रोशन कार्की
'न हाँसको चाल, न कुखुराको?' यस्तै छ हाल संविधानसभाको। विपक्षीविहीन हुनुपर्ने संविधानसभामा दुईकित्तामा बिभाजित भएका छन् र सहमति तथा प्रक्रिया दुबै सम्भाबनालाई चिथोराचिथोर गरिरहेका छन्। एउटा आफू सही भएको बताउँछ, अर्को आफू। एकदोस्राप्रति आरोप प्रत्यारोपले संविधानसभा रणभूमि बनिसकेको छ। सहमतिमा संविधान जारी गर्ने थलोमा भीडन्त भइरहेको छ। सम्हाल्ने र गल्ती सुधारेर सही मार्ग देखाउने कुनै नेता छैनन्। किनकि ठूला नेता हुन् प्रचण्ड र केपी ओली। मेजर पार्टीका नेता तथा प्रधानमन्त्री छन् सुशील कोइराला। मधेसवादीबाट अग्रसर भएका छन् विजय गच्छदार। दुई खेमामध्ये एकले दोस्रोको प्रस्ताव काट्नै पर्ने र आफ्नै एजेन्डामा पक्ष वा प्रतिपक्षी आउनै पर्ने तर्कले संविधानसभामा तोडफोड चलिरहेको छ।
बाझाबाझबाट बनेको संविधानले कसरी काम गर्ला? चल्नका लागि सहमति चाहिन्छ, जल्नका लागि बिबाद। सहमति शून्य, बिबाद बढी छ। यसको अर्थ आगजनीको संकेत हो। मुलुक संहाल्छु, नयाँ नेपाल बनाउँछु भन्नेहरुले भएको नेपाललाई मटियामेट हुनेगरी असफल राष्ट्रमा परिणत गरिदिने भए। १० वर्ष लामो रक्तपातपूर्ण जनयुद्धलाई जनआन्दोलनले मत्थर पारेको थियो। र, राजाले शान्तिपूर्ण रुपमै गद्दी त्यागेर बनवास जाँदा सदाका लागि रक्तपात रोकिने वातावरण बनेको थियो। यो बनेको वातावरणलाई धमिल्याउने काम अरु कसैले होइन, परिवर्तनकारी नायकहरुको खलनायकी भूमिकाले गरिरहेको छ। एउटा निश्चित पद्धति बाँधेर मुलुकलाई अग्रगमनको राजमार्गमा डोर्याउने जिम्मेवारी लिएका नेताहरुले जुँगाको लडाई झिकेर दोस्रो संविधानसभालाई युद्ध मैदान बनाइदिए। खुलामञ्चभन्दा पनि गएगुज्रेको हालतमा पुर्याएर लज्जास्पद रुपमा प्रकट भएका राजनीतिक दलहरुप्रति विश्वजगतले चिन्ता व्यक्त गरेको छ। यस्तो अवस्था आउनु भनेको योभन्दा गलत मानसिकता र सोच अरु के हुनसक्ला र?
फेरि पनि राजनीतिक रक्तपातको खतरा देखिन थालेको छ। सहमति पनि हुन नदिने र प्रक्रियालाई पनि रोक्ने काम हुँदा संविधान आकाशको फल हुनपुगेको छ। प्रत्येक नागरिकको जीवनलाई जिवन्त पार्ने र राष्ट्रको मूल कानुनमार्फत राष्ट्रलाई सार्वभौम रुपमा संस्थागत गर्ने संविधान लेखनमै यसरी मारामार गर्छन् दलहरु भने यिनले मुलुकलाई कसरी हाँक्न सक्छन् र? मुलुक बिधिले चल्ने हो, बिधि बनाउन कूविधि अपनाउनेहरुलाई कसरी बैधानिकता मिल्ला र?