स्वयम्भूनाथ कार्की-
आजको नेपालको शुरुवात काठमाण्डौमा गोरर्खालीहरुको विजयलाई मान्ने गरिन्छ। यसो हुँदा सन २००८ मा राजा ज्ञानेन्द्रलाई पाखा लगाएको अनि नेपालको शुरु भएको बर्ष सन १७६९ बिच दुई सय अड्तीस बर्षको कालखण्ड हुन आउँछ। भन्ने गरिएको २४० बर्ष नेपाल एकिकरणको उमेर हो , गणतन्त्र भनिएको समयलाई पनि जोडेर वर्तमानमा अढाई सय बर्ष भनेर गाली गरिदैछ। यो नेपालको अस्तित्वलाई नै गाली गरेको हो, दुखको कुरो त यो छ कि यसरी गाली गर्नेमा अहिले नेपालको सत्ता सञ्चालन गरिरहेकाहरु अग्रपंतीमा छन्।
यो कालखण्डमा राम्रा काम हुन नसकेको अनि भएका नराम्रा कामको जिम्मेबारी एकोहोरो रुपमा शाहवंशलाई दिएर नयाँ पुस्तालाई नेपाली हुनु अभिशाप हो भन्ने मन्दबिष खुवाईदैछ। यस कालखण्डमा राम्रा काम फिटिक्क नै भएनन् केही भएका भए पनि त्यो अरुले नै गरेको भन्ने कुरा पत्याउन युवा पिढी बाध्य छ। यस्ता प्रचारलाई राजा वीरेन्द्रको शासनकालदेखि पुनर्स्थापना भएको दरवार बरिपरीको प्रभावशालीहरुको पर्खालले मलजल गरेको छ।
शिशु राजा रणबहादुर शाहको पालादेखि बन्न शुरु भएको यो पर्खालले गर्दा नेपालको इतिहासमा हमेशा दाग लगाउने काम गर्यो। दुर्भाग्यवश त्यस बेलादेखि नेपालले लगातार शिशु राजा ब्यहोर्नु पर्यो। राजा सुरेन्द्र युवा भए पनि केटाकेटी अवस्थादेखि नै जंगवहादुर राणाको प्रभावमा थिए। उनले जंगवहादुरको निमित्त आफ्नै बुबा राजा राजेन्द्रलाई थुनामा राख्न पनि हिचकिचाएनन्। युवराज त्रैलोक्यको युवाअवस्थामा मृत्यु भए पछि त एक शताव्दी नै १० बर्ष नपुगेका राजा गद्धिमा बसे।
राणाहरुको नियन्त्रणमा बाहिरी दुनियासंग सम्पर्क विहिन भएर बस्नु परेका शाहराजाहरु आलंकारिक राजा मात्र थिए। दरवारको त्यो पर्खालले श्री ३ को पदवी धारण गरेर आफुलाई बलियो बनाउने मौका पाएको थियो। यसलाई राजा त्रिभुवनले केही भत्काउन खोजेका थिए। तर राणाको पर्खाल भत्काए पनि तैयार हुँदै गरेको नयाँ पर्खाल उनले देख्न सकेनन्। वीपी कोईरालाले आफ्नो नीजि सचिव हुन नेहरुसंग मागेर ल्याएको गोविन्द नारायणलाई दरवार घुसाए। भारतलाई नेपालमा नियंत्रणात्मक सल्लाह दिने यो असरदार औजार बन्यो।
दरवारमा जरा गाडेर नेपालमा फैलदै गरेको यो भारतिय प्रभाव कस्तो थियो भन्ने कुरा वीपीको आत्मवृत्तान्तमा अध्ययन गर्न पाईन्छ। भारतले त दरवार नियन्त्रण गर्न खोजेको वेला परंपरागत पर्खालले टाउको नउठाउने त कुरै भएन। तर राजा महेन्द्रले कुशलतापूर्वक र मुलुकलाई पर्ने प्रतिकुल असरलाई कम पारेर भारतको फैलदै गरेको पञ्जाबाट मुक्त गरे नै स्वदेशी पर्खाललाई पनि पूर्ण नियन्त्रणमा राखे।
सन १७७७ मा दुईबर्षे रणबहादुर शाह गद्धिमा बसेको समयदेखि शुरु भएको राजा थपनाको युग राजा महेन्द्रले सन १९९० तिर करिव १८३ बर्ष पछि तोडे। यो समयमा १०४ बर्ष राणाहरुले एकलौटी पर्खालको भुमिका निर्वाह गरे पनि बाँकी ७९ बर्ष रानीहरु, विभिन्न भारदार खलक र केही हिस्सा राजनीतिकर्मीहरुको भागमा पनि पर्न आउँछ। तर यसको करिव सोह्र बर्ष अर्थात १९७६ तीर नै राजा विरेन्द्रले फेरी राजा खोपीमा रानी सत्तामाको अबस्था शुरु गरे। महेन्द्रले भत्काएको राजा र जनता विचको पर्खाल फेरी अझ मजवुत भएर आयो। यो परिस्थिति यत्तिसम्म खराव भयो कि राजा त्रिभुवनको साखा सन्तान नै झण्डै समाप्त भएको थियो।
यस अबस्थामा परिवार समाप्तीको पिडामा केहीले लगाएको लान्छना समेत थपेर राजा ज्ञानेन्द्र सत्तामा बसे। त्यसवेला सर्वसाधारणले सामाजिक जीवन शुरु गरिसकेका ज्ञानेन्द्रले त आफु र राजा विचको पर्खाल छिचोल्लान भन्ने आशा गरेका थिए। केही त्यस्ता लक्षण नदेखिएका पनि होईनन्। तर केही समय शिथिल भएर ढल्ला कि भने जस्तो भएको पर्खाल अझ मजवुत भएर आयो। पर्खाल पारीका जनताको ईच्छा चाहनाको गलत अर्थ लगाईयो र एक्कईसौं शताव्दीमा मध्ययूगको जनतामाथी संचार, समाचार सबै बन्द गर्ने काम गराउन यी चाटुकारहरु सफल भए।
यो कठिन समयमा साथ दिन त परै जाओस एक वचन सहानुभुतीको समेत निकल्न उनीहरुले सकेनन्। रातारात गणतन्त्रवादी वन्ने वा दुला परेर लुक्ने होड चल्यो। यसरी यो पर्खाल आफ्नो स्थानवाट हट्यो। राजाले जनता र जनताले राजा प्रत्यक्ष देख्न पाए। राजतन्त्रलाई आफुले गलहती लगाउँदा समेत प्रतिकारको एक शव्द पनि सुन्न नपरेकोे शक्ति राजतन्त्र पाखा लागेपछि राजाको वरीपरि झुम्मिन पुगेका जनसमुह देखेर छक्क पर्यो। राजापरिवारलाई धेेरै ठाउँ जानमा रोक लगाईयो।
रणवहादुर शाह भन्दा पहिलेको आठ बर्षको शाहवंशको प्रत्यक्ष शासन भएको मान्न सकिन्छ। शासन व्यवस्था बदलिंदा त दशकौ संक्रमणकाल मान्नेहरुले एकिकणको लगत्तै पछिका ८ बर्षमा स्थिरता खोज्न सुहाउने कुरा हैन। तैपनि जोडिएका बाईसे चौबीसे राज्यहरुका मौलिक परिचयको (पहिचान) सम्मानपूर्वक समिश्रण त्यही कालमा भएको थियो। यसैको कारणले आज लिम्वुवान भनेर झण्डा उचाल्ने विदेशमा आफुलाई नेपाली अझ गोर्खाली भन्न गौरव गर्छ। प्रविधिक रुपमा पञ्चायतको करिव तीस बर्ष राजाको हातमा शासन भए पनि राजा महेन्द्रको ११ बर्ष र वीरेन्द्रको पहिलो पाँच बर्ष राजाहरुले शासन चलाएको अवस्था हो। तै पनि स्वेच्छाले खोपीको शासन स्विकार गरेकोले तीसबर्षको जवाफदेही राजाहरुमा जान्छ।
राजाका भाईहरुले दाजुको शासनमा रुची लिनु विद्रोह सरह हुन्छ। त्यसैले राजा ज्ञानेन्द्र शासन भन्दा अलग भएर बसेका थिए। उमेरले परिपक्व भए पनि शासनको ज्ञानमा शिशु नै थिए। कठिन परिस्थिति सम्हाल्न साथ दिनुपर्नेहरु इमान्दार हुन सकेनन्। तै पनि उनले प्रत्यक्ष शासन गरेको १९ महिना या पुगनपुग २ बर्ष राजाकै जवावदेहितामा जान्छ। यसरी पहिलेको ८, पञ्चायतको ३० र पछिल्लो २ गरेर ४० बर्ष नेपालमा शाहवंशको प्रत्यक्ष शासन रह्यो। बाँकी २ सय बर्षको र शरमै पचाएर गणतन्त्र घोषणा पछिको दश बर्षको पनि दोष शाहवंशलाई दिनु कति उचित छ।