शाश्वत शर्मा :
पूर्वराजाद्वारा नयाँवर्ष २०७३ को शुभउपलक्ष्यमा जारी गरिएको शुभकामना सन्देश– नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका लागि, को चर्चा अझै व्याप्त छ। हरेक सन्देशहरुमा क्रमशः शनै शनै कडापन थप्दै जाने पूर्वराजाले यसपटक चैं आफू पनि खेलाडी भएको र चाँडै नै मैदानमा उत्रने संकेत गरेका छन्। पूर्वराजाको यसपटकको सन्देशमा '...कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व छ र मान्यता छ अनि कसकसको अर्गेल्याँई छ भन्ने विषयलाई वर्तमान अवस्थामा सबैले बुझिसकेका छन्' भनेर जुन उल्लेख गरिएको छ, त्यसले राजतन्त्रलाई जबरजस्ती विस्थापन गर्ने यहाँका प्रमुख राजनीतिक दलहरुलाई राम्ररी सम्झाउन खोजिएको छ भनेर बुझ्ने आमनेपाली धेरै छन्। अझ सन्देशमा उल्लेख गरिएका प्रत्येक शव्दहरुलाई केलाउने हो भने ती सबैको मतलव निस्कने अनि ती सबै शव्दहरुले वर्तमान शासक, शासन पद्धति र नेतृत्व क्षमतालाई व्यङ्ग गरेको छ भनेर ठान्ने पनि धेरै विश्लेषकहरु रहेका छन्।
जेहोस्, अघि अघिको भन्दा यस पटकको सन्देश अलि कडा नै छ तर के सन्देश दिएरमात्र जिम्मेवारी बहन गरेको वा देश र जनताप्रति म अझै जिम्मेवार छु भन्ने पुष्टि हुन्छ र? बडो तामझामका साथ समाचार आएको थियो पूर्वराजाले मध्य चैत्रदेखि तराई मधेसका जिल्लाहरुमा भ्रमण गर्ने भनेर। चैत्र सकियो, वैशाख सम्म पनि कुनै चालचुल देखिदैन। भनिन्छ, पूर्वराजा आउने अनौपचारक खबरले त्यस क्षेत्रका नेपाली जनता अत्यन्तै उत्साहित थिए। आन्दोलनले गर्दा थिलथिलो भएका त्यस क्षेत्रका नेपालीहरु पूर्वराजाका सानिध्यबाट केही सकारात्मक कुरा सुन्न एकदमै इच्छुक थिए तर के गर्ने? दिइएको समयमा भ्रमण हुन सकेन। यदि त्यस्तो कार्यक्रम नै थिएन भने, त्यसको खण्डन समयमै हुनुपर्थ्यो। होइन, मिति र समय सरेको हो भने त्यहीअनुसारको सच्चिएको समाचार आउनुर्ने थियो। अव त पूर्वराजाको भ्रमण हुने हो कि होइन? अन्यौल बढेको छ। संशय उत्पन्न भइसककेको छ। कसले रोक्यो पूर्वराजाको देशदर्शन कार्यक्रमलाई?
धेरै मानिसहरु विश्वस्त छन् कि पूर्वराजा जनताका माझ जाने हो भने राजनीतिक परिदृश्य बदलिएको देखिनेछ। हिजो राजतन्त्र हुँदा पनि एकथरि दरवारियाहरु राजा र जनताका वीचमा उभिएका थिए भने आज पनि कुन त्यस्तो तत्व वा शक्ति छ जसले पूर्वराजालाई जनताका वीचमा जान रोकिरहेको छ। खाली सन्देशहरुबाट मात्र राजा र जनतावीचमा एकतर्फी सम्वाद गराउन कामयाव भइरहेको छ? अव त्यस्तो घेरावन्दीलाई राजा र जनता दुवैले तोड्न सक्नुपर्छ। कार्यकर्ताहरुबाहेक अन्य नेपालीहरुले बुझिसकेका छन् यथार्थ कुरा। तसर्थ दिल्ली र बैंककतिर भन्दा मेची महाकालीका जनतातिर मनलाई डुलाऔं। सन्देश र अन्तर्वार्ता भन्दा पनि जनतासँग प्रत्यक्ष साक्षात्कार गरौं। बुझौं, पूर्वाग्रही कार्यकर्ताहरुको झुण्ड बाहेक परम्परागत एकताको प्रतीकको विरोधी जनता छैनन्।