Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नेपालमा बिकसित हुँदै गरेको नवनाजी पथ

११ सोमबार , माघ २०७२१० बर्ष अगाडि

स्वयम्भुनाथ कार्की :
जर्मनमा हिटलरले स्थापना गरेको नाजी पार्टी राष्ट्रवादको नाममा नै थियो। तर त्यसमा राष्ट्रवादमा हुने माधुर्यता थिएन, राष्ट्रको हिस्सा भएका सबै नागरिकप्रति हुनुपर्ने प्रेम थिएन। किनभने हिटलरले राष्ट्रको अलग परिभाषा गरेका थिए। जातीय समुदायलाई राष्ट्र भन्ने यो परिभाषाले राष्ट्रवादलाई संकुचित पार्नु स्वभाविक नै थियो। त्यसमाथि 'यहुदी' हरुलाई जर्मन मान्न अस्विकार गर्दा नाजीवाद वर्तमानमा गाली गर्ने शव्द हुन पुगेको छ। सबैले नाजीसँग नै सहमति र सहकार्यको गर्नै पर्ने वाध्यकारी अवस्थामा त्योसँग असहमति राख्न पाउने त के असहमति प्रकट गर्दा पनि ज्यान जाने डर व्याप्त भएकाले हिटलरलाई तानाशाह हुन सहयोग पुग्यो।
नाजी पार्टीका सिद्धान्तमा जुनजुन खरावीले र कार्यले यसलाई यत्तिको बदनाम गरायो, असंख्य ज्यान जाने कारण बन्यो त्यही कुराहरु नेपालमा विस्तारै टाउको उठाउन लागेको देखिदैछ। आधुनिक नेपालको निर्माणदेखि नै पानीमा चिनी जस्तो एकाकार भएर रहेको भौगोलिक अनि भावनात्मक एकता  भएको नेपाललाई नयाँ नेपालले तोड्दैछ। आज नेपालमा नेपाली धेरै कम रहेका छन। खस छन, बाहुन, नेवाः, मधेशी, आदिवासी, मुस्लिम, इसाई छन्। यस्ता धेरै जातीय समुदाय छन् जो आफुलाई नेपालीभन्दा जातीय परिचयले चिनाउन गौरव मान्छन्। हिटलरको जातीय भनेको नै राष्ट्रियता हो भन्ने रट लगाउँदैछन्। यो जातीय राष्ट्रियतामा समग्र नेपालीत्व निसासिदै छ।
यहुदी र जर्मनआर्य विचको जस्तो वैमनश्यताको विउ रोपिई सकेको छ। धोती, टोपी, दोक्चा आदिमा राष्ट्रियता खोजिदैछ। यसलाई नयाँ नेपालको संविधानले संरक्षण गरेको छ। सबै नेपाली भन्दा पुग्ने स्थानमा जाति समुदायको लामो सूचीको साथै दलित, महिला आदिका सूची पनि राखिएको छ। कथंकदाचित त्यो सम्वोधनले नपुग्ने कुनै समुह पर्‍यो भने संविधान संशोधन गर्नु नै पर्ने हुन्छ। वैचारिक प्रतिस्पर्धा सहमति र सहकार्यको नाममा निषेध सरह छ। संविधानमा राख्ने हिम्मत पनि नगरेको उच्चस्तरीय राजनैतिक समितिलाई नियन्त्रक र निर्देशकको भूमिका दिएर राख्नाले नाजीको झझल्को देखिदैछ। यही झझल्कोलाई 'नवनाजी पथ' भनिएको हो।
राष्ट्रमा एकै राष्ट्रको नागरिकको निमित्त भरसक प्रयोग गर्न नै नहुने गरेर आपत्तिजनक मानिनु पर्ने शव्दहरु जस्तै विहारी शरणार्थी,  भोटे शरणार्थी, शरणार्थी बाहुन, क्षेत्री जस्ता शव्दका  प्रयोगहरु राष्ट्रप्रेम देखाउने माध्यम ठानिएका छन्। जारी गर्ने वित्तिकै संशोधनको प्रस्ताव गरिएको संविधानलाई उत्कृष्ट संविधान भनेर कसैले भनेन भने बाहुवलले त्यसलाई त्यो भन्न लगाइनुलाई जागरण अभियान नाम दिइन्छ। कुनै समुदाय विशेषलाई गाली गरेर हिटलरले जस्तो 'यहुदीकरण' गरिनुलाई ठिक मान्ने प्रचारतन्त्र बलियो बनाइदैछ। यस्तै कामहरु जर्मनमा नाजीको उदयताका भएको कुरो इतिहासमा उल्लेख छन।  
मुलुकमा कोही केही कुराले असन्तुष्ट पनि हुनसक्छ। यो असन्तुष्टीको सम्वोधन गर्ने जिम्मा सत्ताधारीको हो, सत्ताधारी दलका हरेक कार्यकर्ताको हो। असन्तुष्ट त असन्तुष्ट नै भैगयो, उसले त कुतर्क पनि गर्न सक्ला, कुकाम पनि गर्न सक्ला तर त्यसको वदलामा त्यसै गरेर असन्तुष्टहरुलाई सिध्याउन खोज्नु नवनाजी पथ नै हो। हालै भएको रंगेलीको घटना पछि जब सत्ताको नेतृत्व गरेको दलको युवा मोर्चाका नेता सार्वजनिक रुपमा 'रंगेलीमा चटनी बनाई दिन सक्थ्यौ तर धैर्य गर्‍यौ' भनेर भन्छन् भने हाम्रो कुरा नमान्नेलाई 'ग्याँस चेम्वर' पठाई दे भन्ने हिटलर भन्दा कुन कुरामा कम भयो र?
यहाँ तर्क आएको छ, कुनै भूभागमा हामीले कार्यक्रम नै गर्न नपाउने र? यही तर्कलाई मात्र सुनेर फैसला गर्नेहरुको चर्का कुराहरु पनि सामाजिक सञ्जाल र पत्रपत्रिका भरि आएका छन्। तराई भूभाग धेरै समयदेखि अशान्त बनेको छ, यो कुरा सबैलाई थाहा छ। कतिपय स्थानहरु त रणभूमि सरह भएको पनि थाहा छ। ती स्थानहरुमा जिम्मेवारहरुले कस्तो कार्यक्रम केका निमित्त चलाउनु पर्ने भन्ने सामान्य विवेक पनि नभएका हैनन्। नवनाजी पथ लागु गर्न खोजिएको हैन भने प्रष्ट भन्नु पर्‍यो सदभाव बढाउने कार्यक्रम के के थियो? यो कार्यक्रम पछि त्यहाँको सदभाव वढ्यो कि घट्यो? कि त्यो स्थानलाई पराई भूमि मानेर गरिएको युद्धघोष हो?
साठी प्रतिशतसम्म मुख्यबाली धानको उत्पादन घटेको त्यो क्षेत्रमा रवीवाली गहुँको सिचाईको मौसम हो यो। सिचाईको निमित्त डिजेल नपाएर किसान प्याकप्याक परेको बेलामा जनताको , किसानको सुविधाका कार्यक्रम लिएर गएको भए पनि त सरकार प्रति सद्भाव बढने थियो। सरकार हाम्रै रहेछ, हाम्रो दुःखमा थोरै भए पनि साथ दिन आयो भन्ने भावना पैदा हुने थियो। यो कार्यक्रमपछि त सिंचाइ गर्नसक्ने संभावना झन टाढा भएको छ। रवी बालीको पनि उत्पादन घटेको अवस्थामा मुलुकमा भोकमरीको अवस्था आउन सक्छ। के यो कार्यक्रमले मुलुकको हित गर्‍यो त?  
आफ्नो कुरा जसरी पनि लागु गर्ने, आफ्नै भूभागलाई पराया व्यवहार गर्ने, आफ्नै नागरिकलाई गैरनागरिकको व्यवहार गर्ने प्रवृत्तिलाई मन नलागे पनि नवनाजी पथको संज्ञा दिनुको विकल्प छैन। कसैको रंग र समुदाय हेरेर उसको मुलुकप्रतिको आस्था अड्कल गर्नु ठिक हैन। मुलुकको उच्चतहमा रहने तर अमेरिका आदि विकसित मुलुकको ग्रिनकार्ड बोक्नेहरु जुनसुकै समुदायका पनि पाईन्छन्। मुलुकको उत्पादनलाई हानी पुर्‍याएर विदेशीको सामुन्ने भिख माग्नु पर्ने अवस्थामा लैजाने पनि छन्। के तिनीहरुको मुलुकप्रतिको आस्थामा शंका गरिनु पर्दैन?  
    यो नवनाजी पथको यात्रामा नेपालीले पूर्णविराम लगाउनै पर्दछ। नेपाली सबै समुदायका छन्, सबै भूगोलका छन्। यो मुलुकलाई धोका दिने पनि सबै जातिका हुन सक्छन्, सबै समुदायका हुन सक्छन्। त्यसैले अवको संघर्ष भनेको नेपाली र ती नेपालीको भेषमा रहेका गैरनेपालीको बीचको हो। जनताको आदेश शिरोधार्य गर्ने र जनतालाई जवरजस्ती आफ्नो कुरा मान्न बाध्य बनाउने नवनाजी बीचको हो। यसलाई रंगले, समुदायले, जातजातिले छुट्याउन सकिन्न। त्यसको काम र त्यो कामको परिणामले छुट्टिन्छ। आजको आवश्यकता हो नेपालमा विकसित हुँदै गरेको नवनाजी पथको उन्मूलन।