स्वयम्भुनाथ कार्की-
नारायणहिटी छोड्ने वेलामा पत्रकार सम्मेलन मार्फत राजाले अत्यन्तै मार्मिक उद्गार व्यक्त गर्नु पर्यो। मानवीय संवेदनामा सुदुर पश्चिमका बाढी पहिरो पिडितहरुलाई सहानुभूतिको हात लिएर भेट्न गएका राजाले क्षोभ व्यक्त गर्नुपर्यो। पहिलो घटनाको वेला अहिले राजसंस्थालाई आफ्नो मात्र पेवा ठान्नेहरुको जमात मुख लुकाएर बसेको थियो भने प्रतिकुल परिस्थितिमा पनि आस्थावानहरु अश्रुपुर्ण नेत्र र मनमा पीडा बोकेर राजाको नारायणहिटीबाट बहिर्गमनको वेलामा राजा उपर आफ्नो विश्वास प्रकट गर्न जम्मा भएका थिए।
दोश्रो घटनाको वेलामा राजसंस्थालाई पेवा मान्नेहरुको जमात हावी भइसकेको थियो तर यो संभावित क्षोभ टार्न केही प्रयत्न गर्नुको साटो पुत्ला जलाउन र भाषणमा आगो उकेल्न व्यस्त थियो। उनको अगाडी अनि त्यहाासम्म खवर पुग्ने गरेर 'राजा आउ, देश बचाउ' नारा लगाएर कर्तव्य पुरा गरेको दावी गर्दै थियो। आफुलाई आवश्यक परेको वेला यिनीहरुलाई आफ्नो साथमा नदेखे पछि राजाले 'राजा आउ देश वचाउ' नारा लगाउनेहरुलाई त्यसो नभन्न र जनता आउ देश बचाउ भन्न अनुरोध गर्नु पर्यो।
जनतामा राजसंस्था प्रतिको आस्था थियो अनि छदैछ। यो कुराको प्रमाण राजाको क्षणिक उपस्थितिमा पनि एक झलक पाउन जुट्ने गरेको जनताको उपस्थितिले दिदैछ। त्यसमाथि सबैतिर कुनै न कुनै रुपको राजसंस्थाको नेपालमा आवश्यकता छ भन्नेहरुको उपस्थिति छ। नारायणहिटी छोड्ने वेलामा जनतामा रहेको आस्था पल प्रतिपल बढेको छ। संस्थागत भैसकेको गणतन्त्र भने निरन्तर जनता बीच अलोकप्रिय हुदैछ। गणतन्त्रको यो निरिहताको लक्षणको रुपमा राजा सहितको प्रजातन्त्रको वकालत गरिरहेको राप्रपा नेपाल पनि एक हो। यो भन्दा ठूलो विडम्वना के हुन सक्छ कि राप्रपा नेपालले आफुले विपक्षमा मत दिएको गणतान्त्रिक संविधानलाई उत्कृष्ट भनेर उसैले सावित गरिदिनु परेको छ।
नारायणहिटी छोड्ने वेलामा भनिएको थियो– 'राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्र र धर्म, कूलधर्म र राजपरम्पराअनुरूप मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरु कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउछु। तत्कालीन हिन्दूअधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आवस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु।' यो कुरामा उनी हमेशा अडिग छन्।
पृथ्वीनारायण शाहले जनताको साथ लिएर नै जनता रिझाएर नै नेपालको जग बसाले। महेन्द्रले जनताको साथ पाएर नै नेपाललाई अन्तराष्ट्रिय मञ्चमा समेत स्थान दिलाउन सफल भए। भविष्यमा पनि जे जस्तो होस्, त्यो जनताको साथले नै होस् भन्ने भाव पूर्वराजाले अनेकौं पटक व्यक्त गरिसकेका छन्। सबै नेपाली मिल्नु पर्दछ भनेर निरन्तर भन्दैछन्। तर 'राजावादी' भनिनेहरु जनता समेतलाई मिलाएर आफु मिल्ने सोचमा छैनन्। ०७२ सालको पुस २७ र फागुन ७ को सन्देशले अनुकुल देखेर समर्थन गरेको जस्तो गरेर राजसंस्था आफुले स्थापना गराएको भ्रम दिन तल्लिन भएका छन्।
जनता आफैले प्रयत्न गरेर वनाएको परिस्थितिलाई विभिन्न समूहमा विभाजन गरेर आफ्नो दुनो सोझ्याउने प्रयत्न हुादैछ। यदी यो नभए मिलेर साझा लक्षको निमित्त काम गर्नुको साटो आ–आफ्नो समूह बनाएर एक्लाएक्लै नारा लगाउनुको के अर्थ? नेपालमा राजसंस्थाको अपरिहार्यता देख्नेहरुले कुनै व्यक्ति वा समूहको सहुलियतको पक्षपोषण गरेका हैनन्। उनीहरुले नेपालमा एक पटक फेरि पूर्वराजा र जनताको संयुक्त अभियान चाहेका हुन्। जसरी पृथ्वीनारायण शाहले जनतासाग मिलेर आधुनिक नेपाल बनाए, जसरी महेन्द्रले जनतासाग मिलेर नेपाललाई मध्ययुगबाट तानेर आधुनिक युगमा प्रवेश गराए, त्यही खोजेका हुन्।
आज नेपालको अस्तित्व निमित्त मात्र नभएर जीवनयापनका सामान्य काम पनि दुरुह भएको छ। नेपालले फेरी एकपल्ट पूर्वराजा र जनताको संयुक्त अभियान खोजेको छ। यस्तोमा नेपाललाई माया गर्नेहरुको एकताको आवश्यकता छ। यो वेलामा सबै राष्ट्रभक्तले आफ्नो मर्यादाक्रम खोज्ने हैन, बराबरी भएर काम गर्ने वेला हो। अलग अलग प्रयत्न गरेर भोलि आफ्नो योगदान (?) को कचौरा फैलाउने बाटो खोज्ने हैन। यसवेला ठूलोसानो खोज्न थालेमा नेपालको अस्तित्व जोगाउन कठिन हुनेछ। त्यसैले राष्ट्रभक्तहरुको एकता आजको आवश्यकता हो। यो अनेकौ नामले संगठन खोल्ने वेला हैन, साझा प्रयत्न गर्ने वेला हो।