धर्मरत्न श्रेष्ठ :
लोकलज्जा भएको र लोकप्रति जिम्मेवार भएको कुनै पनि राजनीतिक दलले यतिबेला जनताको घर घरमा चन्दा उठाउन आउँदैछु भनेर पार्टी निर्णय गर्दैन। किनकि जनता भूकम्पको पीडामा छटपटिएको अवस्था छ, चिसो र हुरीपछि पनि गाँस, बास र कपासको जोहो कसरी गर्ने भन्ने तिनको छुट्टै व्यथा छ। सरकार छ, सरकारले राहत दिन्छु भनेर भनेको वर्ष दिन भयो। तैपनि सरकारले जनताको हातमा राहत नामको सानो पोकोसम्म दिएको छैन। जनताप्रति सबै पार्टी निकम्मा भए, अव नयाँशक्ति पार्टीले केही गर्छ भनेर झ्याली पिटेका बाबुराम भट्टराई एण्ड कम्पनीले उल्टै प्राकृतिक प्रकोपले तिनै नाङ्गेझार भएका र राज्यको संरक्षणमा कालोबजारीको शोषणमा परेका जनताको घरघरमा नयाँशक्ति पार्टीका लागि चन्दा उठाउन आउँदैछु भनेर घोषणा गरेका छन्। कस्तो निर्लज्जता, कति नैतिकहीन, जिम्मेवारविहीन छन् नेताहरु?
एकथरि सत्तामा बसेर जनताको हक, अधिकार र राहत लुटिरहेका छन्, अर्कोथरि सडकमा बसेर जनतासँग चन्दा उठाउने कुरा गरिरहेका छन्। कहाँबाट दिने जनताले? त्यसै पनि हाडछाला भइसक्यो जनताको, तिनै जनतासँग चन्दा माग्न जाने भनेर नयाँशक्ति पार्टीले अर्को तामसीपन देखाएको छ।
डा.बाबुराम भट्टराई १८ महिना १८ दिन प्रधानमन्त्री भएका व्यक्ति हुन्। त्यसअघि उनी १० वर्षे जनयुद्धका नाइके पनि थिए। जनयुद्ध केका लागि? जनयुद्धपछि लोकतन्त्रको नेतृत्व गरेर सरकारसम्म पुगेका बाबुरामले जनताका लागि के गरे। लेखाजोखा गर्ने हो भने बाबुराम नेपालको भारमात्र हुन्। जो बिगतमा देशको, जनताको भारमात्र बने, तिनले नेतृत्व गरेको नयाँशक्तिले जनताका लागि, देशका लागि ढाल बनेर काम गर्छ भन्नु मूर्खतामात्र हो। नयाँ शक्ति गठन नगर्दे पुङ्माङ्े चालमा देखिइसक्यो, अव पनि यसको भर गर्ने र?
फापेन, नेपालमा पञ्चायत फापेन। बहुदलीय कालखण्ड कूशासनको कालखण्ड बन्यो। लोकतन्त्रीय कालखण्ड सुरु भएको थियो, यो कालखण्डमा पनि राज्यले जनताको भावना संवोधन गर्न सकेन। उल्टै जाति, भाषा, भेष, क्षेत्रको विभेद ल्याएको छ र सबैभन्दा आपत्तिपूर्ण कुरो यही कालखण्डमा बिखण्डनका आवाजहरु बैधानिक र लोकतान्त्रिक भनिने दलहरुबाटै सार्वजनिक भइरहेका छन्।
कुनै पनि देशको लोकतन्त्रले लोक लोकवीच फाटो ल्याउँदैन, एकताको भावना विकास गर्छ। नेपालको लोकतन्त्र यस मामिलामा अनौठो देखिन थालेको छ। अनेकता बढाउँदै लगेको लोकतन्त्रले अव प्रदेश र प्रणालीको नाममा जातीय विभेद र देश टुक्रा पार्ने खतराका आहटहरु सुनिन थालेका छन्। कुनै पनि नेतामा त्यो ताकत देखिन्न, जसले देश टुक्य्राउने आवाजहरुलाई नियन्त्रण गर्न सकोस्, राष्ट्रिय एकता मजबुत पार्न सकोस्। नयाँशक्तिभित्र पनि यस्तो एजेन्डा देखिन्न।