Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नेपाली कांग्रेस र राजसंस्थाको सम्बन्ध

२७ सोमबार , बैशाख २०७३९ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की

'नेपाल भारतकै अभिन्न भाग हो। तसर्थ, भारतीय माटोमा हुने जुनसुकै कुराबाट पनि नेपाल पूर्णरुपमा प्रभावित हुन्छ। त्यस वास्तविकताले गर्दा नेपालको समस्याको जड पनि भारत नै भएको छ। पहिले र अहिले सञ्चालित नेपाली संगठनले नेपालीहरुको जिम्मेवारीको यस पक्षमा पर्याप्त दृष्टि पुर्‍याउन नसक्नु दुखद् पक्ष हो। भारतको स्वतन्त्रताप्राप्तिको जीवन–मरणको लडाईमा धेरै नेपालीले व्यक्तिगत रुपमा भाग लिएको भए पनि सङ्गठनकै रुपमा भने भाग लिएका छैनन्। त्यसले गर्दा यसबेला नेपाल र भारत दुवैतर्फ विचार पुर्‍याउने किसिमको नेपालीहरुको अखिल भारतीय सङ्गठनको अत्यन्त खाँचो छ।'

यो २ अक्टुबर १९४६ (१६ असोज २००३) मा पटनाको द सर्चलाइटमा प्रकाशित बीपी कोइरालाको 'अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस' गठन गर्न गरिएको आव्हान पत्रको एक भाग हो  (आत्मवृत्तान्तमा ४ अक्टुवर भनिएको छ)। यस आव्हान अन्तरगत भएको बैठकमा नेपालबाट गएका धेरैले प्रत्यक्ष भाग लिएनन्। संभवत उनीहरुलाई संगठनको नाममा भएको 'अखिल भारतीय' शव्द पचेको थिएन। संगठन बन्दा ती शव्द हटेर 'नेपाली राष्ट्रिय कांग्रेस' मात्र रह्यो। बैठकमा शुभकामना दिने भारतीय नेताहरुले भाषणमा नेपाल भारतको भाग हैन स्वतन्त्र मुलुक हो भन्ने अभिव्यक्ति दिएपछि मात्र नेपालबाट गएकाहरु संगठनमा लागे।

गठनसँगै पैदा भएको यो स्पष्ट दुई धार थियो, जसको अवशेष वर्तमानसम्म पनि छ। सम्वोधन मै 'बाबु' र 'जी' लगाएर जीवित रहेको यो प्रचलन वर्तमानमा भने त्यसरी देखिने गरेर कायम छैन। तर कांग्रेस कार्यकर्ताहरुमा अहिलेसम्म पनि त्यो विभाजन रेखा स्पष्ट देखिन्छ। जे होस यो संगठनले गरेको राणाविरोधी अभियानलाई नेपाली जनसाधारणको साथ भने भएन। जुटमिलको आन्दोलनमा नेपाली रमिते भए भने जयप्रकाश, लोहिया जस्ता नेताले नेहरुलाई हस्तक्षेपको निमित्त कडा अनुरोध गर्दा पनि त्यो हुन सकेन। 

क्रान्तिमा राजाको संलग्नता अनिवार्य भयो। राजालाई संलग्न गराउन कत्रो मेहेनत गरियो भन्ने कुरा वीपीले आत्मवृत्तान्तमा उल्लेख गरेका छन। हेलिकप्टरबाट राजपरिवारलाई लगेर पाल्पा पुर्‍याउने र समानान्तर सरकार गठन गर्ने योजना तुहियो। छापामार शैलिमा राजालाई पैदलै भगाएर ल्याउने गएको टोली पक्राउ पर्‍यो। राजा भारतीय दुतावासमा गएपछि जयप्रकाश र लोहियाको निर्देशन अनुसार वीपीले वक्तव्य दिए। यसले नेपाली जनतालाई कांग्रेसको क्रान्ति राणाविरुद्ध वदला लिने कुरा मात्र नभएर राजाको पनि साथ रहेछ भन्ने पर्‍यो। बल्ल कांग्रेसले नेपाली जनताको साथ पायो।

स्नातक भएकाहरुले सगर्व आफ्नो नामको पछाडी बिए लेख्ने त्यस वेलाको विश्वमा वीपीको योग्यता राष्ट्र निर्माणमा लगाउन राजा त्रिभुवन र राजा महेन्द्र हमेशा प्रयत्नशील भै रहे। तर नेपाली कांग्रेसले भने हमेशा राजाहरु भन्दा ज्यादा महत्व नेहरुलाई दिएको कुरा आत्मवृत्तान्त पढेमा सजिलै अनुभव हुन्छ। राजाले कति चोटी त 'विदेशको प्राइममिनिस्टरलाई किन कुरा लगाउनु पर्‍यो? मलाई नै भनेको भए भै हाल्थ्यो नि' भन्नु परेको पनि थियो। जे होस बाहिर भने नेपाली कांग्रेसले राजालाई कठिन समयमा साथ दिएको भ्रम भने कायम रह्यो। त्यसैले कांग्रेसले हमेशा पारम्परिक सोचका मध्यमवर्गको साथ पायो।

सत्र सालको घटनामा पनि राजा मान्नेहरु धेरैले आफुलाई परेको वेलामा साथ दिने कांग्रेसलाई राजाले त्यसो गर्नु हुन्न थियो भनेर सहानुभूति राखे। नेपाली कांग्रेसको सम्पूर्ण छवी राजसंस्थाको साथ पाएकोले बनेको थियो। त्यसैले 'राजसंस्थालाई काँधमा बोकेको' भन्ने कुरामा विश्वास गरे। यसको गहिराईमा जाने कसैले ठानेन। न राजसंस्थाले नै यस कुरालाई प्रष्ट्याउन चाह्यो। मिलेरै देशलाई उन्नत बनाउन सकिन्छ भनेर पर्खेर नै बस्यो। कांग्रेसको सरकार अपदस्त गर्दा समेत उसले गरेको नियुक्ति उल्टाएन। राज्यका सबैजसो ठाउँमा खाँटी कांग्रेसको निरन्तरता हमेशा रह्यो।

जवदेखि कथित काँधको बोझ कांग्रेसले फालेको भन्यो तबदेखि उसको प्रतिष्ठा निरन्तर ओरालो लाग्दैछ। नेपालका पारम्पारिक मध्यमवर्गको विश्वास गुमाउने क्रममा छ। वामपन्थीहरु कांग्रेस मुक्त नेपाल बनाउने अघोषित अभियानमा छन्। नेतृत्व आफ्नै कार्यकर्ताहरुबाट पनि आलोचित हुँदै छ। जो परिस्थिति उसले भोग्दै छ त्यसले जो संकेत गरेको छ त्यसले कांग्रेस भ्रममा रहेछ भन्ने सावित गर्दैछ। कांग्रेसले राजसंस्था काँधमा बोकेको हैन राजसंस्थाको नामले कांग्रेस थामेको रहेछ भन्ने कुरा समयले बताउन शुरु गरेको छ। 

यो कुरा धेरै कांग्रेसीहरुलाई अपच हुनसक्छ , विश्वास नलाग्न सक्छ। तर वर्तमानका घटनाहरुले भने यही संकेत गरेका छन्। प्रथम राष्ट्रपति हुने लोभमा गरिएको गलत निर्णयले कांग्रेसले टेक्ने र समाउने स्थान नै गुमाएको छ। विरोधीहरुले कांग्रेस गणतान्त्रिक हो भन्ने कुरा पत्याएका छैनन्, समर्थक मतदाताहरु कांग्रेसले राजसंस्थालाई धोका दिएको मान्छन्। यस्तो परिस्थितिमा नेपाली कांग्रेस भित्र बृहत वैचारिक मन्थनको आवश्यकता छ। स्थापनाकालदेखिको हरेक कुराको समलोचानात्मक अध्ययन गरेर बाटो निर्धारण गर्न सकेन भने छिटै नेपाली कांग्रेस इतिहासको पानामा सिमित हुनेछ।