रोशन कार्की -
कुनै जातिवादी, भाषा वा भेषवादी, क्षेत्र वा मधेसवादी अथवा कुनै क्रिश्चियन, मुस्लिम वा हिन्दूवादीले भन्न सक्छन्– यो अस्थिपञ्चर कसको हो? सक्दैनन् भने तिनीहरुले किन १ सय २६ जातिका र अनेकन भौगोलिक विशेषतासहित मिलेर बसेका नेपालीलाई संघीयताका नाममा टुक्रा टुक्रा पार्न खोजिरहेका छन्? आफूलाई देशभक्त, सार्वभौम भन्नेहरुले अरुलाई विभाजित र देशलाई बिखण्डन गर्ने अधिकार कुनै नेपालीले दिएका छैनन्। सावधान।
देशलाई जातिका नाममा बिभाजन गर्न पाइन्न। देशलाई मधेस, हिमाल वा पहाडका नाममा बिभेद गर्न पनि पाइन्न। नेपाल एक थियो, एक छ र एक रहनेछ। एक नेपालका लागि सोच्ने व्यक्ति, नेता वा शासक नेपाली हो। जसले देशलाई भाषा, भेष, जाति, क्षेत्रका रुपमा टुक्रा पार्न खोज्छ, त्यो राष्ट्रघाती हो।
संघीयता होस्, नेपाली भावनामा चोट पुर्याएर वा नेपाली नेपालीवीच झगडा गराएर होइन। नेपालीवीचको मेलमिलाप, भाइचारा तोडिन्छ भने संघीयता चाहिन्न। अग्रगमनकारीले सोचुन्, देशको बिभाजन संघीयता हो भने त्यसलाई त्यागुन। सबै जातजाति, भाषाभेष, क्षेत्रको नेपाल हुनुपर्छ, समतामूलक पद्धति चल्नुपर्छ। राजनीतिक स्वार्थ पूरा गर्नका लागि संघीयता लादिनु हुन्न। देशको विकासको राजमार्गको नाम संघीयता हो भने त्यो सबैका लागि स्वीकार हुनुसक्छ। तर, आमनागरिकलाई बुझाउने जिम्मेवारी संघीयतावादीको हो। संघीयताको सोच राख्नेहरुले जबरजस्ती लाद्ने होइन, जनताले अपनत्व ग्रहण गर्नसक्ने हुनुपर्छ।
संविधान जारी भयो र विवादमा पनि आयो। संविधान अझै कार्यान्वयन हुनसकेको छैन। किन? यसबारेमा विषद विश्लेषण जरुरी छ। संविधानले देश र जनतालाई जोड्नुपर्छ। जोड्न सकेन। किन? कहाँनेर कडी खुस्कियो, यसबारेमा संसदमा व्यापक छलफल गरिनुपर्छ र जनताले स्वीकार गर्नसक्ने प्रावधानहरु राखेर संविधानको परिमार्जन गर्नुपर्छ। जनतालाई, जनभावनालाई संवोधन गर्न नसक्ने संविधान जतिसुकै अग्रगमनकारी लेपन दले पनि त्यो लागू हुनसक्दैन। नेपालमा अनेकता छ, त्यो अनेकतामा एकताको भावना जागृत गराउन सक्ने संविधानमात्र नेपालको संविधान हुनसक्छ। प्राविधिक रुपमा ९१ प्रतिशत जनमतले पारित गरेको भने पनि यथार्थमा जनतामा संविधानका प्रति तुष छ। यो यथार्थ हो। त्यो तुष खिल नपल्टिदै सुधार गरिहाल्नु बुद्धिमानी हुनेछ। अहिले सामान्य संशोधनले संविधान सुधार हुनसक्छ, भोलि खिल पल्टिएपछि अपरेशनको जरुरत पर्नसक्छ। राजनीतिक नेताहरु राजनेता बन्न नसक्दाको परिणाम संविधान जारी गरेपछि नागरिक मारिन थालेका छन्। यो कदापि उचित र उत्साहको विषय हुँदैहोइन। नागरिकको खुसहालीको साटो मृत्यु खोज्ने संविधान देशको हितमा हुनसक्दैन भन्ने बुझिहाल्नुपर्छ र देशहितमा हुने सुधार गरिहाल्नुपर्छ।
अन्यथा संविधानले देशको बिनासलीला निम्त्याउन सक्छ। चेतना भया।