शाश्वत शर्मा
भारु, डलर र गुण्डागर्दीको बलमा जबरजस्ती लादिएको यो गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता आफ्नो अन्तिम पडावमा छ। भन्नैपर्दा एउटा सशक्त र संगठित धक्का पर्यो भने यो गर्ल्यामगुर्लुम ढल्नेछ। जग बलियो भएन भने घर बलियो हुन्न भनेको यही हो। खोक्रो जगका कारण गणतन्त्र नेपाल कमजोर देखिन्छ।
०६२–६३ को जनआन्दोलन र ०६५ साल जेठ १५ को गणतन्त्र घोषणा नै बेइमानी थियो भन्ने कुरा अहिले आएर पुनपुष्टि हुँदैछ। प्रजातन्त्र, लोकतन्त्र जे नाम दिए पनि, त्यसका हिमायती हौं भन्नेहरुले त्यसबेला र त्यसपछि अहिलेसम्म लोकतान्त्रिक आचरण र व्यवहार देखाएनन्। फलतः, गत असोज ३ गते एकतर्फी रुपमा जारी गरिएको संविधान कार्यान्वयनतिर होइन कि अवसानतिर लम्कदो छ। कसैले माने वा नमाने पनि आजको यथार्थ यही हो। किनभने यो संविधानले सबैलाई समेट्न नै सकेन। राजाको रिसमा हिजो जनयुद्ध वा रत्नपार्क केन्द्रित आन्दोलन गर्नेहरुका लागि मात्र संविधानको निर्माण गरी जारी गरियो। एनजीओ, आइएनजीओहरुमा काम गर्नेहरु, त्यहाँका तलवीहरुको रेखदेखमा र निर्देशनमा बनाइएको यो संविधानको मुख्य उद्देश्य नै नेपाल र नेपालीको अस्तित्वलाई नामेट गर्नु हो भन्ने बुझिसकेका नेपाली जनता अव एउटा दह्रो र राष्ट्रवादी नेतृत्वको पर्खाइमा छन्। २०६२–६३ सालमा गल्ती गरिएकै थियो भन्ने चेतनाको विकास दशवर्षपछि आएर भएता पनि त्यो गल्तीलाई पुनः सच्याउनका लागि नेतृत्व लिने व्यक्तिको खाँचो टड्कारो रुपमा देखिएको छ। खासगरी हिजो जसजसले यो राष्ट्रघाती कदमका विरुद्धमा आवाज उठाएका थिए, तिनीहरु अहिले आएर सत्ताका लागि उतैतिर मिसिन गएपछि यताको राष्ट्रवादी आन्दोलन झन असहाय हुन पुगेको छ। एकथरिको विचारमा यदि मुलुक बचाउने हो भने (अव यहाँनेर व्यवस्थाको कुरो भएन) सम्पूर्ण नेपालीहरुले अझै पनि विश्वास गर्ने पूर्वराजा खुद आफै मैदानमा ओर्लनैपर्छ। खासगरी बिना नेतृत्व अगाडि आउने बानी नपरेका नेपालीहरुलाई एउटा न एउटा नेता चाहिन्छ नै। पूर्वराजाले चाहे आव्हान गरुन् वा चाहे आफै नेतृत्व लिई सडकमा ओर्लिउन्। यो दुई मध्ये एक काम गर्नैपर्छ।
भ्रष्टाचार, अन्याय, अच्याचार आदि इत्यादि बरु सहने तर नेताले नसुर्याईकन केही पनि नगर्ने बानी परेका नेपाली जनता आफै सडकमा त ओर्लदैनन्। कालोबजारी, महँगी, असुरक्षा, अभाव बरु झेल्छन्, ...नेता नभई कोही पनि सडकमा उत्रदैनन्। भन्नुपर्दा ०४६ सालपछि अझ ०६२–६३ सालपछि यहाँ नेपाली जनता नै छैनन्। सबका सब एक एक वटा पार्टीका कार्यकर्ता भैसके। अव कार्यकर्ता भैसकेपछि बिना नेता, कहाँ उत्रन्छन् र? नेता नै यी सब बिकृतिका कारक हुन् भने तिनले यी सबका विरुद्धमा आन्दोलनमा उत्रन आफ्ना कार्यकर्ताहरुलाई किन यो आह्वान गरिरहन्थे र?
...भन्नुको तात्पर्य मुलुकको अस्तित्वको सवालमा अव धेरै ढिलो गर्नु भएन। यी राजनीतिक दलहरुले देश चौपट पारेका हुन्, यी नेताहरुले आ–आफ्नो स्वार्थका लागि मुलुकलाई रसातलमा पुर्याएका हुन् भन्ने सबैले बुझेका छन्। तर...फेरि उही माथि उल्लेख गरिएझैं, एउटा दह्रो, विश्वासिलो नेता जसले नेपालीहरुलाई हाँक्न सकोस्, त्यसको नितान्त अभाव देखिन्छ।