स्वयम्भुनाथ कार्की -
आफ्नो देशको हितलाई सर्वोपरि मान्ने वाद राष्ट्रवाद हो। देशभक्ति राष्ट्रवादको अनिवार्य र आवश्यक न्यूनतम शर्त हो। अझ भन्ने हो भने देशभक्ति र राष्ट्रवाद पयार्यवाची शब्द हुन। राष्ट्रवाद विहिन जनताको वाहुल्य भएको राष्टलाई आफ्नो अस्तित्व कायम राख्न कठिन पर्दछ। यसैले सबै नागरिक आफ्नो देशलाई माया गर्ने राष्ट्रवादी हुन भन्ने मान्यता राख्नेलाई आश्चर्य चकित पार्दै राष्ट्रवादलाई वर्गिकरण गर्ने अनौठो चलन चलेको छ।
आफु राष्ट्रवादी नभएको कुरा कोही स्विकार गर्न चाहँदैन र स्विकार गरिनु पनि हुँदैन। किनभने जो आफ्नो देशलाई माया गर्दैन उ कसैलाई पनि माया गर्न सक्दैन र कसैलाई पनि माया गर्न नसक्ने मान्छे मान्छे नै होईन। यति हुँदा हूँदै पनि राष्ट्रवादलाई अन्धो वा आँखा देख्ने भनेर वर्गिकरण गर्ने र आफु अन्धो राष्ट्रवाद नमान्ने कुतर्क पेश गरेर आफैलाई धोका दिने डेढ अक्कलीहरुको जमात बढेको पाईन्छ। यस जमातका मध्ये कसैलाई पनि अन्धो राष्ट्रवाद भनेको के हो? भनेर सोध्यो भने सामन्यतया अर्को देशलाई अपमान गर्ने राष्ट्रवादलाई अन्धो राष्ट्रवाद भनेको भन्ने जवाफ पाईने गर्दछ।
आफ्नो देशको जन्मदिने आमा सरह इज्जत, मान गर्ने तथा माया गर्नेहरु राष्ट्रवादी हुन र उनीहरुको यो भावना राष्ट्रवाद हो। आफ्नी आमाको मान गर्ने र आफ्नी आमालाई माया गर्ने कुरामा अर्काकी आमाको अवहेलना गर्ने प्रश्न नै कहाँ उब्जिन्छ? आफ्नी आमाको माया गर्न अर्काकी आमाको उछित्तो काड्नु पर्ने आबश्यकता नै किन पर्छ? आफ्नो देशको माया गर्दा पराई देशको अकारण खोईरो खन्नु पर्ने कुरा राष्ट्रवादको कुनै परिभाषामा पर्दैन।
आफ्नो देशको भक्ति गर्नेले पराई देशको पनि ईज्जत गर्न स्वभाविक रुपले जानेको हुन्छ। अर्काको राष्ट्रवादलाई इज्जत गर्न नसक्नेले आफ्नो देशलाई पनि माया गर्न सक्दैन। तसर्थ पराई देशलाई अकारण द्वेश गर्ने भावना राष्ट्रवाद किमार्थ पनि होईन। जव यो भावना राष्ट्रवाद नै होईन भने अन्धो राष्ट्रवाद भनेको के हो? राष्ट्रवाद केवल राष्ट्रवाद मात्र हो। यो अन्धो वा आँखा भएको, कानसुन्ने वा वहिरो केही पनि हुँदैन, फगत राष्ट्रवाद हुन्छ। आफ्नो देशलाई माया गर्ने, आफ्नो देशको हितको चिन्ता गर्ने, आफ्नो देशको उन्नति चाहने वा गर्ने, आफ्नो देशको रक्षा गर्ने भावना नै राष्ट्रवाद हो।
राष्ट्रवादले अरुलाई अकारण घृणा गर्न भन्दैन तर आफ्नो राष्ट्रको अस्मिता, सुरक्षा तथा मान―सन्मानमा चोट पुर्याउन खोज्ने आन्तरिक वा बाह्य तत्वसंग संघर्ष गर्न हमेशा तैयार रहन प्रेरित गर्छ। कुनै देश बिशेषको बिरोध राष्ट्रवाद होईन भने कसैको डर, धाक, लोभ वा लालचले देशलाई परेको चोटको परवाह नगर्नु झन कसरी राष्ट्रवाद हुनसक्छ? कुनै पनि देशको राष्ट्रवाद अर्को देशको राष्ट्रवादको विरोधमा हुनै सक्दैन। कुनै देशको विस्तारवाद हमेशा अर्को देशको राष्ट्रवादको शत्रु हुन्छ र अन्धो राष्ट्रवाद नमान्ने कुतर्कमा त्यसलाई सहन तैयार हुने उदार राष्ट्रवादी नभएर राष्ट्रघाती हो।
राष्ट्रवादीलाई शत्रु देशले पनि प्रशंसा गरेका उदाहरण इतिहासमा प्रशस्त भेटिन्छन् भने राष्ट्रघातीलार्ई जुन शत्रुको स्वार्थ पूर्ण गर्ने राष्ट्रघात गर्यो त्यसैले पनि काम सकिए पछि दुत्कारेको उदाहरण ईतिहासमा खोज्न परिश्रम गर्नु पर्र्दैन। आफुलाई उदार राष्ट्रवादी भन्नेले आफ्नै आत्मा साक्षी राखेर हेरे हुन्छ कि ऊ राष्ट्रवादी हो वा राष्ट्रघाती हो? यदि ऊ राष्ट्रको छद्म नागरिक होईन भने उदार राष्ट्रवादको नाममा उसले गरेका कामले उसैलाई भतभती पोल्छ।
राष्ट्रवादलाई प्रगतिको वाधक, मूर्खतापूर्ण चिन्तन वा जडसुत्रवाद भन्ने जमात पनि बिभिन्न बिशेषणले आफैलाई अलंकृत गरेर अस्तित्वमा रहेका छन्। अन्तरराष्ट्रियवादको करौंतीले राष्ट्रवादलाई चिरेर क्षेत्रीयता तथा जातिवादको चुलोमा पोल्न उद्धत तत्व हामीलाई चटकेले झै भ्रम पैदागरी वाल्ल बनाउँदैछन्। पहिलो तथा दोश्रो विश्व युद्धले सुताएका देशहरु राष्ट्रवादको संजिवनीले उठेर आज विकसित देश भएका उदाहरणलाई हत्केलाले घाम छेके झै गरेर कहिलेसम्म झुक्क्याउन सक्ने हुन?
एकातिर राष्ट्रवादको मुलच्छेदन गर्ने यो प्रवृत्ति छ भने अर्कोतर्फ राष्ट्रवादलाई आफ्नो खेमामा निमन्त्रण गर्ने होड पनि चलेको छ। राष्ट्रवाद जग हो भने अन्य सबै वादहरु कोठाहरु हुन्। घरको कुनै पनि कोठाले आफूभित्र आफ्नो जग राख्न सक्दैन, पुरा घर नै जगमा अडेको हुन्छ। राष्ट्रवादमा राष्ट्रभन्दा ठूलो कुनै राजा―महाराजा, नेता, सिद्धान्त, दल आदि केही हुनै सक्दैन। देशलाई सर्वोपरि मान्ने राष्ट्रवाद कसैसँग मिसिने नभएर अरुलाई आफुमा समाहित गरेर देशको भलो गर्ने धार हो। राष्ट्रवाद मात्र मुलुकको मुलधार हुनुपर्छ र हो पनि।
देशको राम्रो हुँदा उमङ्गले फुल्ने र देशको रत्तिमात्र पनि अहित देख्दा दुःखले मन चाउरिने गर्दछ भने त्यो राष्ट्रवादी हा,े यसमा कुनै शंका छैन। देशको भलो कुभलोमा आफ्नो फाईदा घाटा खोज्ने र त्यसै अनुसारको असर पर्ने हो भने त्यसको राष्ट्रवादमा बिचलन आउदैछ भन्ने कुरा बुझे हुन्छ। आफ्नो व्यक्तिगत वा दलगत स्वार्थको निमित्त देशलाई चोट पुर्याउने वा मल्हम लगाउने राष्ट्रघाती हो र उसले देशलाई गरेको फाईदा वगरेले खसीलाई हालेको घाँस हो भन्ने कुराको ढोल पिटिदिए हुन्छ। अब हामी आफै विचार गरौ हामी के हौ? अन्धो राष्ट्रवादी, उदार राष्ट्रवादी वा राष्ट्रवादी!!