Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

वाईसीएल: यसो गरे कसो होला?

२६ मंगलबार , माघ २०७२१० बर्ष अगाडि

रोशन कार्की :
२०५२ को जनयुद्ध २० वर्ष हुनलाग्यो। यो जनयुद्ध विश्व समाचार बन्यो, देशभित्र जागरण र चेतना पनि छरेको हो। प्रचण्डलाई प्रचण्ड र बाबुरामलाई बाबुराम बनाएको यही जनयुद्धले हो। दुबै जनयुद्धको धरातलमा टेकेर प्रधानमन्त्री भए, अहिले नेकपा माओवादी र नयाँशक्ति पार्टीमा लागेका छन्। वाईसीएल र पूर्वलडाकुको स्थिति यी दुबै पार्टीको ब्याकबोन हो अहिले पनि। तीतो छ, सत्य यही हो र प्रचण्ड र बाबुरामले वाईसीएल र पूर्वलडाकुहरुलाई सक्रिय पार्न थालेको अनुभव सबैले गरिरहेका छन्। यसकारण वाईसीएललाई केही सुझाव दिनु जरुरी छ। किनभने वाईसीएलको बिगत जोरजबरजस्तीका कारण बदनाम छ। गणेशमान पुनलाई मन्त्री बनाउने आधार यही वाईसीएल हो भने नन्दबहादु पुनलाई उपराष्ट्रपति बनाउने आधार युद्धकाल हो। देशभरिका शोषक, सामन्त, अत्याचारी, दुराचारी, व्यभिचारीको सातो खाने वाईसीएल माघ १० गतेदेखि फेरि क्रियाशील भएको छ। ३ लाख कार्यकर्ता तैयार गरेर पुननिर्माणमा जुट्ने वाईसीएलको घोषणा उत्साहजनक मान्न सकिन्छ। तर, वाईसीएलको भाटे कारवाही गर्ने र झण्डा गाडेर अर्काको जग्गा अडप्ने शैली कतै प्रशंसनीय रह्यो भने कतिपय घटनाक्रम आलोचनाको घेरामा पनि पर्‍यो। जनयुद्धलाई जनआन्दोलनमा रुपान्तरण गरेर निर्णयमा पुर्‍याउन वाईसीएल नै प्रमुख शक्तिका रुपमा रहेको हो। परिवर्तनमा वाईसीएलको बलिदानी भूमिका छ। तर परिवर्तन लडाका वाईसीएलका लागि हातलाग्यो शून्य भयो। बिघटनमा पनि पर्‍यो। वाईसीएलका कतिपय काम गलत थिए। निन्दायोग्य थिए। घृणा गर्न सकिने खालका थिए। प्रचण्ड त्यतिबेला पनि अध्यक्ष थिए र अहिले पनि पार्टी अध्यक्ष नै थिए। वाईसीएल उनले किन सुधारेनन्। जनविरोधी कामलाई किन रोकेनन्। पहिले किन बिघटन गरे, अहिले किन पुनर्गठन गर्न बाध्य भए? यो सवालको जवाफ स्वयं पार्टी अध्यक्षले खोज्नुपर्छ र भावी दिनमा यस्तो दोहोरिनु हुन्न। स्मरणीय छ, वाईसीएल बिघटन गर्दा बाबुरामको सरकार सत्तामा थियो।
एउटा माओवादी पार्टी अहिले पाँच टुक्रा भइसकेको छ। संस्थापन माओवादी पार्टी निश्चय नै दयनीय अवस्थामा छ। होनहार योद्धाहरु प्रचण्डका साथमा छैनन् अहिले। प्रचण्डलाई आरोपमाथि आरोप लगाएर उनीहरु अलग भएका हुन्। यो स्थितिमा प्रचण्डले वाईसीएललाई भातृसंगठनको रुपमा ब्यूँताएका छन्। र, पहिलो दिन नै वाईसीएलले अख्तियारमाथि धावा बोलेको छ। सम्पत्ति विवरण सार्वजनिक गर, अन्यथा भण्डाफोर गरिन्छ भनेर उद्घोष पनि गरेको छ। प्रचण्डले लडाकाहरुको अरवौं रुपियाँ खाएको फाइल अख्तियारमा छ र महराजस्ता नेतालाई अख्तियारले अकूत सम्पत्ति कमाएकोमा अनुसन्धानको दायरामा लिएको छ। यसकारण वाईसीएलले धावा बोलेको भनिन्छ। यद्यपि स्मरणीय के छ भने प्रतिगामीको धब्बा लागेका लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन प्रस्ताव गर्ने व्यक्ति प्रचण्ड नै थिए। प्रचण्डले ब्यूँताएको वाईसीएलले धावा किन बोल्यो? रहस्यमय लाग्छ। गैरकम्युनिष्ट भ्रष्ट हुनसक्छन्, कम्युनिष्टमाथि विगत केही वर्षदेखि प्रकार प्रकारका भ्रष्टाचारमा डुबेको भनिदैछ। वाईसीएलले यतातिर पनि ध्यान दिने कि? र, माओवादी कोटामै नियुक्त भएका सशस्त्रका आइजीपी कोषराज वन्त भ्रष्टाचार लागेर पदमुक्त भए, विशेष अदालतमा मुद्दा खेपिरहेका छन्। यो ठूलै घटना हो।
वाईसीएलले भ्रष्टाचारविरुद्ध आवाज उठाउने कि अख्तियारलाई भ्रष्टाचार विरुद्ध उभिन बाध्य पार्ने कि उसैमाथि भण्डाफोर हुन्छ भन्ने? भण्डाफोर गरे हुन्छ तर अख्तियार प्रमुखलाई हटाउन महाभियोग लगाउने ताकत वाईसीएल अथवा एमाओवादीसँग छैन। स्वयं सरकारमा भएको एमालेका सभासदहरु राजेन्द्र पाण्डे, बंशीधर मिश्रलगायतका २९ जनामाथि अनुसन्धानको समन जारी गर्ने अख्तियार प्रमुख कार्की माथि एमालेले महाभियोग लगाउने धम्की दिएर मच्चियो, अहिले थच्चिसकेको स्थिति छ। वाईसीएलले यी सबै घटनाक्रम बुझ्न जरुरी छ।
वाईसीएलले हेर्नुपर्ने माओवादी र बाँकी कम्युनिष्टहरुको सामन्ती जीवनशैली हो। बिना भ्रष्टाचार यो समभव छैन। कमरेडको कमिज नटकटक्याई अरुको जीउको जुम्रा देख्दा फेरि पनि वाईसीएल बदनाम हुनसक्छ। बिचार गरौं।