Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

टक्कर दुई महारथीको

२४ सोमबार , जेठ २०७३९ बर्ष अगाडि

- शाश्वत शर्मा-

फेरि पनि भन्नैपर्ने हुन्छ– यहाँका ठूला कम्युनिष्टहरुलाई तिनको रणनीतिलाई जित्न कसैले सक्दैन। अनेक दाउपेचहरुबाट सुसज्जित यिनीहरु तत्कालका लागि, राजनीतिक फाइदाका लागि जे जस्तो किसिमको उपाय पनि अपनाउन तैयार हुन्छन्। अव सबै कुरालाई एकछिन, एकातिर पन्छाएर भर्खरै सम्पन्न राष्ट्रसेवक (मजदुर) कर्मचारीहरुको चुनावको नतिजाप्रति गम्भिर भएर सोचौं त? पच्चिस प्रतिशत तलव बृद्धि गरेर र ५ करोड चुनाव खर्च दिएर गराइएको कर्मचारीको चुनावमा एमाले समर्थित कर्मचारी संगठनले बहुमत ल्याउनु नै थियो, ल्यायो पनि। अव प्रधानमन्त्री र अर्थमन्त्रीले नै तलवबृद्धि गरिदिएपछि अलि अलि बचेखुचेका गैह्र एमाले कर्मचारीहरुले पनि एमालेको कर्मचारी संगठनमा मत हाल्ने पक्का थियो, हाले। हेर्दै गए हुन्छ, अहिलेको वितरणमुखी बजेटका कारण आउँदो मंसिरमा स्थानीय चुनाव भएमा यही एमालेले नै सबै राजनीतिक दलहरुको पत्तासाफ गरिदिनेछ। नेपाली जनताको मुडलाई क्यास गर्न खुब सिपालु छन् यी नाममात्रका कम्युनिष्टहरु। खासगरी एमाले कम्युनिष्ट। \u000a    हिजो पञ्चायत र तिनका शासक रणनीतिकारमा गनिन्थे। जुधाउने र बजाउने अनि फुटाउने गरेर पञ्चायतलाई आरामसँग तीस वर्ष टिकाइदिए। न उत्तरको, न दक्षिणको, न त पश्चिमको नै। कस्तो कस्तो शासन व्यवस्था जन्माएर त्यतिबेला शासकहरुले पञ्चायतलाई तीस वर्ष टिकाइदिए। यसमा त पञ्चहरु र तिनका नेताजीहरुलाई मान्नै पर्छ।

भन्नुपर्दा वास्तवमा ०४६ सालको परिवर्तन पनि कुनै त्यति ठूलो गन्नुपर्ने या मान्नुपर्ने खालको परिवर्तन होइन। हो, आफ्नो अभिष्ठ पूरा गर्न ०५२ सालदेखि २०६३ हुँदै ०६५ सालसम्म पुग्न सक्नु ठूलो उपलव्धि हो। त्यसमा अर्को ठूलो कम्युनिष्ट नेकपा माओवादी केन्द्रलाई मान्नैपर्छ। समय, वस्तुस्थिति र अरु राजनीतिक दलको रुझानलाई हेरेर तत्कालीन माओवादी (हालको माओवादी केन्द्र) ले प्रभावकारी रणनीति बनाएकै हो। अजय र अमर मानिएको नेपालको शाहवंशीय राजतन्त्रलाई जबरजस्ती र अवैध तरिकाले भए पनि विस्थापन गर्न नेकपा माअेावादी सफल भएकै हो। आफ्नो एजेन्डामा यहाँका सबै खालेहरुलाई सहमत गराएकै हो। फेरि पनि भन्नुपर्ने हुन्छ– यहाँका ठूला कम्युनिष्टहरु एमाले र अहिलेको माओवादी केन्द्र यी दुबै वाह्य निर्देशनमा चले पनि आ–आफ्नो अभिष्ठ सहज तरिकाले पूरा गराउन माहिर देखिए। अव हेर्नुछ, यी दुईको आफू आफूवीचको द्वन्द्वलाई। अहिले दुबै खेलाडीहरु सत्ताको नेतृत्व हत्याउन प्रत्यासरत छन्। संसदमा तेस्रो ठूलो पार्टी भएर पनि सत्ताको नेतृत्व लिन तम्सिने माओवादी केन्द्र र यसका अध्यक्ष प्रचण्डलाई त्यसै पनि मान्नुपर्ने हुन्छ भने पहिले (बजेट भन्दा अघि अलिखित, मौखिक) सहमति गरेर पनि लिखित ९ बुँदे सहमति देखाएर यही हो जेन्टलमेन्ट एग्रीमेन्ट भन्दै अर्को वर्ष संसदको चुनाव गराएर मात्र सत्ताको नेतृत्व छाड्छु भनेर प्रचण्डजस्ता धुरन्धर र माओवादी केन्द्रलाई नै चिप्ल्याउन खोज्ने के पी ओलीलाई पनि सफल रणनीतिकार मान्नैपर्ने हुन्छ। अव पार्टी बाहिरको मात्रै होइन कि आफ्नै पार्टी भित्र आफू विरुद्धको चर्को विवादलाई पनि सहजतापूर्व सामना गरेर अघि बढिरहेका प्रम ओली उस्तै परे अर्को वर्षसम्म टिक्छन् भनेर बताउनेहरुको पनि कमी छैन। उसो त, एमाले स्थायी कमिटी बैठकले संविधान कार्यान्वयन, पुनर्निर्माण, राष्ट्रिय स्वार्थ रक्षा र समृद्धि हासिल गर्ने विषयमा सम्पूर्ण राजनीतिक दलवीच साझा धारणा बनाउने निर्णय लिएको छ।

स्थायी कमिटीको बैठकले वैशाख २३ गते माओवादी केन्द्र र एमालेवीच भएको भद्रसहमतिका विषयमा, त्यो भद्र सहमतिमा राष्ट्रिय सहमतीय सरकार गठन गर्ने कुरा मात्रै नभएर संविधान कार्यान्वयन, पुनर्निर्माण सहितका विषयमा दलहरुवीच सहमति खोजिनेछ भन्ने रहेको कुरा बताएर सत्ताको नेतृत्व हस्तान्तरण त्यति सजिलै नहुने स्पष्ट पारेको छ। तर एमालेको स्थायी कमिटीको बैठकले राष्ट्रिय सरकारको नेतृत्व बारे एमाले पार्टी खुल्ला रहेको भन्न चाहिँ बिर्सेको छैन। एमाले चैं सबै विषयमा कुरा मिले पछि मात्र... भन्ने उता श्रीमान प्रचण्डदेखि लिएर कृष्णबहादुर महरा मात्रै होइन कि प्रचण्डका छोरा प्रकाश दाहाल समेत प्रम ओलीको राजीनामा (भद्र सहमति अनुसार) माग्दै हिड्ने। टक्कर दुई खुँखार पार्टीहरु र अझ भन्नुपर्दा दुई महारथीहरु केपी ओली र प्रचण्डका वीचमा भएको छ। दुबै स्वार्थ पूरा गर्न जान्ने रणनीतिकार अनि दुवै सत्ताका पक्का खेलाडी। हिजो आफ्ना सम्पूर्ण इच्छा र आकांक्षाहरुलाई ढिलै भए पनि पूरा गर्दै आइरहेका यी दुबै वीचको टक्करमा कसले बाजी मार्ने हो? त्यो चैं हेर्न पर्खनै पर्ने हुन्छ। तर एउटा कुरा चैं के पक्का हो भने, साँढेको जुधाईमा बाच्छाको मिचाई हुनेभो, जनता अरु पीडा भोग्न बाध्य हुनेभए। नेपाली कम्युनिष्टहरु, अझ एमाले र माओवादी केन्द्रको जस्तो सत्ता रानजीति गर्ने कुशल रणनीति अन्य राजनीतिक दलहरुमा देखिएन, कसो?