Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

आमाले न्याय खोज्नुपर्ने लोकतन्त्र

१३ सोमबार , बैशाख २०७३९ बर्ष अगाडि

 - धर्मरत्न श्रेष्ठ : 

राष्ट्रपतिमा विद्या भण्डारी, सभामुखमा ओनसरी घर्ती र प्रधानन्यायाधीशमा सुशीला कार्की नियुक्त हुँदैमा आमासमूहले देश सञ्चालन गर्न थाले भनेर नठानौं। किनभने दुईजनाको नियुक्ती राजनीतिक दलको भागबण्डामा भएको हो भने प्रधानन्यायधीशको नियुक्ति बरिष्ठताका आधारमा भएको हो। तथापि सर्वोच्चकै ११ न्यायाधीशको सिफारिसमा राजनीतिक दुर्भावनाको गन्ध बढी अनुभव गरियो। '

यसकारण लोकतन्त्र विधिले सञ्चालन हुन थाल्यो भनेर मान्न सकिन्न। लोकतन्त्र अहिले पनि केही ठूला पार्टीको बन्दी बनेको छ। जबसम्म लोकतन्त्र लोकशाहीका सिद्धान्तमा आधारित भएर परिचालन गर्ने परिपार्टीको विकास हुनेछैन तवसम्म नेपालको लोकतन्त्र नेतातन्त्र भइरहनेछ, न हलो, न मुङ्ग्रोको नियति भोगिरहनेछ। आमनागरिकमा बढेको वितृष्णा यही पार्टीतन्त्रको बिरोध हो। 'ठूलो रुख काटेर न हलो, न मुङ्ग्रो बनाएर चिरियो भने के हुन्छ? त्यस्तै अनुभूमित भइरहेको छ लोकतन्त्र। लोकतन्त्र विश्वव्यापी रुपमा प्रशंसित व्यवस्था हो। लोकतन्त्रको मुख्य विशेषता नै लोकशासन हो, जहाँ मानवाधिकार र व्यक्तिगत हक, हितको पूर्ण स्वायत्तता हुन्छ। तर नेपालको लोकतन्त्र अहिले पनि विभेद भयो, पहिचानको अधिकार पाइएन, केही नेताहरुको जोरजबरजस्ती निरंकूशता लादियो भन्ने दोषबाट मुक्त हुनसकेको छैन। लोकतन्त्रको स्वाद कस्तो हुन्छ, नेतालाई र तिनका कार्यकर्ता वा नातेदारलाई थाहा छ, लोकलाई थाहा हुनैसकेन।

किन? लोकले परिवर्तन गर्ने, लोकले नै भोग गर्न नपाउने? यही प्रश्न हो नेपालको लोकतन्त्र– न हलो भयो, न मुङ्ग्रो भन्ने कहावत बन्यो। परिवर्तनपछि अनुहार फेरिनु पर्छ लोकको, राष्ट्रको। लोक पीडित छन्, विपतमा छन्, सहारा खोजिरहेका छन्। शोषणमा परेका छन्। लोककल्याणकारी शासन व्यवस्था लोकले देख्नै पाएका छैनन्। जता हेर्‍यो उतै कालो भ्रष्टाचार। कालोबजार, कालो न्याय, कालोपन। शुद्ध, स्वच्छ र सहज प्रशासन छैन। यहीकारण लोक लोकशासनबाट प्रताडित भइरहेका छन्। लोकले परिवर्तन ल्याए, परिवर्तनको सबै परिणामहरु नेतातन्त्रले सोहोर्‍यो र हालीमुहाली बन्यो।

आज न्यायालयमा भ्रष्टाचार, जनसम्पर्क हुने सबै कार्यालयमा भ्रष्टाचार, विश्वविद्यालयमा भ्रष्टाचार, गरिवी निवारण कोषमा भ्रष्टाचार। महालेखा परिक्षकको रिपोर्टले नेपाललाई भ्रष्टाचारमय भइसकेको तस्वीर देखाएको छ।

यो तस्वीर भनेको लोकतन्त्रको बिकृत स्वरुप हो। लोकतन्त्र हाँक्नेहरु १० वर्षमै यसरी भ्रष्टाचारी बनेछन्। यिनलाई लोकलज्जा पनि हुन छाडेछ। कुनै बेला जयप्रकाश नारायण सिक्कमका नेताहरुलाई लिएर भन्ने गर्थे– यी कस्ता नेता हुन्, जो देशको सार्वभौमिकता भारतलाई दिन आतूर देखिन्छन्। नभन्दै १९७५ मा लोकतन्त्रको नाटकीय अभ्यास गराएर भारतले सिक्किमलाई आफूमा मिलायो। त्यस्तै अभिव्यक्ति जयप्रकाशले नेपाली नेताका सन्दर्भमा पनि अभिव्यक्त गरेका थिए। जुन समयक्रममा देखिइरहेकै छ। भर्खरै कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि त्यही चरित्रको प्रदर्शन गरेका छन्। सम्बन्ध चाहिन्छ, अर्काको पाउमै लम्पसार पर्ने सम्बन्धले मित्रता होइन, दासता देखिन्छ। लोकतन्त्रका महारथीहरुले दासता देखाउन्जेल लोकतन्त्रमा न्याय खोज्नुपर्ने स्थिति रहनेछ।