स्वयम्भुनाथ कार्की
क्रान्तिकारी हुने धुनमा मान्छेले यस्ता काम पनि गर्छ जसको सम्झनाले उसैलाई अप्रिय लाग्छ, यस्ता कुरा बोलेको हुन्छ जो अष्टिताको सिमानेर हुन्छ। विरोधको भूमिकामा हुन्जेल यस्ता कुराहरुले उसको क्रान्तिकारी उचाई थप्न मद्दत गरेको हुनसक्छ। तर जव आफुले सरकार चलाउन पर्ने अवस्था आउँछ त्यो वेला उसको यही विगतले पोलिरहेको हुन्छ। यसै ग्लानीवोधबाट निक्लने प्रयत्न धेरै हास्यास्पद हुन्छ र असफलताको कारण वन्छ। क्रान्तिकारी विद्रोही हुने योग्यता र मुलुक चलाउने योग्यता दुई विपरित प्रकारका हुन भन्ने कुरा जान्दाजान्दै सम्पूर्णले दुर्दशा भोगिसकेका हुन्छन्।
यस्ता कुराको मार नेपालले लामो समयदेखि भोग्दैछ। हिजो समर्पित भएर सघाउनेहरुको मनमा निराशा र कुन्ठाले घर बनाईसकेको छ। धेरैले यो कुन्ठा व्यक्त गर्न सक्दैनन्। यसमा दोषको भागी आफु पनि भईएला भन्ने डर पनि हुनसक्छ वा अव उनीहरुमा नैतिक वल समाप्त भएको पनि हुनसक्छ। यस्ता कुराले परिवर्तन पछिको नेतृत्व अपवाद बाहेक हमेशा असफल हुने गरेको हुन्छ। अनि स्वभाविक प्रश्न उब्जन्छ, आखिर मुलुक चलाउने योग्यताको मापदण्ड के? जुलुसमा लाठी खाएको कि सुरक्षाकर्मीको मुखमा आगो झोसेको? के जेल यात्राले मुलुक चलाउने योग्यता थप्छ वा आफ्नो कुरासंग विमति राख्नेको 'सफाया' योग्यताको कसी हो?
विस्तारै यस्ता विरोध, विद्रोह वा क्रान्ति आदिको नेतृत्वले बुझ्न थाल्छ मुलुक चलाउन त आफुले विरोध गरेका तरिका र पद्धति नै चाहिने रहेछ। तर उसको यो बुझाईबाट आफुमा परिवर्तन गर्न सक्ने बाटो छोडेको हुँदैन, किनभने आफु हिडेको बाटोबाट हिडने अर्को जत्था तैयार भइसकेको हुन्छ। उसले अनायासै आफुलाई हिजो आफुले खोइरो खनेकाको स्थानमा पाउँछ र हिजोको आफ्नो स्थानमा अरु नै हुन्छन् जो आफ्नो खोइरो खन्दै हुन्छन्। यहाँ बहुदल पुर्नस्थापना पछि राष्ट्रिय सभागृहका एक कार्यक्रममा गणेशमानले बोलेको एक प्रसंग सान्दर्भिक हुन्छ।
उनले इमान्दारीपूर्वक एक घटनाको उल्लेख गरेका थिए। जुलुसको हल्ला सुनेर त्यसमा ध्यान दिएको त जुलुसले गणेशमान मुर्दावाद पो भन्दै रहेछ, यो भन्दा पहिले वीर गणेशमान जिन्दावादको नारा सुन्ने बानी भएको यो सुन्दा नरमाइलो लाग्यो। यस्तै कुरा जनआन्दोलनको लगत्तै पछि विराटनगरको शहिद मैदानमा गीरिजाले भाषणमा उल्लेख गरेका छन्। उनले भनेका थिए– 'विरोध गर्ने बानी परेको अहिले कहिलेकाही आफ्नै सरकारको पनि विरोध गर्न पुगिदो रहेछ'। कम से कम उनीहरुले यो स्विकार गर्ने त हिम्मत गरे तर यही स्थिति सबै नेताहरुमा छ।
उनीहरुमा स्विकार गर्ने हिम्मत छैन त्यसैले त्यसको ढाकछोपको निमित्त अनेकौ सतही बहाना बनाउँछन। हरेक बहानाले अर्को विवाद हुन्छ फेरी त्यसलाई छोप्न अर्को बहाना बनाउँछन्। यो बहानाको श्रृखला निरन्तर हुन्छ। फलस्वरुप उनीहरु उपहासका पात्र बन्छन्, मुलुकले थप कष्ट पाउँछ। हालसालैका गम्भिर लाग्नु पर्ने अभिव्यक्तिहरु सबैलाई हास्यास्पद लाग्ने कारण पनि यही हो। किन नेपालमा आन्दोलन हाँक्न र त्यसलाई सफल बनाउन भने नेताहरु सफल हुन्छन् तर त्यसको व्यवस्थापन गर्न भने असफल भन्ने यो चेतनशिल वर्गको प्रश्नको उत्तर नै यही हो। उनीहरुमा विरोध गर्ने मात्र योग्यता छ मुलुक चलाउने योग्यता छैन।
यो कुराको प्रमाणको रुपमा पेश गर्ने असंख्य घटनाहरु छन्, जसको उल्लेखमात्र पनि हजारौ पेजमा भर्न सक्षम छ। मुलुक चलाउन र विद्रोह चलाउन एउटै कुराले हुँदैन रहेछ भन्ने महशुस भएका केही कुराको उल्लेख भने आवश्यक छ। तर यो महशुस मात्रले योग्यता पैदा गर्दैन, यो पनि सत्य हो। हालै नेपाल सरकारले शिक्षक राजनीतिवाट मुक्त हुनुपर्ने किसिमको संशोधन शिक्षा ऐनमा गर्दैछ। यो सकारात्मक नै भए पनि वर्तमान नेतृत्वको नैतिक धरातल भन्दा वाहिरको कुरा हो।
पञ्चायतमा शिक्षक, विद्यार्थीले सक्रिय राजनीतिमा भाग लिन हुँदैन भनियो। वर्तमानमा मुलुक चलाउने स्थानमा भएका नेताहरुले यसलाई तानाशाही, अँध्यारोयुग आदि नाम दिएर त्यसको विरोधमा संघर्ष गरे। शिक्षण पेशाबाट नेतामात्र हैन शिर्षनेता भएका पनि वर्तमानमा मुलुक हाँक्ने स्थानमा छन्। अव उनीहरु नै भन्दैछन्– शिक्षक राजनीतिबाट टाढा हुनुपर्दछ। यस्तै कुरा विभिन्न पेशागत संगठनहरुमा पनि भोलीका दिनमा आउन सक्छ। यस्ता संगठनहरु दलका भातृ संगठनका रुपमा नभए दल चल्छ कि चल्दैन? अरु पेशागत संगठन र विद्यार्थी सकृय राजनीतिमा रहने हो भने शिक्षक मात्र किन प्रतिवन्धित? जस्ता प्रश्नले पिरोल्न थाले पछि अवस्था कस्तो होला?
त्यसैले जेल वसेको, प्रतिपक्षमा भएको वेला जुलुसमा लाठी, गोली खाएको, पर्चा बोकेको वा पोष्टर टाँसेको योग्यता मुलुक चलाउने योग्यता हैन। जुलुसमा ढुंगा हानेको, गुलेली चलाएको, मुखमा अगुल्टो झोसेको जस्ता कुराहरु पनि मुलुक चलाउने योग्यता हैन। कुनै सिद्धान्त (?) बोकेर व्यक्तिहत्या गरेको, हिंसात्मक काम गरेको कुरा त्यस वेलासम्म मात्र राजनैतिक हो कि भनेर भन्न सकिन्छ जुन वेलासम्म त्यो व्यक्ति वा समुह त्यस सिद्धान्तमा अडिग रहन्छ। त्यो सिद्धान्त छोडेर आफुले विरोध गरेका कै कार्यनीति र पद्धति अपनाउन थाल्ने वित्तिकै त्यो व्यक्तिहत्या वा हिंसा जगन्य अपराधमा परिणत हुन्छ। त्यसैले त्यो मुलुक चलाउने योग्यता हुनै सक्दैन।