Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रवादीहरु जुर्मुराउने कि?

११ सोमबार , माघ २०७२११ बर्ष अगाडि

शाश्वत शर्मा :
केही सय वा केही हजारको मात्र भीड जुटाएर 'राजा फर्काउ अभियान'मा लागेका राष्ट्रवादी उर्फ राजावादीहरु अव तात्तिएर लाग्नुपर्ने बेला आयो। यहाँ जसको शक्ति उसको भक्ति भन्ने परिपाटीलाई संस्थागत गरिएको परिप्रेक्षमा शक्ति देखाएका मधेसी मोर्चाका लागि गत शनिवार संसदबाट वर्तमान गणतान्त्रिक संविधान, जुन गत असोज ३ गते जारी गरिएको थियो, को पहिलो संशोधन पारित गरियो। त्यसो त, जसको लागि अर्थात मधेसी मोर्चाका लागि संशोधन गरिएता पनि स्वयं उक्त मोर्चा यो संशोधनले मात्र 'पुगेन' 'मधेसी मोर्चाको माग संवोधन भएन' अरु बढी चाहिन्छ, गर्नुपर्छ भनेर आक्रोस पोखिरहेका छन्। यो संशोधनका पक्षपातीहरु कांग्रेस, एमाले र एमाओवादी पार्टीहरु चैं यति संशोधन गर्‍यो भने भारतलाई 'पुग्छ'... अनि नाकावन्दी खुल्छ, तराई मधेस शान्त हुन्छ भनेर ढुक्क छन्। त्यो ढुक्क बेकार होलाजस्तो छ।
अरु त अरु स्वयं प्रचण्डले गत शनिवार जुन दिन यो पहिलो संशोधन पारित गरियो, त्यसैदिनदेखि 'नाकावन्दी' खुल्छ भनेर ठोकुवाकासाथ बताइसकेका थिए। मतलव भारतलाई 'चाहिनेजति' संशोधन भए पछि नाकावन्दी खुल्छ भन्ने अनुमान हो प्रमुख दलहरुको। तर जस्तो कि माथि नै उल्लेख गरियो, मधेसी मोर्चालाई यतिले अझै पुगेन, पुगेको छैन। उक्त मोर्चाले आफ्नो जारी आन्दोलन 'जारी' नै रहने बताइसक्यो। संविधान जारी भएको एकसय पच्चिसौं दिनमा संशोधन गरिएको धाराहरुमा धारा ४२ (१), धारा ८४ (१) र धारा २८६ (५) रहेका छन्। तर...यति गर्दा पनि मधेसी मोर्चालाई पुगेको छैन। जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनपर्ने माँग राख्दै आइरहेको मोर्चा अव आन्दोलनलाई अझ सशक्त बनाउन जुटेको छ।
प्रमुख दल सम्बद्ध नेताहरु चैं भारत 'सन्तुष्ट' भएपछि, यी मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई जबरजस्ती पेलेरै 'सन्तुष्ट' बनाउन सकिन्छ भन्ने विश्वासमा रहेका देखिन्छन्। शक्तिको भक्ति देखिएको बेला अव पूर्वराजाको  'सरल सन्देश'हरुले  'काम' गर्दैन, त्यो पक्का छ। कोरामिनले काम गर्ने समय घर्किसक्यो भन्ने बुझेहुन्छ। त्यस्तै गरेर राजावादी संघसंस्थाहरुको 'सामान्य जुलुस, धर्ना आन्दोलन' ले पनि केही गर्दैन, त्यो झन पक्का छ। देखिएको, बुझिएको सत्य के हो भने 'मसल' देखाउन सक्नुपर्ने रहेछ। जति धेरै देखायो उति चाँडो परिणाम देखिने संस्कार बसिसकेछ। तोडफोड, आगजनी, राजमार्ग बन्द, हत्या हिंसालाई मात्र बुझ्नेहरुले सत्ता र विपक्षमा रहेका बेला शान्त र सरल आन्दोलन भनेको अर्थ न बर्थ गोविन्द गाई हो। यसो भनेर यहाँ हत्याहिंसा, लुटपाट नै गर्नुपर्छ भन्न खोजिएको होइन। कमसेकम 'त्यति त गर्नुपर्छ, जसले गर्दा यिनीहरुलाई दबाब अनुभव होस्।' केही मानिसहरुलाई भेला गरेर ब्यानर सहित शान्तपूर्वक जुलुस निकालेर पत्रपत्रिका र अनलाइन मिडियाहरुमा फोटो टाँस्दैमा राजतन्त्र र हिन्दूराष्ट्रको लक्ष्यमा पुग्न सकिन्छ भन्ने लागेको होला। त्यो मिथ्या हो, सपना हो। सपना सार्थक पार्न बिपनामा मेहनत गर्नुपर्छ, वैचारिक र सामुहिक एकताका साथ गोलबद्ध हुनुपर्छ। त्यस्तो अभेद्य किल्ला निर्माण नगरी अव खोलो फर्कदैन। यसका लागि तितरबितर रुपमा छरिएका मन, विचार र अपेक्षालाई एकीकृत गरेर भीम शक्तिका रुपमा अगाडि बढाउन सक्ने कुशल नेतृत्व लिनसक्ने अगाडि सर्नैपर्छ। यति नभए केही हुन्न। कोठे जुर्मुराहटले परिवर्तन हुन्छ भन्ठान्नेहरुको भीडले काम गर्दैन। अपरेशन गर्नुपर्ने विमारीलाई मलम दलेर निको हुन्न। यथार्थ यही हो, यो यथार्थलाई व्यवहारमा उतार्ने कसले?
यहाँ कडा आन्दोलन गरेपछि देश बिखण्डन गर्नेहरुलाई अदालतले समेत देखेन। सिके राउत पछिल्ला उदाहरण हुन्। जसले अदालतबाट सफाई पाए। उनी आजकल भूमिगत सशस्त्र गिरोहसँग मिलेर र मधेसमा फौजी दस्ता निर्माण गरेर तालिम दिइरहेका समाचार सार्वजनिक भइसकेका छन्। त्यस्ता विखण्डन, बिभाजनकारीका माग त पूरा हुन्छन्, देश बचाउनेहरुको एकतावद्ध आन्दोलन भयो भने झटारो साबित हुनेछ,े सफल हुन्छ, हुनैपर्छ। त्यो पक्का छ। मात्र खाँचो छ, प्रतिवद्धहरुको एकताको। र, कुशल नेतृत्वकर्ताको। एकपटक स्वाधीनता, धार्मिक एकता, राष्ट्रियता र राजावादीहरु जुर्मुराउन सके भने परिवर्तन सम्भव छ। प्रश्न छ, जुर्मुराउने साइत कहिले?