Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

राजदूतको भागशान्ति जय नेपाल

२७ सोमबार , बैशाख २०७३९ बर्ष अगाडि

वाशुदेव वाग्ले

परराष्ट्रमन्त्री बनेका महेन्द्रबहादुर पाण्डे चीनका राजदूत बनाइएका छन्। भएछ के भने राजदूत नदिए झुण्डिएर मर्छु भनेछन्। एमालेका अध्यक्ष केपी ओलीको कमलो मन पग्लिएछ, उनी राजदूतमा सिफारिस भएका छन्। यी तिनै पाण्डे हुन्, जसले २०७१ साल चैत ४ गते चीनका परराष्ट्रमन्त्री वाङयीसँग मन्त्रीस्तरमा वार्ता गरेका थिए, अव राजदूत स्तरमा झरेका छन्। यी पाण्डे देशका राजदूत होइनन्, जीवनको उत्तरार्द्धमा सम्मानका साथ बाँच्न चाहन्छन्। वैशाख ७ गते र २५ गते गरी सिफारिस भएका २२ राजदूतहरु थोकमा सिफारिस भएका छन्। राजनीतिक बजारका थोक राजदूतहरुमध्ये परराष्ट्रका ८ कर्मचारीबाहेकका सबै नै कुनै न कुनै पार्टीका झण्डा बोकेर र नेताको चाकरी गरेर सिफारिसमा पर्न सकेका हुन्। देशको झण्डा बोक्नुपर्ने राजदूतजस्तो पदमा पार्टीका झण्डा बोक्नेले नियुक्ति पाएपछि परराष्ट्रनीति खोक्रिदैजानेछ।

राजदूत हुनसक्ने योग्यता के हो? यस विषयमा स्पष्ट केही पनि नीति छैन। करियर डिप्लोम्याट राजदूत हुनु स्वभाविक हो। जसले डिप्लोम्याटको अर्थ नै बुझेको छैन, चर्को नारा लगाएका भरमा राजदूत हुन्छ, उसले देशको प्रतिनिधित्व कसरी गर्नसक्छ? यो विषयमा भागबण्डातन्त्र चलाउनेले कहिले विचारै गरेनन्। लाग्छ, राजदूतपद आराम गर, नेता आएका बेलामा मार्केटिङमा सघाउ भन्ने पद बन्न पुगेको छ। देशको प्रतिनिधित्व कसले गर्नसक्छ र देशका लागि कसले योगदान दिनसक्ने ल्याकत राख्छ भनेर हेर्ने प्रचलन नै भएन। नेताको घरघरमा दौडिएर राजदूत बन्न हिडेका व्यक्ति देख्दा शरम पनि शर्माउन पुगेको देखियो।

सक्रिय राजनीतिबाट थाकेका र निर्वाचनमा जाने हिम्मतै नगर्ने पात्रहरु जस्तै महेन्द्रबहादुर पाण्डे, युवराज कार्की, निरञ्जन थापाहरु आफ्ना पार्टी अध्यक्षलाई कुनै न कुनै गुण लगाएर सिफारिसमा परेका हुन्। यिनको ल्याकत देखिसकियो। थाकेकालाई विश्राम गर्न पठाउने चौतारी बन्यो राजदूतको पद।

दक्ष र योग्य पात्रलाई राजदूत बनाउने हो भने देशले आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, स्वास्थ्य, विकासमा राम्रै उपलव्धि हासिल गर्नसक्थ्यो। २०६३ सालको परिवर्तनपछि जे जतिराजदूतहरु बने, ती सबै निकम्मा बने। यहाँसम्म कि कतारमा राजदूत बनाइएका हमिद अन्सारीले त एमालेको नाकै काटिदिए, उनले मरेका नेपालीले पाउने विमा रकमसमेत हजम गरिदिए। पार्टीका चयनमा परेका राजदूत भनेका यस्तै खञ्चुवा हुन्, जो पिण्डदानसमेत छाड्दैनन्। यस्ता राजदूतले देश र विदेशको सम्बन्ध कसरी मजबुत पार्छन्? कतिपय राजदूत र दूतावासका कर्मचारी आज पनि विश्वभरि छरिएर रहेका वैदेशिक रोजगारीमा गएका ६० लाख युवायुवतीको शोषण गर्न चुक्दैनन्। यथार्थमा ती नेपालीका स्थानीय संरक्षक बन्नुपर्ने राजदूत शोषक बनिरहेका छन्।

र, राजदूत देशप्रति जिम्मेवार हुनुपर्छ कि नियुक्त दिने पार्टीप्रति? सरदार यदुनाथ खनालले भनेका थिए– राजदूतको तीन काम हुन्छ। पहिलो आफ्नो देशप्रति बफादारी, दोस्रो गएको देश र आफ्नो देशबाट गएका नागरिकप्रतिको जिम्मेवारी र तेस्रो आतिथियी देशको सम्मानभाव। अहिले नियुक्तीका लागि सिफारिस भएका राजदूतहरुले खनालका बचनलाई मनन गरेका छन्?