धर्मरत्न श्रेष्ठ :
नेपालका माओवादीहरुले पुतलीको खेल खेलिरहेका छन्। केटाकेटीहरु टालाटुली बटुली खेल्छन्, नेपाली माओवादीहरुको राजनीति त्यही खेलजस्तो लाग्छ। जनयुद्धकालका क्रान्तिकारीहरु भ्रान्तिमा लागेर ६ टुक्रा भइसके। अव उनीहरु एकताका कुरा गर्छन्। एकदोस्राप्रति सधैं सशंकित भएर रहने यी क्रान्तिकारी नामधारी शंका बोकेका प्राणीहरु यथार्थमा राजनीतिक प्राणी हुन् कि हिंसात्मक?
किनभने यिनको मुख जति सुकिलो मुकिलो देखिन्छ, यिनका अभिव्यक्तिहरु अहिले पनि द्वन्द्वकाल, यिनका कथित जनयुद्धकालजस्तै लाग्छन्। यिनीहरुले सहयात्रा, सहमति र विश्वासको राजनीति गर्नै जानेनन्। यिनीहरु स्वयं टुक्रिएका छन् र एकदोस्राप्रति वाकवाण युद्ध गरिरहेका छन् भने यिनले मुलुकलाई, सर्वहारा दुःखित जनतालाई के दिन सक्छन्। जबकि यिनीहरु स्वयं भोका छन्, लोभीपापी छन् र उदारता र इमान यिनको चरित्र, व्यवहारमा देख्नै पाइएन भने यिनीहरु टुटे के फुटे के, र जुटे के? जनता गोठाला न बनेको छ। गोठालालाई बिगौति भन्ने उखानै छ। जनता लोकतन्त्रका लोक बन्न सकेनन्।
प्रचण्ड नेतृत्वको माओवादी फुटेर बैद्य बन्यो, बिप्लव भयो। मात्रृका यादव पनि फुटेर गए। संस्थापन भनेर बसेका प्रचण्डसँग परि थापा र मणिले पनि सहयात्रा गर्न सकेनन्। यिनै प्रचण्डसँग कुरा मिलेन र डा.बाबुराम नयाँ शक्ति बनाउने अभियानमा जुटेका छन्। प्रचण्ड र बाबुरामवीचको वाकयुद्ध सुन्दा लाग्छ, यी मिलेरै जनयुद्ध गरेछन् र? जस्तो लाग्छ। निकै कमजोर भएको अनुभूति भएछ प्रचण्डलाई र उनी बैद्य निकट पुगेका छन् र एकीकरणको प्रयास गरिरहेछन्।
मोहन वैद्यले दिल्लीका दलाल भनेर डामेका प्रचण्डसँग मिल्ती गर्ने रे? विश्वास त लाग्दैन तर यी दुई नेतृत्वको पार्टी एकीकरण नगरी यिनको अस्तित्व बच्नेवाला पनि छैन। भर्खर खबर आएको छ कि प्रचण्डले आधा आधा उमेदवार खडा गरेर स्थानीय चुनाव लडौं भनेर केपी ओलीसँग प्रस्ताव गरेछन्। कुनै बेला यिनै प्रचण्डले मधेसी दलहरुसँग हात मिलाएर प्रेम गरेका थिए। ती मधेसी आजकल प्रचण्डसँग विश्वासघाती भनेर तर्किएका छन्। अर्थात स्वार्थका लागि प्रचण्ड जोसँग पनि झुक्न सक्छन्, मिल्न सक्छन् तर मिल्ती कायम राख्दैनन्।
यसकारण जनतालाई, देशलाई के फरक पर्यो, प्रचण्ड र वैद्य मिल्दा? एक माओवादी हुँदा देश भ्रष्टाचार र दूराचारमय बन्यो। माओवादी फुटेर टुक्रा टुक्रा हुँदा पनि माओवादी देश र जनताका लागि हितकारी बन्न सकेन। अव बैद्य र प्रचण्ड मिलेर पनि देश र जनताले केही पाउनेवाला छैन। यी मिल्छन्, यिनकै स्वार्थ र अस्तित्व रक्षाका लागि। देश र जनता भूकम्पको मारमा, नाकावन्दीको हाहाकारमा, भ्रष्टाचार र कूशासनको दलदलमा फसिरहनु पर्छ भने कुनै दुई दल अथवा अनेक दल मिल्दैमा देश र जनताले पाउने केही होइन। जनतालाई जहिले पनि लोकतन्त्र कौवालाई बेल पाकेसरह हुन्छ भने यी मिलुन् कि झगडा गरुन्? यिनको निरन्तरको सम्पर्क, सम्बाद भनेको जनताका लागि होइन भन्ने निश्चित छ। भन्नलाई त ५ माओवादीको मोर्चा बनाएर अघि बढाउने पनि हल्ला छ। जबसम्म प्रचण्डले २६ वर्षदेखि कब्जा गरेर बसेको अध्यक्षता छाड्दैनन्, तवसम्म एमाओवादीले जनहित र सर्वहारा बर्गको पक्षमा बोल्नुको अर्थहीन भइरहनेछ।