Advertisement Banner
Advertisement Banner

०९ शनिबार, असार २०८१17th April 2024, 11:33:48 am

Image

कहाँ आयो, कसलाई आयो गणतन्त्र ?

बैकुण्ठ भण्डारी

२३ बुधबार , जेठ २०८११८ दिन अगाडि

कहाँ आयो, कसलाई आयो गणतन्त्र ?

गणतन्त्र आयो, कहाँ आयो ? कस कसलाई आयो गणतन्त्र ? गणलाई आयो कि आएन, गणका लागि छैन गणतन्त्र ? गणतन्त्र हो कि गलगाणतन्त्र हो ? 
दाहिने देब्रे दुबै घुँडामा फाटेको अलि पुरानो पाईन्ट, अनि देव्रे काँखीले बैशाखी च्यापेर संस्कृत छात्राबास छिर्ने फलामको गेटको भित्तामा अडेस लगाउँदै जेठको धुपमा कन्चटबाट निस्किएको पसिना शिरमा लगाएको ढाकाको टोपी फुकालेर पुछ्दै, एकोहोरो उत्तर फर्किएर टोलाएका छन् अर्जुन काका । 
मानिसहरू रङ्गीचङ्गी व्लक विछ्याएको पेटीबाट ओहोरदोहोर गरिरहेको छन् । सडक पेटीमा विछ्याएको रङ्गिन व्लकले शहरलाई साँच्चै नै रङ्गिन बनाएको छ । एक जोडी युवायुवती महेन्द्र सालिकको आईल्याण्डमा मुस्कुराउँदै नारायणहिटीलाई आफ्नो पछाडि पारेर तस्वीर खिच्दैछन् । अर्जुन काका एकटकले हेरिररहेका छन् ।
सडक भुईमा रङ्गिन व्लक, पेटीमा हरियाली सहितको ज्याकाराण्डा फूलै फूलले निकै आकर्षण देखिने सो क्षेत्रमा घण्टाघरदेखिने गरी फोटो खिचाउने पनि कम भने छैनन । त्यही फोटो खिचेर रमाउँदै नारायणहिटीमा छिर्न टिकट काट्न हतारमा थिए त्रिशुले भाई । छात्राबासको भित्तामा टोलाएर अडेस लागेका अर्जुन काकालाई देखेर त्रिशुले भाई झस्कन्छ । सोच्दै काका भएको ठाउँमा पुग्छ ? 
उसले बोलायो–‘काका’ ।
काका झस्किन्छन् ! हँ ! को ? 
ए काका चिन्नु भएन ? म के हरिकृष्णको छोरा त्रिशुले माइलो । 
कुन हरिकृष्ण ? को हरिकृष्ण ? बुढा काकाले पनि विर्सनु भो ? धेरै वर्ष भो त्यही भएर होला । बा, शहिद हुँदा म सानै थिएँ । काकाले नै शहरमा ल्याएर राख्नु भएको हैन । तपाईको विरानो शहराँ बस्दिन भनेर फर्कनु भो त ? 
हो, ए ऽ ए बल्ल याद गरेर हरिकृष्णको छोरा  । हो त मैले नै राखिदिएको हो नि तिम्रो नाम त्रिशुल भनेर । कस्तो विर्सेछु । हेर न दुई वर्ष भो विर्षने रोगले च्याप्यो के बाबु । के भन्नु । उ बेला दुईचार पुलिससँग भिडियो । अहिले बैशाखी देखाउँदै यो नभै चल्नै सकिन्न । 
उमेर पनि त भयो नि काका । साँच्ची काका तपाईको त्यो गोली निकालेका घाउँ ठिक भयो नि ? त्रिशुलेले सोध्यो ।
यस्तै हो बाबु, एकैचोटी खरानी हुने बेलामा निको होला जस्तो छ ? 
अचम्म पर्दै त्रिशुलले भन्यो– युद्धका घाईतेको उपचार गर्दिने कुरा थियो त ? 
खिस्स हाँस्दै अर्जुन काका भन्छन, कुरा भएका हो नि बाबु काम पो नभएको त । अव हामी जस्ता मान्छेको के काम र ? पाखुरीमा बल हुञ्जेल प्रयोग गरिहाले । महेन्द्र सालिकलाई देखाउँदै, यी यो विचरो ढुङ्गाको सालिक फोर्न हिडियो । के के होला । साँच्चै नै हामी जस्ता गरिवको भाग्यको रेखा कोरिएला भन्ने सोचियो । एउटा राजा र त्यसले चलाएको राजतन्त्र फाल्न पाएँ जनता सुखी हुन्छन् । सामन्तवाद अन्त्य हुन्छ र समाजवाद आउँछ भन्ने रटान गरियो । 
हो, ठिकै हो काका । हाम्रा बाले पनि ज्यान गुमाउनु भो परिवर्तन हुन्छ भनेर तर अहिले मुलुक चलाउनेहरू नै परिवर्तन भईदिए । एउटा राजा त काकाहरूले फाल्न सफल हुनु भो । त्यसको सट्टा सयौं राजा जन्मिए । देश खोक्रो पारे ! हो बाबु । गाउँमा बस्ने कोही छैन । गाउँ रित्तो छ । भएको खेतबारी पनि बाँझै छ गर्न सकिएन । अलिकति उपचार गर्न भने वीर अस्पताल आको । पहिले जस्तो सजिलो रैनछ । गणतन्त्रले राम्रै परिवर्तन गरिदिएछ ! मेरो पालो दुई महिना पछि अरे ! त्यही भएर यसो यहाँ आएर आफूलाई धिक्कार्दै छु ।  के सोचे मैले, के भयो अहिले भनेर ! 
त्रिशुले भन्छ, अव के धिक्कार्नु हुन्छ । अव धिक्कारेर पनि के फाइदा । तपाईहरू लड्नु भो अरूले लडाए । गरिवको बोलिदिने न ३६ सालमा गाउनेहरूले देखे न ६३ मा गाउनेले महसुस गरे । गणतन्त्र त केवल गण वोकेर हिड्नेहरूका लागि मात्र महत्वपूर्ण भन्त्र बन्यो । चोरलाई साँचो दिए चोरी हुनबाट बच्थ्यो कि भन्ने पुरानो सोच गयो । चोरले नै सवै चलायो । राष्ट्रभक्ति नै जलायो । जल, जमीन सवै बेच्यो ! हुँदा हुँदा लक्का जवानहरूलाई पनि कसैले ‘म्यानपावर’का नाममा, कसैले ‘कन्सल्टेन्सी’ का नाममा बेचिनै रहे । यो भन्दा राम्रो गलगणतन्त्र कहाँ आउला र काका ? 
हो बाबु, गणऽतन्त्र जनताका लागि कहाँ आयो र ? खै कसका लागि मात्र पो आयो ? सत्तामा गएपछि लिसो टाँसिए जस्तै टाँसिनेहरूका लागि मात्र आयो ! तर गण ऽ तन्त्र कहाँ आयो कहाँ आयो ? 
उसले काकालाई सम्झाउँदै भन्छ, ल काका पनि तपाईसँग संघर्ष गर्नेहरूका लागि कहाँ आएको हो त यो गणऽतन्त्र । यो त फटाहा, जाली, भ्रष्ट तस्कर, तरबारदेखि दरबार बेच्नेलाई आको हो !
कठै मेरो देश ! म जस्ता जनताका लागि लड्नेहरू सालिक हुनुपर्ने, सोझासिधा जनताका नाममा लुटेर खानेहरू मालिक बन्नुपर्ने कस्तो गणऽतन्त्र ल्याएछौं । हामीलाई धिक्कार छ । म जस्ता मूर्खहरूलाई पनि धिक्कार छ । हामी सरापमा परेछौं, सराप भोग्दैछौं । बुढाले भने– हेर बाबु त्रिशुल जसले जे सुके भनोस् । हिजो के थियो बुझिएन बुझाएनन् । देशलाई साँच्चै नै बनाउनु पर्छ भन्ने त यिनै एउटा महेन्द्रमात्र देखिए । गणऽतन्त्र भातमाराहरूले त देश मात्र लुटे । कहिले अदालतको हवाला दिएर लुटे, कहिले ऐन कानूनको नाममा लुटे । अहिले संघीयताका नामको सेता हात्ती पालेर लुटिरहेका छन् । 
त्रिशुल आक्रोसित भयो– त्यत्तिमात्र कहाँ हो र काका ऊ त्यो नारायणहिटी दरबार पनि चारैतिरबाट बाँडफाँड गरेर लुटिरहेका छन् । ठेक्कामा लगाएर खाईरहेका छ । भैगो छाडिदिनुस् । म उता गणऽतन्त्रको विदालाई सदुपयोग गर्न उ त्यही दरबार हेर्न जाँदैछु तपाई पनि हिड्नुस् अनि देख्नु हुनेछ गणऽतन्त्रको लुट । क–कसले हुँदो रेछ छुट ! विस्तारै हिड्नुस् । ल यो वैशाखी समाउनु अनि मेरा दाहिना हात समाउनु् । तपाईले ल्याएको गणऽतन्त्र कहाँ आयो ? कसलाई आयो ? कि बालुवाटारमा, कि बालकोटमा आयो ? कि बुढानिलकण्ठमै आयो ! त्यहाँ बस्नेहरूका परिवारलाई आयो । तिनका वरिपरि घुम्ने आउरेबाउरेलाई आयो । तपाईहरूलाई त हात्ती आयो हात्ती आयो फुस्सा भयो लोकतन्त्र । यो लोकतन्त्र होइन काका, यो त लूटतन्त्र हो ।