Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

दलहरुको मुटु हल्लिनु पर्दैन

२२ बुधबार , बैशाख २०७३९ बर्ष अगाडि

स्वयम्भूनाथ कार्की-

 उधारो गणतन्त्र घोषणा गरेदेखि नै त्यसो गर्ने मतियार दलहरुका संलग्न नेताहरुको मुटु हल्लिएको छ। हावाले पात हल्लिदा पनि राजावादीहरुको चलखेल देख्ने रोग लागेको छ। डढेलो जस्तै यो रोग आफुलाई गणातन्त्रवादी ठान्ने सबैमा सरेको छ। आफ्नो पूर्वाग्रही व्यवहार जस्तै कतै राजाको पनि पुर्वाग्रही व्यवहार भयो भने भन्ने डरले जन्माएको यो रोगबाट अव उनीहरु मुक्त हुनुपर्दछ। किनभने करिव दशक पुग्दा पनि त्यहाँबाट कसैप्रति लेसमात्र पनि पुर्वाग्रह राखिएको देखिएको छैन। बरु यो अवधिमा आफुले अनेकौ पूर्वाग्रहयुक्त व्यवहार निर्विकार भावले सहेको भने छ।

आजको विश्वमा शान्ति कायम राख्न कमजोर शासन भएका मुलुकहरुको कारणले कठिन हुन्छ। विश्वमा आतंकवादका अनेकौ रुपहरु देखापर्दैछन। यस्ता गतिविधि गर्ने समुहको केन्द्र जहाँ भए पनि कानुन व्यवस्था कमजोर भएका मुलुकहरुमा आधार शिविर हुने गर्दछन। त्यसैले यस्ता मुलुकहरु विश्वका शक्ति राष्ट्रहरुको टाउको दुखाई हुने गर्दछन्। ठूला मुलुकका शास्त्रिय चिन्तकहरुले अन्य मुलुकमा प्रभाव विस्तार गर्न तिनलाई अस्थिर गर्ने कार्यविधि अपनाउनु पर्नेमा जोड दिन्छन। यस्ता चिन्तनका आधारमा गरेको सवैजसो काममा ती मुलुकहरुले ठूलो हानी व्यहोर्नु परेको छ। 

यसको पछिल्लो कडी नेपाल भएको छ। हुन त विश्व शान्तिको निमित्त टाउको दुखाई नेपाल मात्र होईन न यो अन्तिम कडी नै हो। परिवर्तनमा हरेक प्रकारको सहयोग गर्ने राष्ट्रहरुले एक दशक समय नेपालमा स्थिरताको आशा गरेकै हुन। परिवर्तनकारी शक्तिको हरेक कुरा आँखा चिम्लेर विश्वास पनि गरेकै हुन। संसार परिवर्तशिल छ, दशबर्ष पहिलेका धेरै परिस्थितिहरु परिवर्तन भई सकेका छन्। आतंकवादको रापले विश्वलाई अन्य कुरा भन्दा आफ्नो सुरक्षा चासोलाई महत्व दिनै पर्ने विवशतामा धकेलिसकेको छ। विश्वमा आफैले अस्थिर बनाएका मुलुकहरुमा अव उनिहरुले चाहे पनि नचाहे पनि स्थिरता ल्याउनु पर्ने नै भएको छ।

यसैले धेरै आपसी सम्वन्धका आधारहरु मनिएका कुराहरु वदलिदै जाँदैछन्। स्वयं नेपालको परिवर्तनकारी भनिएको नेतृत्वका हरेक कुरा पहिले जस्तो आँखा चिम्लेर विश्व मान्न हिचकिचाई रहेको छ। विकल्पहरुको खोजी तिव्र भएको छ। यो कुराबाट ठूलादलका नेताहरु पनि अनभिज्ञ छैनन्, त्यसैले उनीहरुमा थप डर पसेको छ। आफ्नो विकल्पमा विश्वले राजसंस्थालाई हेर्ला कि भन्ने भयको अभिव्यक्ति राजाका पछिल्ला विदेश भ्रमणका विषयमा जनाएका प्रतिक्रिया हुन्। वास्तविकता के हो त्यो अज्ञात नै छ तै पनि गोप्य वैठक भयो र त्यसमा यस्तो भयो भन्ने काल्पनिक विवरण हल्लाका रुपमा आउने गरेका छन्। 

काल्पनिक भन्ने आधार त्यही हल्लामा नै निहित रहेको छ। गोप्य वैठकहरुका हरेक पलको प्रत्यक्ष प्रसारण जस्तो विवरण संभव नै हुँदैन। यदि ती विवरणहरु काल्पनिक नभएर सही हुन भने त्यो वैठक गोप्य हुनै सक्दैन। त्यसैले राजसंस्था फिर्ता भयो भने आफुले जस्तो पूर्वाग्रही काम गर्ला भनेर सोचेर मुटु हल्लाउन हुँदैन। यो दशकमा राजाले सौम्य र पुर्वाग्रह रहित सरल व्यवहार देखाएका छन्। गणतन्त्रका नेताहरुको आग्रहमा उनिहरुसँग तस्विर खिचाएका छन। घण्टौ वसेर समारोहमा आफ्नो आलोचना गरेका वक्ताहरुको भाषण पनि सुनेका छन। आफ्नो जयजयकार र निन्दा दुवै प्रत्यक्ष सुन्दा पनि न जयजयकारले हौसिएका छन न निन्दाले रिसाएका छन।

 यो देश सबैको हो, त्यसैले यो देशको भलोको निमित्त मेरो आवश्यकता कहाँ र कुनरुपमा छ भनेर सोध्नु सहकार्यको चाहाना नै हो। मुलुकको भलोको निमित्त उनको भूमिका निर्धारण गर्नु सबैको भलो हुने बाटो हो। परिवर्तन त अवश्यमभावी छ, अहिले देखिदै गरेको विश्वको प्रतिक्रियाले नेपालमा थप अस्थिरता नचाहेको प्रष्ट हुन्छ। आफ्नो सुरक्षामा चिन्तित विश्वलाई कुनै मुलुकको अस्तित्व रहोस वा नरहोस त्यसको चिन्ता नहुन पनि सक्छ। केवल त्यस स्थानमा स्थिरता चाहिने हुन्छ त्यो जस्तो र जुनरुपको भए पनि केही फरक पर्दैन।

हो, मुलुकमा स्थिरता नेपाललाई पनि चाहिएको छ र विश्वलाई पनि। विश्वलाई कुनै पनि मुल्यमा स्थिरता चाहिएको भए पनि नेपाललाई आफ्नो अस्तित्व कायम हुनु पहिलो शर्त भएको छ। दलहरुको डरले राजसंस्था वर्तमानमा पनि मुलुकको एक शक्ति हो भन्ने प्रमाणित गरिदिएको छ। त्यसैले मुलुकका स्वदेशी शक्तिहरुको सम्मिलनले नेपाल बनाउन तिर दलहरु लाग्नु आजको आवश्यकता हो। यस्तो अवस्थामा राजाले आफुप्रति पूर्वाग्रह राखेका होलान भन्ने डर राख्नु आवश्यक छैन। 

विगतमा पुर्वाग्रह राखेनन् भने भविष्यमा पनि राख्ने छैनन भन्ने अनुमानका धेरै सत्यता छ।  नेपालको अस्तित्व नै धरापमा पर्ने अवस्था आएर आफ्नो भूमिका आफै निधारण गर्नु परेको अवस्थामा आउन नदिनु नै श्रेयस्कर हुन्छ। त्यो अवस्था आएमा दोषीहरुलाई दण्डित गर्नुपर्ने अवस्था आउन सक्छ, तर त्यो पूर्वाग्रह भने होईन। बेलाईतमा ओलिवर क्रमवेलको जस्तो हालत नहोस भनेर दलहरुले सोच्ने वेला भने हो। क–कसले के केसम्म गर्न सक्छन् भन्ने कुरा दलहरुलाई अनुभवले नै ज्ञान होला। अव थप रक्तपात नेपाल आमालाई असह्य हुनसक्छ। थप अस्थिरता त विश्वलाई नै असह्य भईसकेको छ।