Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पूर्वराजा भन्छन्–जनता आउ देश बचाउ

२४ सोमबार , जेठ २०७३९ बर्ष अगाडि

- स्वयम्भूनाथ कार्की-

विगत केही बर्षदेखि पूर्व राजाका हरेक सार्वजनिक उपस्थितिमा नारा लाग्ने गरेको छ। स्वागत तथा दर्शनको निमित्त जम्मा भएकाहरु चिच्याउने गर्दछन 'राजा आउ देश बचाउ'। अलिकति प्रवुद्ध भनिएको वर्ग भेट चाहान्छ, कुराकानी गर्न चाहान्छ। यस्तो भेट भैहालेमा उसको एउटै विषय हुन्छ, एउटै उपदेश हुन्छ जो ऊ पूर्वराजालाई दिन चाहान्छ। देश बचाउन मेरो तर्फबाट यसो गर्छु भन्ने कुरा कसैसँग हुँदैन। तर राजाले यसो गर्नु पर्दछ वा उसो गर्नु पर्दछ भन्ने अर्तिहरुको भण्डार हुन्छ।

शाहवंशको इतिहासमा सबै काम उसले जनतासँगको सहकार्यमा मात्र गरेको छ। त्यसैले होला पश्चिममा एक पटक मुखै खोलेर पूर्वराजाले भन्नुपर्‍यो, 'जनता आउ देश बचाउ'। आफुले दुख कष्ट पाएको कुरा गर्नेले राजाले भोग्नुपरेको परिस्थितिसँग आफुलाई अनभिज्ञ राख्नु उचित हुँदैन। विगतमा जे भोग्नु परेको छ त्यो सहन गर्नसक्ने हिम्मत संसारमा नै थोरैसँग मात्र हुनसक्छ। देश र जनताको भलोको निमित्त काम गर्न खोज्दा जे जुन अवस्था भोग्नु पर्‍यो त्यो कसैसँग लुकेको छैन।

त्यति हुँदा पनि 'म कुनै दल, व्यक्ति वा चरित्रको सुक्ष्म आकार होइन, मसँग समग्र राष्ट्रको सिंगो विचार छ। म सबै नेपालीलाई समभावका साथ माथि उठाउन मियो अवश्य बन्न सक्छु तर कोही कुनै दल वा व्यक्ति विशेषलाई माथि उठाउने कडी म बन्न सक्दिन। मेरो हैसियत त्यो होइन' भन्न सक्ने हौसला कायम छ। यो कुरा अर्ति दिनेहरुले मनन गर्नु आवश्यक छ। देश बचाउन राजा र जनताको संयुक्त मेहनत चाहिन्छ। पूर्व राजाले त आफु तैयार रहेको प्रष्ट पारिसकेका छन्। प्रश्न छ के सबै तह र तप्काका जनता अरुले के गर्नु पर्‍यो सिकाउन छोडेर देश बचाउने अभियानमा होमिन तैयार छन?

सिधा प्रश्न छ, 'राष्ट्र रहे हामी रहन्छौं र हामी ठीक ठाउँमा, ठीक ढंगले रहे राष्ट्र रहन्छ। त्यसैले राष्ट्र बचाउन, राष्ट्रियताको संवर्द्धन गर्न र सबै राष्ट्रवादीको दुःखदर्द हटाउन दूरदर्शी दृष्टि चाहिन्छ। सही, स्वच्छ र समन्वयकारी नेतृत्व चाहिन्छ। सबैको सर्वमान्य दरो मियो चाहिन्छ। जनताको आशा, भरोसा र आस्थाको पर्खाल उसै भत्काएर हुँदैन। त्यसमा जनताको अन्तर्मनको ज्ञान पनि बुझ्नुपर्छ। जनताको मन कताकता यस्तैयस्तै कुराले आज खिन्न र खण्डित बन्दै गएको मेरो अनुभव छ।

    राष्ट्रिय गतिविधि निरन्तर ऊर्ध्वगामी हुनुपर्छ, अधोगामी होइन। यसका निमित्त निरन्तर निश्चित गतिमा राष्ट्रिय विधिविधानको सञ्चालन हुनुपर्छ। तर प्रश्न उठेको छ, त्यो स्थिति आज किन अवरुद्ध छ? बितेका १०–११ वर्षमा के कस्ता, के कति सरकार आए? राष्ट्रको गहनतम जिम्मेवारी बहन गरेकाहरूले के के भने, के के गरे? जनताले यी प्रश्नको उत्तर खोज्ने हिम्मत गर्नै पर्दछ। 

अवको उत्तम बाटो के हुनसक्छ भन्ने बारेमा भनिएको छ, 'राष्ट्रको विद्यमान असफल अवस्था अन्त्य गर्न अन्ततः नेपाली जनता नै जागरुक हुनुपर्छ, यो मेरो अन्तस्करणको धारणा हो। परिवर्तनशील समय–प्रवाह निरन्तर प्रतिफलमुखी हुनुपर्छ, समयको छालमा बग्ने तर ठीक ढंगले वारपार गर्न नसक्दा दुर्घटना निम्तिन्छ। मुलुकले गति लेओस विधिविधानले निकास पाओस् र सबै क्षेत्रमा निरन्तर विकास होस् भन्ने नै हाम्रो कामना हो– हामी सबैको भावना हो।'

गर्छु भनेर मात्र हुँदैन, आफ्ना अनुभवबाट पाठ पनि सिक्न आवश्यक छ। यो कुरा यसरी व्यक्त गरिएको छ, 'तर बाटो कहाँ, कसरी बिराइयो र यस्तो अलमलमा किन पारियो, हाम्रो साझा चासोको कुरा यही हो अहिले। हेरौं, देखौं, सुनौं, बुझौं र समीक्षा गर्दै जाऔं।'

 गल्ती गर्दैमा केही हुन्न यदि त्यसलाई सुधार गरिन्छ भने। त्यसैले कुनै पुर्वग्रह राखिएला भनेर हराउन पर्ने आवश्यकता छैन। मुलुकको निमित्त काम गर्ने अवसर सकिएको छैन। यो कुरा पनि यसरी उल्लेख छ, 'यो हाम्रो मानवीय स्वभाव हो तर सिंगो सबल राष्ट्र, सुदृढ राष्ट्रियता, सबैलाई एकत्रित र समुन्नत पार्ने सुन्दर प्रजातान्त्रिक शासनशैली हामीलाई चाहिन्छ। हाम्रो राष्ट्रिय आवश्यकता भनेको राष्ट्र र राष्ट्रवासीको सर्वोत्तम हित नै हो।'

पूर्वराजाले आफ्नो कुरा स्पष्ट पारेका छन्। मुलुकमा वर्तमान परिस्थिति आउनमा धेरथोर सबैको जिम्मेवारी छ। एकोहोरो दोषारोपण मात्रले कुनै हल निक्लन्न। समय अनुसार र जनताको चाहाना अनुसार आफुलाई परिष्कृत गर्दे गएको र यसलाई निरन्तरता दिने कुरो पनि आएको छ। भनिएको छ। 'एक देशभक्त व्यक्तित्वको हैसियतमा जतिखेर पनि म जनतासँग नजिक रहन चाहन्छु। देशमा विभिन्न भूभाग र मठमन्दिरका द्वारहरू मेरा निम्ति सधैं खुला छन्। नेपाली जनतासँग सामिप्य बढाउने र समय सन्दर्भको आत्मबोध गर्ने काममा मेरो यस्तो भ्रमण फलदायी रहेको मैले अनुभव गरेको छु।' अव हात बढाउने पालो जनताको, पूर्वराजा त निरन्तर भन्दैछन् 'जनता आउ, देश बचाउ'।