: शाश्वत शर्मा -
गत शनिवार विराटनगरमा सद्भावना पार्टीका अध्यक्ष श्रीमान राजेन्द्र महतोको टाउको फुटाइदिएर नेपाल सरकारले आफू मधेशमा भइरहेको आन्दोलनप्रति उदासिन रहेको र पारीबाट समेत ग्रीन सिग्नल आएको हुँदा (?) यो आन्दोलनलाई पेलेरै लान सकिन्छ भन्ने मनस्थितिमा पुगेको बुझिन्छ। चार महिनासम्म नाका अवरुद्ध थियो, दशगजामै धर्नामा थिए, श्रीमान राजेन्द्र महतोहरु। देशलाई हाहाकारमा पारे, आम नागरिकको जनजीवन कष्टकार पारिरहेकै छन्। अवरुद्ध वीरगञ्ज नाकाबाहेक अरु नाकाहरु पनि 'योजनाबद्ध' रुपमा अवरुद्ध पारिएको थियो। ...तर अहिले? वीरगञ्ज अवरुद्ध छ, विराटनगरको रानी भन्सार नाका अवरुद्ध (केही समयका लागि) पार्न खोज्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई त्यति विघ्न पिट्नु जरुरी थिएन। सरकारमा बस्नेलाई लुट गर्ने छुट दिएर राष्ट्रलाई अप्ठेरोमा पार्नेलाई कानुनी कठघरामा उभ्याएर दण्डित पनि गर्न सकिन्थ्यो। सामान्य बल पुर्याएर पनि नाका खोल्न सकिन्थ्यो भन्ने भनाई एकथरीको छ। उग्र राजेन्द्र महतोलाई झन् किन उग्र बनाइयो त? प्रष्ट छ, सरकारी मेशिनरीमै 'कहिँ कतै' यो मधेश आन्दोलन, जुन शिथिल हुँदै गएको छ– थियो लाई पुनः जागृत गराउने, झन भयानक रुपमा उग्र पार्ने भित्री योजना छ भनेर किन नबुझ्ने? देशमा जति अराजकता फैलियो, ओली सरकार जो भ्रष्टाचार र कालोबजारीमा लिप्त छ, उसलाई लाभ नै हुने देखिन्छ। त्यो रानी भन्सार केही दिनका लागि अवरुद्ध पार्थे होलान्, राजेन्द्र महतोहरुले। ...तर यिनको मुख्य निशाना वीरगञ्ज नाका हो भन्ने बुझ्दा बुझ्दै त्यसरी जाइलाग्नु हुन्थेन। अहिले देखावटी रुपमा भारतले पनि वीरगञ्जबाहेकका अन्य नाका सहज गरिदिएकै छ।
अब के हुन्छ? प्रष्ट छ, या त सरकारसँगको वार्ता भंग भएर चिसो मौसमलाई पनि वेवास्ता गरेर आन्दोलन भयंकर हुन्छ, या त कमान्डर श्रीमान राजेन्द्र महतो घाइते भएपछि केही दिनका लागि आन्दोलनले विश्राम लिन्छ। तर, बुझेकाहरुले चाहिँ पहिलो सम्भावनातिर इंगित गर्छन्। त्यसको छनक मधेस आक्रोसित भएकाले देखिन थालिसकेको छ। तिनका अनुसार भारतलाई दबाब परेर उसले आफ्नो आफ्नो जिम्माको काम (नाकाबन्दी गर्ने, खासगरी काठमाडौंलाई) मधेसी मोर्चाको काँधमा पन्छाइदिएका हुनाले मधेसी मोर्चा अझ उग्र बन्नेछ।
भारतमा राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब परेको हुनाले नाकाबन्दी केही सहज पार्न भारत बाध्य भएको हो। तर अब मोर्चाको आन्दोलनलाई अझ हिंसात्मक बनाएर भारत मजा लुट्न चाहन्छ। यस्तो गर्दा भारतलाई कुनै दोष पनि आएन र मधेसी मोर्चा भारतको योजना अनुसार चलेको जस्तो पनि देखिएन। त्यसपछि पुराका पुरा यो जिम्मेवारी नेपालको आन्तरिक मामिला हुनपुग्ने भो। भारतको सम्पूर्ण काम पछाडि बसेर पुरा हुने र अझ मधेसी मोर्चा मार्फत नै हुने भो। त्यसैकारणले देखाउनका लागि भारत नेपाल सरकारको ३ बुँदे प्रस्ताव मान्न अनुग्रह पनि गर्छ, मधेसी मोर्चालाई। ...त्यसैकारणले भारत अरु नाकाबाट मालसामान आउन पनि दिन्छ (आफू चोखो बन्न)। तर अफसोच, यही नेपालभित्र कमान्डर राजेन्द्र महतोको टाउको फुटाउने वातावरण पनि सिर्जना गराइदिन्छ– भारत। अब भारतले नाकाबन्दी नगरीकनै नेपालीहरुले दुःख पाउने भए– मधेसी मोर्चाको उग्र आन्दोलनका कारण। के गर्ने यहाँ सबै (कथित) राष्ट्रवादी मात्र छन्। यथार्थमा राष्ट्र र जनतालाई सोच्ने र तिनको हित हेर्ने कुनै राजनीतिक दल नै छैनन्। भारतको गलत मनसुवालाई सहयोग पुर्याउने, राष्ट्रवादीहरु यथार्थमा राष्ट्रघाती हुन्।