धर्मरत्न श्रेष्ठ-
वैद्यबाहेक विद्रोही रामबहादुर थापाले प्रचण्डसँग हात मिलाए। विप्लव विद्रोहको मैदानमा हतियार साँध लगाउँदैछन्। बाँकी प्रचण्डको माओवादी केन्द्रमा सामेल भएका छन्। कतै यो मिलन भ्यागुताको धार्नी नबनोस्? एउटा आशंका यस्तो छ भने अर्को तर्क छ– यी हातहरु मिल्नुको कारण मात्र जनयुद्धकालीन हत्या आरोपबाट आममाफी खोज्ने शक्ति प्रदर्शनमात्र हो। जनयुद्धकालीन मुद्दाहरुमा माओवादीले मात्र दण्ड भोग्नुपर्ने भन्ने प्रश्नसमेत यो समूहले उठाउन थालेको छ।
मणि, मातृका, रामवहादुरहरुले प्रचण्डलाई र उनको माओवादी केन्द्रलाई कति बलबती बनाए, यसको परीक्षण सुरु भइसकेको छ। यो मिलनको विन्दू भनेको केपी ओलीसँग गरेको ९ बुँदे सहमति हो, जसको अन्तरवस्तु प्रचण्डले जेठ १३ गते खुलासा गरिसकेका छन्। उनले भनेका छन्– बजेटपछि सरकार परिवर्तन हुन्छ। अर्थात प्रचण्डको नेतृत्वमा सरकार बन्छ। त्यसो भए भावी प्रचण्ड सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगबाट आममाफी दिलाउन सक्छन्? आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले हालै भनेका छन्– फौजदारी मुद्दामा आममाफी हुनसक्दैन। आममाफी दिने निर्णय भयो र आयोग प्रभावित भयो भने अन्तर्राष्ट्रिय मानवाधिकारवादीहरुको हस्तक्षेप हुनसक्छ। अधिकारवादीले कर्णेल कुमार लामालाई बेलायतमा मुद्दा चलाएर संकेत दिइसकेका छन्।
प्रचण्ड, बाबुराममाथि ३७ र १८ मुद्दा छन्। ती मुद्दा ब्यूँताउनु हुन्न, मेलमिलाप आयोगबाट समाधान गर्नुपर्छ भनिरहेका छन् प्रचण्ड। सक्लान् उनले? र, उनको नेतृत्वमा बन्ने सरकारले मेलमिलापको नामबाट दण्डहीनता खोज्न सक्छन्? यसैवीच माओवादी केन्द्रभित्रैको खबर छ– मातृका यादवले भारतीय विस्तारवाद भन्ने शव्द उच्चारण नगरौं, यो शव्दले माओवादीलाई सिध्याउँछ।
चंख प्रचण्डले मधेस पहाडको उपनिवेश झल्किने प्रवृत्ति भए त्यसविरुद्ध एक भएर संघर्ष गर्ने लिखित बचन दिएपछि मातृका यादवले माओवादी केन्द्रमा सहमति जनाए। सरकार गठन गर्दा मातृकाले पनि भाग पाउने भएका छन्।
माओवादी केन्द्र यसरी बनेछ-
नरनारायणबाबाको चरणकमलमा परेका प्रचण्डले भैंसी पुजनसमेत गरे। ज्योतिषीलाई नारी देखाए र आफ्ना सुदिन कहिले सुरु हुन्छ भनेर आखेटसमेत हेराए। अहिले माओवादी एकता सम्भव गराउन ज्योतिषकै भर परेर गरेको थाहा भएको छ। कम्युनिष्ट ज्योतिष मान्दैनन्, ढोंग भन्छन् तर कमरेड प्रचण्डले ज्योतिष दीपक सुवेदीमा भर गरेर जोखना हेराए र माओवादी केन्द्र नामाकरण गर्दा फलाफल हुने सल्लाह पाएपछि त्यही नामाकरणमा माओवादी केन्द्र खोलिएको र प्रचण्ड अध्यक्ष बनेको खबरले कम्युनिष्टभित्रै सनसनी फैलिएको छ। सगरमाथा टीभीको एक कार्यक्रममा ज्योतिष दीपक सुवेदीले ए नाम नफाप्ने भनेर सुझाव दिएको बताएका थिए। यही सुझावको भर परेर प्रचण्डले ए फाले र माओवादी केन्द्र बनाए। अव हेर्नुछ– ज्योतिषले प्रचण्डलाई कति जाज्वल्यमान बनाउने हुन्?