नगर्ने भनेर मोर्चाले आन्दोलनको कार्यक्रम दिएता पनि त्यो दिगो नहुनेमा कतिपय विश्वस्त छन्। तिनका अनुसार अहिले भइरहेको झडप र घाइतेहरुबाट मोर्चाका नेताहरुलाई नाका बन्द गर्न, खासगरी वीरगञ्ज नाका (जसले गर्दा काठमाडौंलाई सकस पर्छ) पुनः दबाब पर्छ... अनि फेरि उही घटनावृक्ति। राज्य समस्या समाधानका लागि उदासिन छ। जनता झन झन मारमा छन्। राष्ट्रियएकता कमजोर हुँदैजाँदो छ। यही मौकामा सिमाना सारिदैछ। तर यी सब हुँदा पनि नेपाली सेनाले औपचारिक रुपमा यस्ता विषयहरुमा चासो व्यक्त गरेको सुनिएन। कति संविधानभक्त होला नेपाली सेना? यस्तो सोझो र इमान्दार सेनामाथि शंका गर्ने? अव जरुरी भइसक्यो नेपाली सेनाले आफ्नो अवस्था, धारणाका बारेमा मधेसी नेपालीलाई बुझाउन। नेपाली सेनाले अनाहकमा कुनै पनि नेपालीमाथि थिचोमिचो र दमन गर्दैन भनेर सम्झाउन जरुरी भयो है।