गोविन्दप्रसाद पौडेल-
आश्चर्य छ, भारतबाट नेपालले थप ८० मेगावाट विद्युत खरिद गरेको छ। यसको उद्घाटन पनि प्रधानमन्त्री स्तरबाट भयो। मानौं भारतले नेपाललाई ठूलै उपहार दिएको छ। यस्तो घटना पनि जनताले देख्ने दिन आयो। भारतबाट खरिद गरेको यो ८० मेगावाटले अहिलेको १५ घण्टे लोडसेडिङ २ घण्टा कम हुने विद्युत प्राधिकरणले बताएको छ। भारतले बेच्यो, नेपालले किन्यो, यसमा प्रधानमन्त्रीस्तरमा ठूलै उपलव्धिको रुपमा व्याख्या गर्नुचाहिं अति भएन र? भारतले नेपालका ठूला जलविद्युत आयोजनाहरुको लाइसेन्स लिएर काम गरेको छैन। लाइसेन्स होल्ड गरेर बस्ने अनि नेपालको पानी फोकटमा उपयोग गरेर नेपाललाई विद्युत बेच्ने भारतको चलाखी र नेपालको मुर्खता जान्नेहरुका लागि आश्चर्य हो।
हुन त नेपालले १० वर्षे उर्जासंकटकाल घोषणा गरेर भारतबाटै थप विद्युत आयात गर्ने र त्यो अवधिमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गरिसकेको छ। उर्जामन्त्री टोपबहादुर रायमाझी यस्तै हो भे सय वर्षमा ३ सय मेगावाट पनि उत्पादन हुँदैन भनेर एकातिर खिसी गरिरहेका छन् भने अर्कोतिर विद्युत आयोजनामा समस्या परे सेना लगाएर भए पनि काम नरोकिने कुरा पनि गरिरहेका छन्। २०६५ सालमै प्रचण्ड सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सपना देखाएका थिए। लाग्छ, नेपाल सपनाको देश हो। सपना देखाउने र कामचाहिं केही पनि नगर्ने। फेरि सपना देखाइयो।
यस्तो छ सरकारको कार्ययोजना
भारतबाट थप ६ सय मेगावाट विद्युत आयात गरेर एकवर्षभित्र लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना सार्वजनिक भएको छ। उर्जा मन्त्रालयका अनुसार सुख्खायाममा १४२३ मेगावाट विद्युतको माग हुनेछ। यो सहजरुपमा आपूर्ति गर्न सकिने विश्वास उर्जा मन्त्रालयको छ। तर, दिनहुँ बढ्दो विद्युत मागको हिसाव नगरिएकाले विज्ञहरु भन्छन्– यो सरकारले देखाएको सपनाभन्दा बढी केही पनि होइन।उर्जा मन्त्रालयका अनुसार २ वर्षभित्र ९३० मेगावाट आयात गर्ने, आन्तरिक स्रोतबाट समेत गरेर १८५० मेगावाट पुर्याउने भनिएको छ। यही अवधिमा सौर्य र वायुबाट २ सय मेगावाट उत्पादन गर्ने पनि भनेको छ। यसकालागि तत्काल बुढी गण्डक, नलसिंगगाड, सुनकोशी, उत्तरगंगा, शारदा, बबईजस्ता योजना तत्काल सुरु गर्ने भनिएको छ। सपना हो जति देखे पनि हुन्छ। सरकार आज ढल्ने हो कि भोली, सत्ता बचाउने कि उर्जा उत्पादनतिर ध्यान दिने यो सरकारले?