Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

उता युवाको गोल, यता ओलीको होल

११ सोमबार , माघ २०७२१० बर्ष अगाडि

रोशन कार्की :
यसरी प्रधानमन्त्रीको ४० सदस्यीय जम्बो टोलीको स्वागत गर्न पाएको भए, कस्तो हुन्थ्यो? आखिर रोगी प्रधानमन्त्रीले देशलाई रोग दिए। देश रोगी भयो। युवा परिवर्तनका बाहक हुन्, सत्य यही रहेछ। युवा सर्जक हुन्, सिर्जना हुन्, युवाले गर्ने हो युग परिवर्तन। यथार्थ यही रहेछ। १९९३ मा साफ च्याम्पियन बनेको नेपालको युवा टिमले बंगबन्धु गोल्डकप जित्यो। इतिहास रचे यी युवाहरुले। बंगलादेशमा गोल भयो, सिंगो नेपालले गोल गोल भनेर खुशीले चिच्याए। यो टोली नेपाल फर्कदा माघ ९ गते जनस्तरबाटै यी युवाहरुको भव्य स्वागत भयो।
देशमा द्रुतगतिमा संविधान घोषणा भयो। केपी ओली हल्लाखल्ला गर्दै प्रधानमन्त्री बने। अव जनताले राहत पाउँछन्, भूकम्पको पीडा भुल्छन्, नयाँ नेपालको निर्माण सुरु हुन्छ, पुननिर्माण प्राधिकरणले युद्धस्तरमा काम थाल्छ। लथालिङ्ग बनेको जनजीवन र जनजीविका सामान्य स्थितिमा फर्कन्छ भन्ने आशा जागेको थियो। तर भयो उल्टो। ओली प्रधानमन्त्री बने उनका वरिपरिका मान्छेका लागि। देशका लागि प्रधानमन्त्री बनेका हुन् भन्ने उनले अनुभूति फैलाउनै सकेनन्। अहिले पनि सिंहदरवार र बालुवाटार नापेर उखानटुक्का हालिरहेका छन्। आमनागरिक जो पीडा सहिरहेका छन्, तिनको घाउमा नुनचुक छर्नेजस्तो चुल्होमै ग्यासको पाइप जोडिदिने, हावाबाट, तातोपानीबाट विजुली निकालिदिने, एकवर्षमै लोडसेडिङ हटाइदिनेजस्ता हावादारी भाषण गरिरहेका छन्। ओलीका भाषणलाई ओलीकै पार्टीका शीर्ष नेताद्वय झलनाथ खनाल र माधव नेपालले समेत पत्याएनन्। उनकै पार्टीपंक्तिले हाहा...हाहा... गरेर उडाइदिए। यस्ता प्रधानमन्त्रीले देशको शासन, प्रशासन, स्थिरता, सहमति र संविधानको कार्यान्वयनमासमेत होल (प्वाल) पारिदिएका छन्।
ओली सिंगमाङ हुन् कि पुङमाङ् भनेर जनस्तरमै प्रश्न उठिसक्यो।
यसकारण अव राजनीतिमा बुढोपुस्ताको काम छैन। युवा पुस्ता अघि सर्नैपर्छ। बुढोपुस्तालाई सम्मान दिने हो, सल्लाहकारमा राख्ने हो, निर्माण त युवाले नै गर्नुपर्छ। संविधानको कार्यान्वयन होस् अथवा पुननिर्माण र बिधिको शासनको स्थापना,योग्यताको कदर होस् अथवा अयोग्यहरुको बिस्थापन, जताततै युवा नै चाहिन्छ। सिंगापुरका लि क्वान युले युवाहरुलाई साथ लिएर वर्तमान सिंगापुर बनाइदिए। उनी मर्दा विश्वले समवेदना प्रकट गर्‍यो। त्यो गौरव हुनुपर्छ नेतृत्वमा। नेपालका सन्दर्भमा नेतृत्व जन्मेकै रहेनछ। केपी ओलीबाट निकै आशा गरिएको थियो। भन्नलाई ओलीले मेरो बाँकी जीवन देश र जनताका लागि भनेका पनि हुन्। तर उनले त्यो वचनवद्धता पूरा गर्न सकेनन्। आफ्नै वचनविरुद्ध, आफ्नै मान्यता मिचेर उनले मन्त्रिमण्डल गठन गरे, सल्लाहकारको भीड लगाए र हावादारी गफ चुटेर जनताको आँखामा भ्रम छरिरहेका छन्। भ्रमित छैनन् आजका जनता। सहनशील छन्, तर राजनीतिक अनैतिकता र भ्रष्टाचार बुझेका छन्। ओलीले देशलाई कालोबजार बनाएर कंगाल बनाइदिएका छन्। कंगाल सोचले निर्माण गर्न सक्ने थिएन, गरेन।
अव फुटबलमा युवाले जुन तरिकाले चमत्कारिक गोल गरे, आफ्नो रगत, पसिना र क्षमताले गोल गरेर गोल्डकप लिएर आए। उर्जावान युवाहरुको कमी छैन राजनीतिमा। ती युवाहरुले मौका पाउनुपर्छ, देशको दुःख हर्ने जिम्मेवारी युवाहरुलाई दिनुपर्छ। युवाहरुमा छ संवेदना र केही गर्न बेग हान्ने क्षमता। युवाहरु उठ।