स्वयम्भुनाथ कार्की :
बढीमा २०७२ साल माघ ७ सम्म रहने यो सरकारको मधुमास काल समाप्त भइसकेको छ। संविधानले नै संक्रमणकालमा भएको व्यवस्था अनुसार काम गर्न तोकेको सरकारबाट त्यो दिनसम्ममा संविधानले कल्पना गरेको नयाँ नेपालको ढाँचा र शासन प्रणालीमा मुलुक लैजाने प्रयत्न भएको देखिएको छैन। न त दैनिक कामकाज अन्तरगतको दायित्व सक्षम शासनले जनताको न्यूनतम बाँच्ने आधारको निमित्त केही काम गरेको देखिएको छ। तर संविधान नाध्ने मनसायको चोर बाटो खोजेर र अयोग्यताको आफ्नो टोली चयन अनि जनताको कष्ट प्रति ध्यान नदिएको अनुभूति गराएर जनविश्वास गुमाउदै छ।
यो कसैका निमित्त पनि सुखद समाचार हैन, इतिहासमा नै सवैभन्दा खतरामा भएको नेपालमा कोही यो कुराले रमाउन सक्दैन। त्यसमाथि थप जव सरकारका जिम्मेवार निकायमा रहेकाहरु जनताले प्रधानमन्त्रीको कुरामा अविश्वास गरेको कुरामा उग्र प्रतिक्रिया व्यक्त गर्न थाल्छन भने यो भन्दा दुखद अरु के कुरा हुनसक्छ? हो प्रधानमन्त्रीका आश्वासनहरु संसार मै नभएको नौलो कुरा थिएनन्, तर पत्याउनु नपत्याउनु सार्वभौम जनताको अधिकारको कुरा हो। इतिहासमा जस्तो सरकारद्वारा घोषित योजनाको विरोध त गरेका छैनन्, न प्रधानमन्त्रीको परिकल्पनाको विरोध नै गरेका छन्। सरकारलाई काम गर्नबाट रोक्ने कुनै काम जनताले गरेका छैनन्। केवल बोलेको कुरा पुरा गर्न यो सरकारले सक्छ भनेर नपत्याएको मात्र हो। यो नपत्याए वापत जनतालाई गाली गर्न सरकार किन आफ्नो शक्ति लगाइरहेको छ? 'चोरको खुट्टा काट' भन्दा किन खुट्टा तान्दैछ? नपत्याउनेलाई मुखभरीको जवाफ त्यो काम पुरा गरेर दिन सकिन्छ भनेर सोच्न नसक्नु अनौठो कुरा हो। यसको सिधा अर्थ हो यो कुरा स्वयं त्यसको प्रतिरक्षा गर्ने समर्थक समूहले पनि पत्याएका छैनन्। आफ्नो झुट उजागर भएकोले तिलमिलाएका छन्।
जनताले नपत्याउनुको कारण प्रधानमन्त्रीले हुनै नसक्ने कुरा गरे भनेर होईन। यो सरकारको अयोग्यता केवल भाषणले मात्र ढाक्न खोजेको ठानेर हो। सरकारको अहिलेसम्मको कामकाजमा देखिएको अयोग्यताले आफ्नो क्षमताले गर्न त के सोच्न समेत नसक्ने काम आँटेको देखेर अविश्वास गरेको हो। जो सरकारमा पृथ्वी नारायण शाहलाई आदर्श पुरुष घोषणा गर्ने दल र उनको नामै लिन नमान्ने दलसमेत सामेल छ, त्यसबाट आशा गर्न सकिन्न। आफै विच यस्तो मतभिन्नता भएको टोलीबाट काम हुन सक्दैन, यो शास्वत सत्य हो। गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई ठूलो उपलव्धि मान्ने र यसलाई मुलुकको वर्तमान दुरावस्थाको कारण मान्नेको जमात भएको यो सरकार आफैमा कति दिग्भ्रमित होला भन्ने कल्पना सहज छ। महाविनाशकारी भुईचालोले थिलथिलो पारेका जनताको वारेमा नवौ महिनामा वल्ल सोच्ने सरकारलाई जनताले जनउत्तरदायी संझेनन् भनेर गुनासो गर्ने ठाउँ छैन। महिनौदेखि अभाव र कालावजारीको मारमा पर्दासम्म त्यो हल गर्न भाषण र निष्कर्षहिन वार्ता वाहेक सिन्कोसम्म नभाँचेको सरकारको योग्यतामा जनताले शंका व्यक्त गर्ने अधिकार राख्छन्। जस्तो भए पनि जे गरे पनि जनताले सरकारको भजन मात्र गाईरहनु पर्दछ भन्ने सोचले नपत्याउने जनतालाई गाली गर्ने समूह जनताका हितैषी हुनै सक्दैनन्। कुनै आलोचनाले वा अविश्वासले सरकारले गर्न खोजेको कुनै काममा बाधा परेको भए जनताका सामु त्यो प्रष्ट भन्न सक्नुपर्छ।
त्यही जनताको रगत पसिनाको कमाईबाट तिरिएको करले संकलित राजश्व खर्च गरेर तिनैलाई गाली गर्न बन्द गरेर काम पुरा देखाउने चुनौति हिम्मतका साथ स्विकार गर्नु पर्दछ। अविश्वास गर्ने जनतालाई सक्ने भए बरु यो सरकारले मधुमास कालमा जनताको यो यो कष्ट निवारण गर्यो भनेर देखाए त्यो न्यूनतम भए पनि सदुपयोग हुन्छ। मन्त्रिमण्डलमा आपसी सहयोग छ र सहकार्य छ भन्ने कुराको उदाहरण पेश गरेमा राम्रो हुन्छ। संसारमा कही पनि जनतालाई र विरोधीलाई गाली गर्ने सरकारको भलो भएको उदाहरण छैन। नेपाल पनि यसको अपवाद हुँदैन। किन नबुझेको?
अर्को डरलाग्दो शंका प्रधानमन्त्री ओली माथि पैदा भएको छ। त्यो हो सरकारको नेतृत्व गर्ने उनको शारीरिक र मानसिक क्षमता। सबैलाई थाहा भएको कुरा हो उनको मृगौलाको प्रत्यारोपण भएको छ। अंग प्रत्यारोपणबाट सामान्य स्थितिमा आउन लामो समय लाग्छ। प्रतिरोपित अंग र शरिर बीच द्वन्द चलिरहेको हुन्छ। यो अवस्थालाई नियन्त्रणमा राख्न चिकित्सकहरुले बहुतै विशेष दवाईहरु सेवन गराउने गर्दछन्। यस्ता दवाईहरु स्टेरोइड र लागु औषध प्रवृत्तिका हुन्छन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ।
के ओलीले त्यो दवाई सेवन गर्नुपर्ने अवस्था पार गरेका छन् वा त्यस्ता दवाई सेवन जारी छ? यो एक अहम् प्रश्न हो। यस्ता दवाइहरुको काम नै रोगीलाई स्वप्नलोक महशुस गराउनु हो, कल्पनाको उडानमा राखेर शरिरमा अंगहरुको बीच समन्वय कायम गराउनु हो। स्टेरोईडले शरिरलाई क्षमता भन्दा वढी काम गराई दिन्छ त्यसैले खेलाडीहरुमा स्टेरोईड प्रयोग वर्जित गरिएको छ। लागु औषधीले मानसिक भ्रम पैदा गर्ने, छिनछिनमा स्वभाव परिवर्तन गर्ने काम गर्दछ। यो एक उद्वेलित र उत्तेजित मानसिक अवस्था हो जो दवाई सेवनको केही समय कायम रहन्छ। त्यसैले मुलुक हाँक्न जिम्मा दिएको ओलीको शारीरिक र मानसिक स्वास्थ कस्तो छ त्यो जनताले जान्न पाउनु पर्दछ।