शाश्वत शर्मा-
यो त अन्याय भो...मरीचमानको अन्त्येष्टि देखेका उनले सुशील कोइरालाको अन्त्येष्टि देखेपछि यसै भन्दैथिए टीभीमा। राष्ट्रभक्त मरीचमानलाई जम्माजम्मी १५ जना प्रहरीको झुण्ड पठाएर (बिगुल फुक्न) अपमान गर्ने नेपाल सरकारले सुशील कोइरालाको अन्त्येष्टिलाई साँच्चै राजकीय सम्मान दियो। वास्तवमा यो सतीले सरापेको देश नै हो। भूकम्प पीडितहरुलाई आएको दानदातव्यमासमेत भ्रष्टाचार गर्नेहरुलाइ संरक्षण दिने, राष्ट्रियतालाई समाप्त पार्न जिउज्यान छाडेर लाग्नेहरु मध्येका एक ती सुशील कोइराला वास्तवमा सम्मानका हकदार कसरी हुनपुगे? सुशीलले पाएको जस भनेको संविधान घोषणा हो, जुन संविधान खारेजीको चरणमा पुगिसकेको छ। यिनको योगदान फिटिक्कै छैन भन्दा पनि हुन्छ। अनि यस्ता व्यक्तिलाई राजकीय सम्मान? वास्तवमा कांग्रेस भनेको अझ कोइराला भनेका 'रोग' हुन् देशका लागि। यिनले सधैं कूभलो नै गरे नेपाल र नेपालीहरुलाई। मरेर गए ती गिरिजा, त त अझ चण्डाल थिए, यसै भन्छन् बहुसंख्यक देशभक्तहरु। जेहोस्, यी त भए बहुसंख्यक जनताका गुनासाहरु। तर सत्य चैं के हो भने, अहिले जसरी विभिन्न किसिमका मिडियाहरुमा सुशीलदाका बारेमा गुणगान भट्याउने काम भइरहेका छन्, त्यो हेर्दा र सुन्दा लाग्छ अति भो भन्न चैं करै लाग्छ। होला, सुशीलदाको आफ्नो परिवार थिएन होला। तर उनी पनि आफ्ना गणतान्त्रिक पूर्ववर्तीहरुझैं परिवारवाद, पार्टीवादबाट माथि उठ्न सकेका थिएनन्। व्यक्तिगत रुपमा उनीसँग सम्पत्ति थिएन र छैन होला तर उनका मान्छेहरुले राम्रैसँग कमाएका छन्।
सत्ता र पदका यति बिघ्न भोका थिए कि पालो मिच्दै केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको चुनावमा लड्न गएकै हुन्। अझ यस्तो उमेर र त्यस्तो बेला पनि कांग्रेसको महाधिवेशनमा पुनः सभापति लड्न इच्छुक छँदै थिए सुशीलदा। अझ पुननिर्माण प्राधिकरणजस्तो कमाउ ठाउँमा आफ्ना भाइका ज्वाईंलाई हाकिम बनाइरहन उनी पछिसम्म लडिरहे। अहिलेका गभर्नर पनि उनकै निकट सम्बन्धी हुन्। पीडित मरेको मर्यै, नेताहरु लुटेको लुट्यै। सुशीलको व्यक्तिगत चरित्रको कुरै नगरौं। सुन्दा पनि, त्योभन्दा पनि लाज लाग्छ। घोक्रेठ्याक पारेर निकालिएका उनका पूर्व पीए लक्ष्मण ढकालसँग बुझ्दा छर्लङ्गै हुन्छ। सुशीलले निकाएपछि तिनै ढकालले केही कुरा चुहाएका पनि हुन्। त, संक्षेपमा भन्नुपर्दा हामी नेपालीहरु दोषी छौं। यी र यस्ता प्रवृत्ति पछि लाग्छौं, जिउँदै हुँदा र मरेपछि पनि। त्यसै भएर हामी कहिल्यै उँभो लाग्दैनौं। फोहर र गोबर छुट्याउन नसक्ने हामी नेपालीहरु वास्तवमा आवश्यकताभन्दा बढी सोझा छौं। सुशीलदा महान नेतारे। भो, पुग्यो। मरेर गएकाको गुणगानमात्र गाउनुपर्छ भनिन्छ। तर इतिहासले त गुणदोष दुबै छुट्याउँछ। भ्रष्टाचारीको गुणगान गाउने चलन फेर्दा हुन्न? यस्तो गलत परम्परा तोड्दा राम्रो। हत्यारा, लुटेरा, देशघाती चाहे जुनसुकै पार्टीका हुन्, तिनको सम्मानमा तोप पड्काउँदा र बिगुल फुक्दा राष्ट्रभक्तहरुको आत्मा रोयो कि रोएन होला? मन कुटुक्क दुख्यो कि दुखेन होला? भन्नुको तात्पर्य पद हेरेर होइन, गुणदोषका आधारमा ठूला मान्छेहरुको मूल्यांकन गरौं र त्यसैका आधारमा सम्मान दिने गरौं– बाँच्दा वा मरणोपरान्त पनि।