Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रतिभाको कमी छैन, अवसर देउ

१० सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ-
खेलकुदमा भइरहेको राज्यको लगानी बालुवामा पानी हालेजस्तो भइरहेको रहेछ। साफ गेममा फुटबलले गोल्डकप के प्राप्त गर्‍यो, यसपालीको २ अर्व ७ करोडको बजेटको प्रारम्भमै नतिजा निस्कन थालिहाल्यो। क्रिकेट र फुटबल, अन्य खेलहरुमा प्रतिभाको कमी रहेनछ। मात्र अवसर र उत्साहको कमी रहेछ। अव त खेलकुदको विकास हुने आशा गर्न सकिन्छ। म्याच फिक्सिङ भएकै कारण नेपालको फुटबल पछि परेको रहस्य खुल्यो। नेपालले कहिल्यै सोच्नै नसक्ने गरी भारतलाई हराएर जसरी गोल्डकप हात पारेको छ, यसबाट देशको शिर उच्चा भएको छ। प्रत्येक नेपालीले गर्व गरेका छन्। आइन्दा म्याच फिक्सिङजस्ता कलंकपूर्ण खबर सुन्न नपर्ने वातावरणको विकास हुन लागेको छ। राज्य र जनस्तरबाट पनि विशेष निगरानी राखिनुपर्छ।

आकर्षक खेल, चमत्कारिक गोल गर्नसक्ने क्षमता नेपाली खेलाडीमा रहेछ। त्यो क्षमतालाई अझ उजिल्याउनु पर्छ, प्रकट हुन दिनुपर्छ। फुटबलमा नातापाता अथवा आशीर्वादले होइन, क्षमताको प्रस्फुटन हुनसक्ने वातावरण बन्न दियो भने ठूलै उपलव्धि हासिल हुनसक्ने रहेछ भन्ने संकेत हो साफ गेममा प्राप्त गोल्डकप।

होनहार खेलाडीको कमी रहेनछ नेपालमा। खाली उज्ज्वल खेलाडीहरुलाई अवसर नदिएको प्रमाणित भएको छ। आइन्दा यस्तो विभेद, यस्तो षडयन्त्र हुनुहुन्न खेलकुदमा। सिआईवीले म्याच फिक्सिङको प्रमाणसहित मुद्दा हाल्ने, कानुनभित्रको चलखेलले बचाइदिने काम भएको छ। अख्तियारलेसमेत फुटबलभित्रको भ्रष्टाचार प्रकरणलाई मुल्तवीमा राखेको छ। यथार्थमा कानुनी दाउपेचले खेलकुदभित्रको भ्रष्टाचारलाई समेत बचाउन थाल्यो। कानुनले कारवाही गर्ने हो कि सुनपानी छर्केर शुद्ध पारिदिने हो। कानुन पैसा राखेर गरिने गौदानमा पो सिमित हुनपुग्यो।

नवयुगको एउटा प्रश्न?

अहिले सम्मान पाएर के गर्नु? सम्मान पाउँदा खुशी त लाग्छ। खेल्दा खुट्टा भाँचियो भने कसरी बाँच्ने? मागेर खाने? यसकारण खेलाडीहरुको जीवनवृत्तिको ग्यारेन्टी हुनुपर्छ। तवमात्र फुटबलको विकास हुनसक्छ। राज्यले खेलाडीको रोजीरोटीको पर्याप्त बन्दोबस्त गर्ने र प्रतिभा र क्षमताअनुसारको मौका दिने हो भने नेपालको खेलकुद विश्वस्तरीय हुनसक्छ।