स्वयम्भुनाथ कार्की :
करिव दश बर्षदेखि नेपालमा अनेकौं किसिमका प्रयोगहरु भए। हुनत प्रजातन्त्रको अभ्यासका नाममा यस्ता प्रयोगहरु पञ्चायतको लगत्तै पछिदेखि शुरु भएको थियो। त्यो कालखण्डमा राजनीतिको नाममा जनताको अधिकार दलको नाममा नेताहरुले अपहरण गर्ने हरेक माध्यम अपनाईयो। कानूनी बाटोबाट निर्वाचनको मध्यमबाट आएकाहरु महशुल, कर आदिमा वृद्धि गरेर जनताको शोषण गर्दै थिए। विद्रोहको बाटोवाट लिएकाहरु पनि जनताको आर्थिक भौतिक शोषणमा कसैभन्दा कम थिएनन्। राजसंस्थाले आफ्नो पारंपारिक दायित्व पुर्नपरिभाषित गरेको थियो। जनतासंगको प्रत्यक्ष सम्वन्ध भन्दा बेलाईतको जस्तो केवल प्रतिक मात्र भएर लालमोहर लगाउने मात्र काम आफ्नो हो भन्ने सोचमा थियो।
दरवारमा घटेको त्रासदीपूर्ण घटना वर्तमानमा पनि कसैकसैले आफ्नो राजनैतिक स्वाथर््ाको निमित्त उठाउने गरिएको पाईन्छ। यो घटनाको आरोप सबैले आआफ्नो सहुलियत अनुसार लगाईने गरेको छ। गरेको जसले होस, कारण जेसुकै होस्। तर कसैले अस्विकार गर्न नसक्ने तथ्य के हो भने यत्रो षड्यन्त्रको समेत गन्ध नपाउने गरेर कर्तव्यच्यूत भईसकेको रहेछ। राजसंस्थाको पारंपारिक मान्यता र अवधारण आफ्नो राज्यमा हुनसक्ने सानोभन्दा सानो प्रतिकूल घटना रोकेर जनतालाई सुरक्षित राख्ने पनि हो। त्यही राजसंस्थाका प्रमुख सपरिवार समाप्त पार्ने षड्यन्त्र समेत सुघ्न नसक्ने नेपालको राज्य व्यवस्था कति अयोग्य रहेछ भन्ने कुरा यसैबाट प्रमाणित हुन्छ।
दाजुको स्थानमा शाहवंशीय परंपरा धान्न आएका राजा ज्ञानेन्द्रमा राजकाज सम्वन्धी ज्ञान शून्य हुनु उनको योग्यता भित्र पर्ने कुरा थियो। राजपरंपरामा स्वभाविक उत्तराधिकारी बाहेकका अन्य सदस्यले राजकाजमा चासो देखाउनु विद्रोहको लक्षण हुन्छ। त्यसमाथि पनि एक पटक शिशु मै गद्दिमा राखिईसकेका उनले राजकाजको सामने भन्दा सानो कुरामा पनि चासो दिन हुँदैन थियो। परिवारिक वज्रपात, मुलुकको कठिन अवस्था अनि जनताले पाएको हैरानी एकाएक भोग्न परेको वेलामा राजकाज सिक्ने उनीसंग समय पनि थिएन। यस्तो अवस्थामा उनले गरेका कतिपय कामहरुमा त्यो कमजोरीको छायाँ पर्नु स्वभाविक नै थियो। जनताको र मुलुकको भलोको आफ्नो सोचको मूल्यांकन हुनेछ भन्ने आशा उनमा भएको भए त्यो बेठिक थिएन।
उनको कार्यकाल भरी र उनलाई पाखा लगाईएपछि पनि उनलाई हमेशा कठघरामा खडा गरिएको छ। गणतन्त्रसंग असन्तुष्टहरु उनीलाई आशाको नजरले हेर्छन् भने गणतन्त्रका पक्षधरहरु डरको। निर्मल निवास र त्यससंग सम्वन्धितहरुको हरेक कुराको कथा वर्तमानको सबैभन्दा ठूलो रोमाञ्चको विषय हुने गरेको छ। गोप्य कुरा भनेर सार्वजनिक हुने कुरा कति गोप्य हुन् भन्ने छुट्याउन कुनै आईतवार कुर्नु पर्दैन। यी सबै आशा र डरको पछाडी केवल एक एक अनुमानको मात्र भूमिका छ– त्यो हो उनमा पक्का गद्दिको मोह होला नै। यही कुराको आधारमा गीरिजाप्रसादले प्रस्तावित गरेको आलंकारीक वा शिशु राजा र कमल थापाले तोकेको संसदले नियुक्त गर्ने र बर्खास्त गर्ने राजसंस्था हुन्।
राम्रो गर्ने प्रयत्नमा भएका मानवीय कमजोरीलाई आधार मानेर राजा ज्ञानेन्द्रले जेजस्तो ताडना भोग्नु पर्यो उनी गद्दिको लालसामा होलान् भन्ने कुरा सहज पच्दैन। हुन त राजनीति पेशा भएकाहरु सत्ताको निमित्त जे जसो पनि गर्न तैयार हुने गर्दछन् र गर्छन् पनि तर राजा र नेतामा हुने फरक नै यही हो। तैपनि उनले जनताको आशाको त्यान्द्रो भने कायम नै राखेका छन् 'जनताको इच्छा बमोजिम' भनेर। राजा पाखा लगाईएको अहिलेसम्मको अवस्था हेर्दा यदि आशाको त्यो त्यान्द्रो पनि नभएको भए नेपालको अवस्था अफगानिस्थान लगायतका मुलुकको भन्दा भयावह हुने थियो। उनले देखाएको यही आशाको त्यान्द्रोले गणतन्त्र र गणतन्त्रका जन्मदाताहरु सास फेर्दैछन्।
राष्ट्रिय एकता दिवसको अवसरमा दिएको सन्देशमा उनी अव यो आशाको त्यान्द्रो कायम राख्ने पक्षमा छैनन् भन्ने लाग्छ। विगतका बर्षहरुमा नेपाल निर्माताको वंशानुगुण बोकेको हैसयतमा आफ्नो दायरा र क्षमतामा भएको काम गरेर नेपाललाई ठूलो विग्रहबाट बचाएको कुरा वर्तमानले अस्वीकार गरे पनि भविष्यले मूल्यांकन गर्ने नै छ। आफुलाई जनताको निर्णयमा छोडिसकेपछि पनि कोही अझै 'राजा आउ, देश बचाउ' र कोही 'धमिलो पानीमा माछा मार्न खोजेको ' भन्छ भने त्यो अवस्था उनलाई मञ्जुर छैन। त्यसैले आव्हान गरेका छन् जनताले कसबाट कस्तो भूमिका खोजेका हुन प्रष्ट भन्नु पर्यो। यो प्रष्ट जनताले सडकबाट नै भन्नु पर्दछ।
उनको यो सन्देशले स्पष्ट भनेको छ, आवश्यकता भए सडकबाट बोलाउ। राजगद्दिका उनी स्वभाविक उत्तराधिकारी पनि हैनन्, न उनले नेपालको राजा हुने सपना नै पालेका थिए। त्यसैले गद्दि पुन प्राप्त गर्न उनले कुनै प्रयत्न गर्नेछन् भन्ने कुरा मान्न सकिन्न। आफ्नो मनलाई साछी राखेर भन्ने हो भने नेपालको राजगद्दिले उनलाई पिडा बाहेक अरु केही दिएको पनि छैन। शाहवंशको परंपरा अनुसार आफुलाई कुनै जिम्मेवारी जनताले दिन्छ भने त्यो पूरा गर्छु भनेर भन्नु नै पनि ठूलो कुरा हो। जनताको आशा अनुसारको काम गर्न न गिरिजाप्रसादको आलंकारिक राजाको दायराले दिन्छ, न कमल थापाको संसदले नियुक्त र बर्खास्त गर्ने राजाको दायराले। त्यसैले राजसंस्थाप्रति आशा वा डर मान्नुपर्ने कारण छैन। जनताको इच्छा बाहेकको बाटो उनलाई स्विकार नभएको कुरा त्यो सन्देशले प्रष्ट गरेको छ।