Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

इतिहास भन्छ– बुद्धथलो लुम्बिनी फा सियानले पत्ता लगाएका हुन्

२८ शुक्रबार , चैत्र २०८१२० दिन अगाडि

इतिहास भन्छ– बुद्धथलो लुम्बिनी
फा सियानले पत्ता लगाएका हुन्

बुद्धज्ञानीहरू भन्छन्– बौद्ध धर्म सन् ६७ मै चीन पुगिसकेको थियो र विस्तारै लोकप्रिय पनि हुन थालेको थियो । सुरूमा गौतम बुद्धले के भनेका थिए, त्यसैबारे भ्रम थियो । यस्तोमा एकजना चिनियाँ भिक्षु फा सियान निस्के, बौद्ध धार्मिक यात्रामा । उनको त्यही यात्रा बन्यो बुद्ध इतिहासको भरपर्दो स्रोत । लगभग १ हजार ६ सय वर्षअघि उनले गरेको कपिलवस्तु र लुम्बिनीको भ्रमण आधुनिक नेपालको इतिहासकै लागि पनि अद्वितीय छ । नेपाली भूमिको धार्मिक यात्रा गर्ने उनी ऐतिहासिक कालका पहिलो चिनियाँ हुन् भन्दा हुन्छ । बुद्धबारे जान्न यो इतिहास पढुन् ।
फा सियानभन्दा अगाडि पनि बौद्ध धर्मको अध्ययनका लागि केही चिनियाँ भिक्षुले आफ्नो देश छाडेका थिए, तर उनीहरूले आफ्नो यात्रा विवरण लेखेनन् । यिनकै यात्राका कारण गौतम बुद्धको जन्मस्थल लुम्बिनी आधुनिक नेपालमा पर्छ भनेर पत्ता लगाउन र प्रमाणित गर्न ठोस आधार मिलेको हो । गौतमवीर बज्राचार्यका अनुसार ‘फा सियानले आधुनिक नेपालका लागि लगाएको सबभन्दा ठूलो गुण नै यही हो । पछि त्यसैको आधारमा अरू चिनियाँ बौद्धभिक्षुले यात्रा गरे लेखे ।’
फाको जन्म चीनको सान्सी प्रान्तमा भएको थियो । उनको धार्मिक यात्राको समय सन् ३९९ देखि ४१४ लाई मानिन्छ । उनले दक्षिण एसियाको धार्मिक यात्रामै १६ वर्ष बिताएका थिए । त्यस क्रममा बौद्ध धर्मको गहन अध्ययन गरे र ठेलीका ठेली प्रमाणित बौद्ध ग्रन्थ चीन लगे । स्वदेश पुगेपछि उनले आफ्नो यात्रा विवरणका रूपमा लेखेको प्रसिद्ध पुस्तक हो, ‘बौद्ध राज्यको विवरण’ ।
खण्डहर कपिलवस्तु ः
फा सियान श्रावस्तीबाट लुम्बिनी पुगेका थिए । त्यस क्रममा उनले काश्यप बुद्ध, क्रकुछन्द बुद्ध र कनकमुनि बुद्धको जन्मस्थल देखे । त्यसपछि कपिलवस्तु नगर पुगे । बज्राचार्यले लेखेका छन्, ‘नगरमा न राजा त प्रज्ञा नै थिए । नगर पूर्ण रूपले खण्डहर र उजाड स्थितिमा देखेका थिए । केही श्रवण र दस घर परिवार आदिवासी मात्र उनले त्यहाँ देखे । राजा शुद्धोदनको प्राचीन तिलौराकोट दरबारमा उनले केबल कुमार र मायादेवीको मूर्ति मात्र देखेका थिए ।’
लुम्बिनी यात्राको विवरणमा फा सियानले लेखेका छन्, ‘यहाँ महारानीले एउटा कुण्डमा नुहाएकी थिइन् । त्यसपछि कुण्डबाट उत्तर कुना भएर माथि उत्रिनु बीस पाइला जति पर पुगेर हातले एउटा वृक्षको हाँगा पूर्व दिशा फर्केर समाइन् । यसपछि कुमारलाई जन्म दिइन् ।’ त्यस क्षेत्रमा घनाजंगल रहेको हुनाले यात्रीले बुद्धको अस्ति धातु राखिएको स्तूप देखेको फाको किताबमा उल्लेख छ ।
उसबेलाको लुम्बिनी ः सन् १८९६ डिसेम्बरमै मात्र हो, गौतम बुद्धको जन्मस्थान लुम्बिनी हो भनेर फेरि पत्ता लागेको । सन् १८०० तिर युरोपतिर बौद्ध धर्म लोकप्रिय हुन थालेको थियो । केही युरोपेली भाषामा प्रमुख बौद्ध साहित्य पनि अनुवाद भए । बौद्ध धर्मबारे थप खोजी हुने क्रम सुरू भयो । लुम्बिनीसँगै बुद्धगया, सारनाथ र कुशीनगरबारे पनि खोजी सुरू भए । पालि साहित्यसँगै फा सियान र स्य्वीयान चाङ (कतिपयले हुएन साङ पनि भन्ने गरेको) को यात्रा विवरणको आधारमा लुम्बिनीको खोजी भएको हो । लगभग आठ सय वर्षसम्म यसको स्थिति अज्ञात रह्यो । त्यस बीचमा के भएको हुनसक्छ भनेर इतिहासकारहरूले थरीथरीको अनुमान गरेका छन् । स्य्वीयान चाङ लुम्बिनी पुग्दासम्म त्यस बेला त्यहाँ मानवबस्ती धेरै पातलिसकेको थियो । पछि त यो घनाजंगलमा परिणत भयो । इतिहासकार भुवनलाल प्रधानका अनुसार त्यस समयमा त्यहाँ ठूलो भोकमारी चलेको हुन सक्छ । बाढी आएको पनि हुन सक्छ । अथवा भयानक आगलागी भएर बस्ती नष्ट भएको अनुमान पनि गरिन्छ ।
यस्तै कुनै प्राकृतिक प्रकोपका कारण लुम्बिनी त्यति लामो समय सबैको जानकारी बाहिर रह्यो । फा सियानकै भ्रमण र उनले लेखेको पुस्तकबाट प्रेरित भएर सातौं शताब्दीमा स्य्वीयान चाङले लुम्बिनीको भ्रमण गरे र लुम्बिनीका विषयमा नयाँ नयाँ थप जानकारी छाडेर गए । फाले आफूले गरेको भ्रमणका क्रममा खासखास स्थानमा कुनै न कुनै चिह्न छाडेर गएका थिए । ती पदचिन्हहरूले पनि बुद्ध र लुम्बिनीबारे यथार्थ बोल्छन् । यसले उनीपछिका चिनियाँ यात्रीलाई सजिलो भएको थियो ।
बुद्धभद्रसँग सहकार्य ः फा सियान चीन फर्केयता नानचिङमा उनको भेट भयो, बुद्धभद्रसँग । यी दुई बौद्ध विद्वान् मिलेर संस्कृतबाट धेरै बौद्ध दर्शकका सूत्र चिनियाँ भाषामा अनुवाद गरे । त्यसमध्ये सबैभन्दा प्रसिद्ध ग्रन्थ हो– महापरिनिर्वाण सूत्र । चिनियाँ भाषामा लेखिएको एउटा ग्रन्थ छ– गो सेङ चुआन । यसको अर्थ हुन्छ, प्रमुख बौद्ध भिक्षुको जीवन । यसमा बुद्धभद्रको जीवनी पनि उल्लेख छ । चिनियाँहरू उनलाई आफ्नो भाषामा च्वेस्यान भन्थे । त्यस पुस्तकमा राम्रोसँग के उल्लेख छ भने बुद्धभद्रको जन्म कपिलवस्तुमा भएको थियो । उनी शाक्यवंशी राजा अमृतोदानका वंशज थिए । अमृतोदान गौत्तम बुद्धका नातेदार हुन् । इतिहासकार विजयनारायण मानन्धरको ठहर छ, सम्भवतः बुद्धभद्र चीन पुग्ने पहिलो त्यस्तो ऐतिहासिक व्यक्ति हुन्, जसको जन्म आधुनिक नेपालमा पर्ने भूभागमा भएको थियो । यिनै फा सियान र बुद्धभद्र मिलेर चीनमा बौद्ध धर्मको विकास र प्रचारका लागि धेरै सहकार्य गरे, जसको चर्चा अहिले पनि भइरहेको छ । उनी बुद्धधर्म प्रचारका यी शिखर पुरूषमध्येकै हुन् भनेर मान्नुपर्छ ।             –डा. विनिता