Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

राष्ट्र बैंकलाई कांग्रेस बनाउने?

१८ सोमबार , माघ २०७२१० बर्ष अगाडि

सहदेव सिग्देल
गभर्नर चिरञ्जीवी नेपालले डेपुटी गभर्नर आफुले भनेकै व्यक्ति नियुक्त हुनुपर्छ भनेर जिरह गर्दा सरकार अप्ठेरोमा पर्‍यो। गभर्नर फेर्न नसकिने, डेपुटी गभर्नरमा एमाओवादी र  एमालेले आफ्नो सिफारिसमा नियुक्त गर्न खोज्दा गभर्नरले अड्को थाप्ने? राष्ट्रबैंक असरल्ल हुँदै गएको छ। यसैवीच चिन्तामणि शिवाकोटी, नारायण पौडेल, त्रिलोचन पंगेनी र शिवनाथ पाण्डेलाई सिफारिस गरिएको छ।
सुशील कोइरालाका नातेदार हुन् चिरञ्जीवी नेपाल। प्रधानमन्त्रीको शक्ति लगाएर सुशीलले यिनलाई गभर्नरमा नियुक्त गरेका हुन्। यिनी गभर्नर भएको ३ सय दिन भयो। सय दिन विदेश र स्वदेशको भ्रमणमा बिताए, सय दिन बिदा नै भयो र सय दिन पनि यिनले कार्यालयमा बसेर काम गरेका छैनन्। तैपनि चिरञ्जीवी नेपाल भन्छन्– मैले राम्रो काम गरेको छु। हो, उनले भ्रमणका नाममा १३ लाख सिध्याए।
मह काट्नेले हात चाट्छ भनेको यही हो। नेपाल राष्ट्र बैंकभित्र एकातिर ठूला दलका कर्मचारी संगठनहरु बढीभन्दा बढी लाभ लिइरहेका छन् र समानान्तर पार्टीको भातृसंगठन चलाइरहेका छन्। अर्कोतिर गभर्नर म कांग्रेस भएकाले डेपुटी गभर्नर पनि कांग्रेस नै हुनुपर्छ भन्ने अडानमा छन्। एमालेका कर्मचारीहरुले ६ हप्ता आन्दोलन गरेर यिनलाई हटाउन खोजेका थिए, सकेनन्। नसकेपछि प्रधानमन्त्रीले हस्तक्षेप नै गर्नुपरेको थियो। केन्द्रीय बैंकमा  यतिबिघ्न राजनीतिकरण?
केन्द्रीय वैंकमा राजनीतिकरण भएपछि यसको दुस्प्रभाव अन्य निजीक्षेत्रका बैंकमा पर्नु स्वभाविक हो। हुने नहुने, गर्ने नगर्ने काम गरेर रिपोर्ट दिने र केही दिएपछि राष्ट्रबैंक बैंकिङ् अराजकता बढाउँदै गएको छ। यसको संकेत भनेको अख्तियारले ४ जना कार्यकारी निर्देशकहरुलाई लिएको बयान र तिनीहरुसँग देखिएको अकुत सम्पत्ति हो। जागीर खाने अनि भ्रष्टाचार गरेर अर्थतन्त्रमाथि खेलबाड गर्ने। सामान्य जनताको अहित र निजीक्षेत्रको बैंकको हितमा काम गर्नेहरु अपराधी हुन्। अपराध भइरहेको छ, अपराध बढेको छ, गभर्नरको पकड राष्ट्रबैंकभित्र छ कि छैन, यो विषय पनि छलफलको विषय बनिसकेको छ। प्रश्न गम्भीर छ?