शिवप्रसाद सिग्देल :
संवेदना हुदो हो त यी बेपत्ताका परिवारजनले यसरी सडकमा धर्ना दिएर आफन्त कहाँ छन् भनेर सोधिरहनु पर्ने थिएन। यसको अर्थ सरकार छ, बेपत्ता परिवार अथवा हिंसापीडित, द्वन्द्वपीडितका लागि सरकार छैन। नन्दप्रसादको लाश अस्पतालको फ्रिजमा राखेको १५ महिना भइसक्यो, अधिकारकर्मीसमेत चुप लागेेर बसेका छन्। गंगामायाँ मेरो छोराको हत्यारालाई कारवाही गर भनेर अनसनमै छिन्। अनसन कोही देखिरहेको छैन। यही हो लोकतन्त्र? लोकतन्त्रमा जनताले यसैगरी न्यायका लागि गुहार मागिरहनुपर्छ? लज्जा छ लोकनेताहरुलाई भने तिनले आफ्नो अनुहार ऐनामा हेर्नु जरुरी छ। किनभने अनुहार जस्तो छ, छायाँचित्र त्यस्तै देखिन्छ। भन्नुको अर्थ यी नेताहरुमा लज्जा छैन, लोकतन्त्रका गरिमा र महिमाको सम्मान गर्ने औकात पनि छैन। जो इमानमा बस्न सक्दैन, उसले लोकतन्त्रको कुरा गर्नु भनेको झूठ हो।
नेपालमा झूठो लोकतन्त्र चलिरहेको छ। झूठ बोल्ने नेता शासन गरिरहेका छन्। यही कारण हो भ्रष्टाचार र अनैतिकता घट्न सकेको छैन। जनता शास्ती खेपिरहने, नेता जनताको टाउमा घिरिङ खेलिरहने? जनताप्रति जिम्मेवारी, देशप्रतिको मायाँ र पद्धतिप्रतिको नैतिक दायित्व लिन नसक्नेले लोकतन्त्र चलाउन सक्दैन। लोकतन्त्र यतिखेर लुटतन्त्र बनिरहेको छ। बनाइएको छ। सिण्डिकेटतन्त्रमा हुने मनपरी हो, जो चलिरहेको छ। ठूला दलले जुनसुकै विषयमा भागबण्डा गर्ने रे? के हो यो? लुटेको धन अथवा लुटाहहरुकोमात्र भागबण्डा हुन्छ। लोकतन्त्रमा क्षमता, योग्यता, लोकअपेक्षाको कदर हुन्छ। लोकतन्त्रमा तेरोमेरो हुन्न, बिधि हुन्छ र बिधिमा फिट हुनेको इज्जत हुन्छ। हाम्रो लोकतन्त्र त नेताको नजरमा फिट हुनेको मात्र इज्जत हुनथाल्यो। जो फौजदारी अभियोगमा डामिएका छन्, जसमाथि अदालतले दण्डजरिबाना गरेको छ अथवा लोकनजरमा दोषी ठहरिएका छन्, तिनीहरु शासनमा छन्, सत्तामा छन् र जनताका मालिक बनेका छन्। कस्तो दुर्भाग्यजनक परिदृश्य।
यही कारण हो जनयुद्धकालीन समयमा राज्य र बिद्रोहीले बेपत्ता पारेका र मारेकाको परिवारजन यतिखेर सडकमा न्याय कुरिरहेका छन्। न्याय मागिरहेका छन्। न्याय दिने, कानुन बनाउने ठाउँमा अपराधीहरु बसेका छन् र तिनले कसरी न्याय देलान्? जो जेलनेल हुनुपर्थ्यो, उनीहरु जननेताको पगरी गुथेर बसेका छन्। जसको आवाज सुनिनुपर्थ्यो, जसले न्याय पाउनुपर्थ्यो तिनीहरु सडकमा रोएर बसेका छन्। तिनलाई हेर्ने कसले?
अचानोको पीडा खुकुरीलाई थाहा हुन्न। खुकुरीको काम काट्नु हो। जनयुद्धकारी र सत्तापक्षले जनताका अभिभावक, छोराछोरी काटे। मारे। बेपत्ता पारे। तिनै हुन् खुकुरी। त्यही चोटको पीडा सहन गर्न नसकेर रुँदै यी आमा, दिदीबहिनी, छोराछोरीहरु न्यायको गुहार लगाइरहेका छन्। न्याय दिन नसक्नेहरु राज्य चलाइरहेका छन्। शासक बनेका छन्। यो अर्को दुर्भाग्य हो।
अति गर्नु हुन्न। न त समय खेर फालेर न्याय दिन अबेर गर्नुहुन्छ। अबेर गरेर दिएको न्याय पनि अन्याय नै हो। लोकतन्त्र र लोककल्याणकारी राज्य हो भने न्याय समयमै दिनुपर्छ। हुन त बेपत्ता र मेलमिलाप आयोग पनि गठन भएको बर्षदिन नाघिसक्यो। ती आयोगले केही लछारपाटो लगाउन सकेन। आयोगमा बस्ने राजनीतिक नियुक्तिमा आएका पार्टीका कार्यकर्ता न ठहरिए। तिनले के निर्णय अथवा प्रक्रिया थाल्न सक्थे र? तलव भत्ता खान गएकाहरुले लुटिरहेका छन्, बसिरहेछन्।
बेपत्ता र पीडितका परिवारजनले न्याय पाउने कि नपाउने? अधिकारकर्मी, नागरिक समाज र बुद्धिजीवीहरुले दिनुपर्ने दबाब दिनुपर्यो र संसदमा यो मामिला उठ्नुपर्यो। के गर्ने हो? यसरी जनताको घाउ आलै राख्नु भनेको विद्रोहको बिउ राख्नु हो भन्ने अहिले बुझ्दा धेरै राम्रो हुनेछ।