Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

मुलुक प्रगतिपथमा लैजाने एउटै औजार राष्ट्रवाद

०८ सोमबार , चैत्र २०७२९ बर्ष अगाडि

स्वयम्भूनाथ कार्की :

आत्मबल भएका, स्वभिमानी र राष्ट्रवादीहरुको सानै पनि जमात जुर्मुरायो भने मुलुक जस्तोसुकै कठिन परिस्थितिबाट पनि निक्लेर प्रगति पथमा बढ्न कुनै बेर नै लाग्दैन। यत्तिमात्र नभएर असफल राष्ट्र भयो भन्नेहरुलाई लोप्पा खुवाउँदै विश्व मै उल्लेख्यनीय राष्ट्र बन्ने संभावना पनि छ। त्यसको निमित्त प्रमुख आबश्यकता भनेको आजको अबस्थामा मुलुक पुग्नुमा आफ्नो हिस्सामा परेको जिम्मेवारी इमानदारीपूर्वक सबैले लिनु र फेरी त्यस किसिमको आलोकाँचो काम कसैले नगर्ने प्रण गर्ने हिम्मत गर्न सक्नुपर्छ। यसको निमित्त नेताहरुले भाषणमा आत्मालोचना गरेको झै गर्नु पनि पर्दैन र गर्न हुँदैन पनि। एकान्तमा आफैले मात्र मनन गरे पुग्छ, पछुतोको आगोमा मनमनै जले पुग्छ। अनेकौं पटक सार्वजनिक रुपले गलती स्विकार गर्ने अनि तुरुन्तै फेरी सोहि गलती गर्ने नकच्चरो काम नत्यागेसम्म मुलुक भड्खालोमा जाकिनबाट रोकिने छैन।

मुलुकको एकमात्र सर्वशक्तिमान औजार भनेको राष्ट्रवाद हो। राष्ट्रवादीलाई स्वाभिमानले आफै वरण गर्दछ अनि स्वाभिमानीलाई आत्मबलले कसै गरेर पनि छोडन सक्दैन। यही नै एक मात्र मूल मन्त्र हो– दुईदुई वटा परमाणुबमको मारले खरानी भएको जापानको सम्पन्नताको। परमाणु बमले पनि ध्वस्त गर्न नसकेको कुरा जापानमा राष्ट्रवाद नै थियो। यसैको आधारभूमिबाट आज जापानको कुनै रेष्टुरेन्टमा अंडा छोडाउने काम पाउँदा नेपाल जस्ता मुलुकका उपसचिवहरु आफुलाई भाग्यमानी सम्भि्कन्छन्। मानवबाट गल्ती हुनु अस्वभाविक पटक्कै होईन। सबैको सामुन्ने गलती स्विकार गर्न र त्यसलाई नदोहर्‍याउन ठूलो बहादुरीको आवश्यकता पर्दछ। स्वाङ्ग पारेर गलती स्विकार गर्न र त्यस स्विकारोक्तिलाई भुल्न भने बहादुरी हैन नकच्चरोपनको आबश्यकता हुन्छ। यो दुवै कुरा सबैमा नहुन सक्छ। आत्माले गल्ती स्विकार गर्दा भने त्यसले फेरि गल्ती गर्ने आँट सितिमिति गर्न सक्दैन, चाहे त्यो बहादुर होस वा नकच्चरो। गल्ती गर्दै जानु, त्यसलाई मानेजस्तो पनि गर्नु र फेरी त्यसैको पुनरावृत्ति गर्नु भनेको मानवता हैन दानवता हो। आफ्नो गल्ती मानेर त्यसबाट भएको हानी न्यून गर्ने काम गर्नु भनेको नै प्रायश्चित हो।

जसरी र जे गरेर भए पनि पुर्खाहरुले अखण्ड नेपाल सुम्पेर गएका थिए। आजका मुलुक संचालकहरु लगायत सबै नेपालीलाई पुर्खाहरुले स्वतन्त्र र स्वाभिमान विरासतमा दिएका थिए। अहिले पुर्खाले नासो स्वरुप छोडेको मुलुक भविष्यलाई बुझाउन सक्ने अवस्था छैन। पुर्खाले छोडे भन्दा राम्रो बनाउन नसकेमा केही छैन तर नराम्रो पर्ने त अधिकारै पुग्दैन। तर भविष्यलाई बुझाउन यो नासो नै बाँकी रहने कुरामा नै प्रश्न उठन थालेको छ। यो प्रश्न अरुले हैन 'अग्रगमन'मा लगेर मुलुकलाई स्विट्जरल्याण्ड बनाउने सपनाको व्यापार गरेर मुलुकै जिम्मा लिएकाहरुले गर्दैछन्।

एकान्तमा बसेको वेला पनि यस्तो भड्खालोमा देश जाकिनुमा हिजो आफुले गरेको काम जिम्मेवार थियो भनेर पोल्दैन भने त्यो के बुद्धिजीवी? माछा देख्दा दूला हात सर्प देख्दा पाखा हात गर्ने के नागरिक समाजका अगुवा? हिजो आफुले सोचेको मात्र राम्रो हो भनेर आज मुलुक यो अबस्थामा ल्याई पुर्‍याएको हेक्का रहदैन भने त्यो के पत्रकार? मै खाउँ मै लाउँ भन्ने शैलीमा एक पटक जसरी भए पनि जनताको मत पोल्टामा परेर चिरकालसम्म त्यसैको आडमा जनताको थाप्लोमा गीर खेल्ने नेताहरुलाइ त दिने संज्ञा नै छैन। सनातन शास्त्रले भन्दछ, राष्ट्र हुन स्वामी चहिन्छ, जो शासक हो। त्यस्तै गरेर अमात्य चाहिन्छ जसको मन्त्रणाले शासकले सही काम गर्न सकोस्। जनपद वा जनता अर्को आवश्यक तत्व हो राष्ट्र हुन, विना जनताको राष्ट्रको कल्पनासम्म हुन सक्दैन। दुर्ग जसको अर्थ सुरक्षा लाग्छ, नभएमा राष्ट्र कायम हुन सक्दैन। कोष नै नभएमा हमेशा अनुदानमा बाँच्नु पर्ने हुन्छ त्यो राष्ट्र स्वतन्त्र राष्ट्र नै हुन सक्दैन। दण्ड अर्को अपरिहार्य तत्व हो राष्ट्रको निमित्त। यदि दण्ड नै छैन मत्स्य न्याय प्रवल हुन्छ, आज आफु भन्दा सानो माछालाई खाने माछालाई भोली त्यो भन्दा ठूलोले खाई दिन्छ। यस्तै सनातन शास्त्रले मित्र बिनाको राष्ट्रको पनि कल्पना गर्दैन। यो सात तत्व नभएको राष्ट्र राष्ट्र नै होईन भन्ने मान्यता सनातन हिन्दू धर्मको हो।

भनाई के छ भने व्यक्तीले पहिले मुलुक रोज्नु पर्छ।  त्यसपछि घरजम जोरजाम गर्ने कुरा आउँदछ , अनि मात्र आफ्नो परिवार पालनको निमित्त धन कमाउने कुरा हुन्छ। यदि मुलुक नै नरहेमा न घरजम नै सुरक्षित हुन्छ न कमाएको धनसम्पत्ती नै। यो नै मापदण्ड हो कुनै मुलुकको प्रगति हुँदैछ कि अधोगति हुँदैछ जान्ने। सर्वसाधारणको घरजम र सम्पत्तिको सुरक्षा कत्तिको छ, उसको ज्यान कै पनि सुरक्षा छ कि छैन यो अहम प्रश्न हो। मुलुकलाई प्रगतिपथमा डोर्‍याउने एकमात्र औजार राष्ट्रवाद हो। अर्काको मुलुकमा ज्यामी भएर जाने सबै देशवासीहरुलाई राष्ट्रवादको महत्व बोध भैसकेको छ। मुलुक भित्रै बस्नेहरुले राष्ट्रवादको ज्योति जगाएर, प्रगति गरेर उनीहरुलाई स्वदेश बोलाउने बेला यही हो।