स्वयम्भुनाथ कार्की :
लाग्छ पुष १ गते राष्ट्रप्रमुखको कारणले ऐतिहासिक हुने दिन हो। २०१७ को पौष १ गते राष्ट्रप्रमुखको हैसियतमा राजा महेन्द्रले साहस देखाएको दिन थियो। भर्खरै जस्तो आम चुनाव मार्फत प्रचण्ड बहुमतले बनेको सरकार निलम्वन मात्र गरेनन् सरकारका सदस्यहरुलाई नजरवन्द पनि गरे। यो घटनाको बारेमा सबैको आफ्नो आफ्नो धारणा हुनसक्छ। तर यो तथ्य कसैले पनि अस्विकार गर्न सक्दैन कि उनी जीवित रहुन्जेल उनको यो कदम अडिग चट्टानको रुपमा रह्यो। ११ बर्ष १ महिना १६ दिनको उनले र थप १८ बर्ष १ महिना १७ दिन उनका छोरा राजा वीरेन्द्रले मुलुक डोर्याए।
यसको ५५ बर्ष पछि २०७२को पुष १ गते नेपालको राष्ट्रपतिको हैसियतमा राष्ट्रप्रमुख भएकी विद्या भण्डारीको जनकपुर भ्रमण संसार हल्लाउने रह्यो। तर यसले राजा महेन्द्रको जस्तो राष्ट्रप्रमुख बलियो भएको सन्देश दिएन। बरु नेपालको राष्ट्रप्रमुख 'एकल महिला' भएर अपमानित भएको हल्ला संसारभरी चल्यो। यो घटनाले शान्त हुादै गएको तराई पुषको सिरेटोमा पनि फेरी तात्न लागेको छ। नेपालको व्यवस्थाको कमजोरी संसारभर उजागर भएको छ। राष्ट्रपतिले त 'विचरी' भनेर सहानुभूति बटुलेकी छन् भने जनताले समाप्त हुन लागेको त्रास थपिने आशंकामा थुरथुरी हुनुपरेको छ।
कुरो कसैको मान सम्मानको हैन मुलुकको मान सम्मानको हो। जानकी मन्दिरका महन्त मन्दिरमा कुनै भेदभाव नभएको कुरा भनेको भन्यै छन्। यत्रा बर्षमा लाखौं एकल महिलले जनकपुर उत्सवमा भाग लिएका छन। दैनिक सयौं दर्शनार्थीमा कैयौ एकल महिला हुने गर्दछन्। यो भन्दा पहिले कहिल्यै कतै जनकपुरको जानकी मन्दिरमा उनीहरुलाई रोकिएको कुरा सुनिएन। तैपनि घटना त भयो, तर के यो घटनालाई जनकपुरको गौरवशाली परम्परा हियाउन प्रयोग गर्न मिल्छ?
त्यस्तो दुर्वाच्य बोल्ने कोही एक दुई हुनसक्छन, वा कुनै समूह पनि हुनसक्छ। तर यसको सजाय नेपालले आफ्नो गौरव मानेको जानकी मन्दिरले बोक्नु पर्ने हो? जानकी मन्दिरका कोही जिम्मेवार संलग्न नभएको यो शुद्ध राजनैतिक प्रोपोगण्डामा नेपालकै अमूल्य धरोहरको मान मर्दन गर्दा प्रश्न उठछ राष्ट्रपतिको अपमान भयो कि उनको अपमान भएको आरोपमा जानकी मन्दिरको अपमान गरियो। राष्ट्रपतिको व्यक्तिगत कुरा र जीवनलाई लक्ष गरेर यी भन्दा कयौ ज्यादा अपमानजनक हल्लाहरु आउने गरेका छन्। जसको उल्लेख पनि गर्न मिल्दैन।
उनका श्रीमान संगै मृत्युबरण गर्ने अर्का नेताकी श्रीमती भने अवहेलित भएको र उनले भने त्यो अवस्थाको लाभ पाएको कुराहरु सुनिने गर्दछन्। भन्नेहरु त यहाासम्म भन्छन् की व्यक्तिको रुपमा उनीसाग भएको एकमात्र हतियार, क्षमता वा योग्यता नै सहानभूति हो। सहानुभूतिको यो अस्त्र प्रयोगमा उनी सिपालु छिन्। यस हल्लालाई विश्वास गर्नु उचित हुादैन। तर संयोग भने परेको नै छ, मदन भण्डरीकी पत्नी आज नेपालको सर्वोच्च पदमा र जीवराजकी पत्नी गुमनामीमा छिन्।
राष्ट्रपतिमाथि पेट्रोल बम प्रहार भएको, जनकपुरमा राष्ट्रप्रमुख माथि प्रहार भएको यो पहिलो घटना हैन। राजा महेन्द्रको भ्रमणमा उनको गाडीमा पनि बम प्रहार भएको थियो। तर उनले यो घटनालाई जनकपुरको गौरव माथि प्रहार गर्ने हतियार बनाएनन्। यो पेट्रोल बम प्रहारलाई भने जनकपुरमात्र हैन सम्पूर्ण मिथिला संस्कृति माथि धावा बोल्ने अवसरको रुपमा प्रयोग हुनु कुनै पनि देशप्रेमीको निमित्त दुखको कुरा हो।
नेपालका भएका हरेक संस्कृति, परम्पराहरु नेपालका सम्पदा हुन्। चाहे त्यो साकेला होस वा विवाह पञ्चमी। चाहे त्यो लाखे होस, वा देउडा। सबै नेपालीका सांस्कृतिक सम्पत्ति हुन्। नेपालीले गौरव गर्ने धरोहर हुन्। हो जसले वा जुन समूहले उनलाई एकल महिला भनेर प्रताडित गर्ने प्रयत्न गरेको छ, त्यसलाई मुलुकको महिला मैत्री संविधान अनुसार कारवाही गर्नु पर्दछ। कुनै नेपाली चाहे त्यो जुन पनि समुदायको होस्, त्यो यस कारवाहीको विपक्षमा हुादैन। तर यसलाई हतियार बनाएर नेपालीको साझा सम्पत्ति मिथिलाको गौरवमाथि प्रहार गरिन्छ भने सोच्नै पर्छ राष्ट्रपति ठूलो कि राष्ट्र ठूलो?