Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

ओलीले जवाफ दिन नसकेको प्रश्न

१५ सोमबार , चैत्र २०७२९ बर्ष अगाडि

रोशन कार्की :

चिनियाँ पत्रकारहरुले प्रधानमन्त्री ओलीलाई 'चीन र नेपालको सम्बन्ध सामान्य छ, भारत र नेपालको तनाव किन बढेको हो?' भन्ने प्रश्न गर्दा ओलीले स्पष्ट जवाफ दिन सकेनन्। चीनका राष्ट्रपति र प्रधानमन्त्रीले २०१५ सालमा माओले सुझाएको सुझाव दोहोर्‍याएर नेपाल, भारत र चीनको त्रीदेशीय समझदारी हुनुपर्ने विषयमा विशेष जोड दिएका छन्। त्रीदेशीय समझदारीमा चीन र भारतलाई भन्दा नेपाललाई बढी लाभ छ किनभने नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउन सकेमा त्यसको बढी लाभ नेपालले लिन सक्ने हुन्छ। यही कारणले चीनले नेपालसँगको सम्बन्धले नेपालको भारतसँगको साझेदारीमा कुनै असर नपरोस् भन्ने विषयमा चिन्तित देखिए। यही चिन्ताको विषय चिनियाँ पत्रकारहरुले सोधेको प्रश्नमा अन्तरनिहित थियो। ती प्रश्नको कूटनीतिक चलाखीका साथ नेपालले सामना गर्न सकेन। ओली असफल भए।

चाइना डेली, सिन्ह्वाले चीनले नेपाललाई सहयोग गर्दा भारतबाट हस्तक्षेप हुन्छ कि हुँदैन, भारत आक्रोसित बन्छ कि बन्दैन? भन्ने खालका प्रश्नहरु सोधेका थिए। भारत भ्रमण सफल भयो, नेपाल भारत सम्बन्ध पुरानै ट्य्राकमा फर्क्यो भनेर फुइँकी लगाउने प्रधानमन्त्री ओलीले भारत भ्रमणका बेलामा संयुक्त बक्तव्य निकाल्न नसक्नुको पीडा बेइजिङको पत्रकार सम्मेलनमा अनुभव गरेको हुनुपर्छ।

हो, चीनले उदारताका साथ १० सम्झौता गर्‍यो, १५ बुँदे सहमति पत्र पनि जारी गरियो। यो नेपालको सफलता नै हो। तर, योभन्दा महत्वपूर्ण सवाल थियो लिपुलेकमा भारत र चीनले गरेको सम्झौतामा नेपाललाई किन बाहेक गरियो? यो प्रश्नमा प्रम ओलीले केही लछारपाटो लगाउन सकेनन्। चीनले केरुङदेखि लुम्बिनीसम्म रेलमार्ग, जलविद्युतमा लगानी, किमाथांका–विराटनगरको राजमार्ग निर्माण र पारवहन सन्धि गरेर नेपाललाई ठूलै गुण लगाएको छ। तर, तातोपानीको व्यापार सुक्यो, मितेरी पुलको महत्व सिद्धियो, कोदारी राजमार्ग पुनः सञ्चालन नगर्ने चीनको संकेतमा नेपालले यो पुरानो सम्बन्धको चिनोको रुपमा पुनः सञ्चालनमा ल्याउन प्रस्ताव नगर्नुले यो क्षेत्रका जनताको जीवनस्तर उठ्न नसक्ने निश्चित हुनगयो। यसबाट चीन रणनीतिक रुपमा नेपाल प्रवेश गरेको तर नेपालको चौतर्फी हितलाई नहेरेको आरोप कोदारी राजमार्ग क्षेत्रका जनताको चित्त दुखाईको विषय बन्न पुगेको छ।

ओलीले नेपाल–चीनवीचका नाका खोल्नसमेत सक्रियता देखाएनन्। ओलीले जे गरे राम्रो गरे। योभन्दा बढी राम्रो गर्न सक्नेथिए। चीनको सुरक्षाको चासो संवोधन गरेर नेपालको विकासको ढोका खोल्ने अवसर ओलीले गुमाएका छन्। चीनले केही दिएजस्तो त गरेको छ, नेपालले धेरै पाएको पनि छ। महत्वपूर्ण विषयहरुमा नेपालका प्रधानमन्त्री चुक्नुले कतिपय क्षेत्रमा आघात पनि पुगेको छ। नेपाल विकासशील मुलुक हुनेतिर अग्रसर भएका बेलामा यस्तो चुक महगो सावित हुने त होइन?