Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

उद्यमीको अपहरण: संकेत डरलाग्दो

१७ सोमबार , जेठ २०७३९ बर्ष अगाडि

रोशन कार्की-
वीरगञ्जका खाद्य उद्यमी सुरेश केडियाको अपहरण मुद्दाले उद्योग व्यापार क्षेत्रमात्र होइन, देशकै कानुनव्यवस्थासमेत चरमराउन पुगेको छ। बल्लतल्ल शान्ति र स्थिरता कायम होला भन्ने आशा जागेको बेलामा उद्यमीकै अपहरण हुनु र सुरक्षा निकायले कुनै सुराक नपाउनुले ठूलै तरङ्ग उत्पन्न गरिदिएको छ। त्यसमाथि भारतीय नम्बरप्लेट भएको गाडीमा अपहरण भएकोसम्म थाहा सार्वजनिक भएपछि भारतीय गुण्डागर्दीले थप आहत पार्नसक्ने संकेत देखिएको छ। एकातिर खुला सिमाना छ, अर्कोतिर भारतमा बसेर नेपालमा अपराध गर्ने प्रवृत्ति बढेर गएको छ। नेपाल भारत सम्बन्ध असमान्य बन्दै गएको स्थितिमा यस्ता अपहरणका घटना हुनुले अनेक आशंकाहरुलाई जन्माउनु स्वभाविक हो।
नेपाली सुरक्षाकर्मीले सिमावर्ती नाका र नेपाली क्षेत्रमा निगरानी गर्ने हो, निगरानी गरिरहेको छ। तर अपराधी सिमापार भइसकेको छ र भारतीय सहयोग बिना नेपालले अपराधी पक्राउ गर्न सक्दैन। नेपाल भारत सम्बन्ध चिस्सिएका बेलामा भारतले नेपाललाई सहयोग गर्छ भनेर विश्वास कसरी गर्ने? भारतका असन्तुष्टिहरु अनेक छन्। यो असन्तृष्टिको कारण शेरबहादुर देउवा, प्रचण्ड र केपी ओली हुन्। नेपालविज्ञ एसडी मुनीका अनुसार संविधान जारी हुनुपूर्व यी तिनै जना भारत भ्रमणमा गएका थिए र तिनै जनाले नेपालप्रतिको भारतीय चासो संवोधन गर्ने विश्वास दिलाएर फर्केका थिए तर संविधानमा भारतीय चासो संवोधन नगर्दा सम्बन्धमा तिक्तता बढेको हो। नेपालले भारतलाई जतिसुकै अप्ठेरो पोजिसनमा पारिदियो भने पनि भारतले सानो अप्ठेरो पारिदियो भने नेपाल प्याकप्याकी पर्नसक्छ। नेपालले बुद्धिमत्तापूर्ण कूटनीति र समदूरीको नीतिमा चल्न नसक्दा समस्याहरु जटिल र विकराल बन्दै गएका छन्। यो अवस्थामा मधेसतराई र जनजाति मिलेर संघीय गठबन्धन निर्माण गरी आन्दोलन गरिरहेका छन्। यो आन्दोलन भनेको नेपाल भारत सम्बन्धमा प्रभाव पार्ने आन्दोलन हो। नेपालकै सन्दर्भमा संविधान कार्यान्वयन भएर शान्ति र स्थिरता कायम गर्न नदिने आन्दोलन हो। राजनीतिक अस्थिरता बढाएर लगानी, उत्पादन र रोजगारीमा बाधा पार्ने आन्दोलन हो। यस्तो आन्दोलनलाई वार्ता र संवादबाट तत्काल संवोधन गरेर सहमतिमा पुग्नुपर्नेमा एकदोस्रोप्रति द्वेषभाव बढाउने अभिव्यक्ति सत्तारुढ नेताहरुबाट आइरहेका छन्। अर्थात् समस्या बढेर गइरहेका छन्। अन्तरपार्टी र अन्तर्राष्ट्रिय स्तरमा समेत दुस्प्रभाव परेको छ।
भारतसँग सम्बन्ध सामान्यीकरण गर्न ध्यान दिइहाल्नु उपयुक्त हुनेछ। सम्बन्धमा यसैगरी तीतोपन बढ्नु भनेको नेपालका लागि अर्को दुर्भाग्यका दिनहरु निकट हुँदैछन् भनेर जाने हुन्छ। राजनीतिक नेताहरु किन यसरी राष्ट्रवादका नाममा अत्यन्त प्रभावशाली सम्बन्धमा अमिलो घोल खन्याइरहेका छन्। बुझ्न सकिन्न।