शाश्वत शर्मा :
गत पुस २६ गते आइतबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहद्वारा जारी गरिएको 'शुभकामना सन्देश'को ज्वारभाटा अझै थामिएको छैन। सबै क्षेत्रलाई उक्त सन्देशले तरंगित गरेको छ। सन्देशमा उल्लेख प्रत्येक वाक्यांश अर्थले भरिपूर्ण थियो। पूर्वराजाले सन्देशमा व्यक्त गरेका भावनाबाट सच्चा राष्ट्रभक्त नेपालीहरु खुसी हुनु स्वभाविकै हो। हुन पनि नेपाल र नेपाली जनताको भार अझै बोक्न तयार छु (वा, बोकिरहेको छु) भन्ने आशयले कुन चाहिं नेपाली खुसी नहोला र? तर एकथरिको विचारमा कतै पूर्वराजा पनि प्रम ओली झैं अन्टसन्ट बोलेर मात्र हिंड्ने, तर सिन्कोसम्म नभाँच्ने स्थितिमा त पुगेको होइन? भन्ने शंका गर्छन्। तिनका अनुसार यसअघि अवसर अवसरमा जतिपनि परम्परागत सन्देशहरु आए ती सबैमा यस्तै किसिमका भावना र प्रतिबद्धता हुने गर्दथे। आजसम्म केही भएन। मुलुकमा यत्रो हाहाकार छ, राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रहरुमा। खोई त पूर्वराजाले देखिने गरी सम्बोधन गर्न सकेको/खोजेको? तर एकथरि उग्र राजावादीहरु चाहिं माथि उल्लेख गरिएभन्दा भिन्न पूर्वराजाको सन्देशले 'आफू अझै मैदानमै छु' भन्ने बुझाउन खोजेको छ भनेर भन्छन्। तिनका अनुसार पूर्व राजाले ०६५ सालमा दरबार छाड्दा बखत गरिएको (लुकेको) सहमतिलाई (प्रमुख दल र भारतसँग) लागू गर्न यहाूका राजनीतिक दलहरुलाई झकझक्याएको देखिन्छ। तर, यहाँ यस्ता पनि विचारकहरु छन्, जो उक्त सन्देशको अब कुनै महत्व नरहेको भनेर आफ्नो विचार प्रस्तुत गर्दैछन्। तिनका अनुसार गत असोज ३ मा 'पूर्ण गणतान्त्रिक संविधान' जारी भएर त्यसका धाराहरु परिमार्जित हुँदै लागू हुने तरखरमा रहेका बेला अब यस्ता सन्देश र त्यसमा लुकेका भावनाहरु 'बेकामी' 'म्याद नाघेका ओखती' हुन जान्छन्। ...पटाखाले चरो मर्दैन, त्यस्तै हो त्यो सन्देश।
माथिका यी दुई विचारहरुभन्दा अलि पृथक विचार प्रेसित गर्ने अर्को जमात पनि छ, जो पूर्व राजाको नेपाली जनतामाथि उनले व्यक्त गरेको 'आधारको भार' भन्ने शब्दप्रति पूर्ण सहमति राख्छन्। नेपाल राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहका वंशजले अझै पनि नेपाल र नेपालीप्रति आफ्नो जिम्मेवारी छ भनेर दर्शाउन खोज्नु उनको कर्तव्य नै हो र उनको हक पनि हो। पूर्व राजाले ०६२/६३ हुँदै ०६५ र त्यसपछि घटेका यावत राजनीतिक घटनाक्रमहरुमा कुनै 'हस्तक्षेप' गरेनन्, मात्र मुकदर्शक भइरहे। बालक राजा, सांस्कृतिक राजा, आदी–इत्यादी जस्ता नयाँ प्रयोगहरुमा (जुन गरिएन) पनि उनले चुइक्क बोलेनन्।
केही हजारको प्रायोजित भीडलाई र स्वार्थपूर्ण अन्तर्राष्ट्रिय दबाबलाई सहिरहे। आफूमाथि भएको धोकालाई कहींकतै कुनै पनि किसिमबाट स्पष्ट रुपमा उजागर गरेनन्। तर अब अति भयो, मुलुकमा गणतन्त्र, धर्मनिरपेक्ष, संघीयता जस्ता नयाँ प्रयोग गरिएमा मुलुकको कायापलट नै हुन्छ। ...मुलुक रातारातमा स्वीट्जरल्यान्ड हुन्छ भन्ने वर्तमान प्रमुख नेताहरुको भनाईको ठीक विपरित जब मुलुक नै टुक्रिने, अस्तित्व नै मेटिने, अनि नेपालीहरु हाहाकारको स्थितिमा बाँच्नु पर्ने अवस्था भयो। तब नेपाल एकीकरण गर्ने शाहवंशका उत्तराधिकारीले अब आफ्नो भूमिका खोज्न थाले– तिनको कथन छ। तर कस्तो र कुन तरिकाको भूमिका? निश्चय पनि पूर्व राजाले पूर्व राष्ट्र प्रमुखको हैसियत अनुसारको जिम्मेवारी पाउनुपर्छ।
प्रष्ट हौं, मुलुक एकतर्फी रुपमा गणतन्त्र भएको हो। भोली यो खारेज गरेर पुनः राजतन्त्रात्मक बनाइएको खण्डमा, २०६२/०६३ मा हल्ला गर्ने जमात फेरि देखिने छैनन्– त्यो पक्का छ। भन्नु नै पर्दा स्वयं गणतान्त्रिक पार्टीका कार्यकर्ताहरुले पनि अब त्यो आक्रामक शैली अपनाउने छैनन्, जुन हिजो ०६२/६३ तिर देखाइएको सपनाबाट प्रभावित भएर काठमाडौंको सडकमा देखाउन पुगेका थिए। मतलब, घाम जत्तिकै छर्लङग भयो, यिनको गणतन्त्र, धर्मनिरपेक्षता अनि संघीयता मुलुक 'स्वीट्जरल्यान्ड' हुनु त कता हो कता? 'नेपाल' नै नरहने वा टुक्रिने स्थितिमा पुगेका बेला अनि स्वयं सत्ताशिनहरुले नै 'कालो बजार'लाई प्रश्रय दिइरहेको भन्ने तथ्यपूर्ण समाचार आइरहेका बेला जनताले खोज्ने सहारा हो भने राजाले खोज्ने नेपाली जनतालाई नै हो। बस्, अब मिलनबिन्दूको लागि तयारी गर्नुपर्ने मात्र हो। त्यसका लागि पूर्व राजाको तर्फबाट पनि देखिने गरी पहल हुनुपर्यो भने आमनेपालीहरु त अझ आव्हान कै प्रतिक्षामा छन्। मुख्यकुरा मर्म अनुसारको कर्म हुनुपर्यो। अव आश्वासनले मात्र काम गर्दैन।