Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

अव 'परिवर्तन' नै हो : शाश्वत शर्मा-

०६ सोमबार , असार २०७३९ बर्ष अगाडि

समाचार अनुसार, सत्तारुढ प्रमुख दल नेकपा एमाले अव चुनावमा होमिने भएको छ। गत शनिवार प्रम निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकले स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनको तैयारी गर्ने समेत निर्णय गरेको छ। संसद, राष्ट्रपतिको निर्वाचन गर्ने भन्ने कुरो त एमाले नेताहरुको मुखमै झुण्डिएको छ। एकथरि विज्ञको विचारमा यो एमालेको शैली हो। सत्तामा रहदा एमालेले सधैं यसो गर्ने गरेको छ।  राष्ट्रलाई दूरगामी असर पर्छ भन्ने कुरालाई साइड लगाएर ल्याइएको सरकारको नीति तथा कार्यक्रम अनि बजेट मार्फत केही समयका लागि जनता लोभ्याएर भोट तान्ने रणनीतिमा एमाले हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ। आफ्नो बलियो जनाधार नभएको स्थानहरुमा विकासका कार्यक्रम भनी सबै क्षेत्रमा सिधा रकम पठाएर, बजेटमार्फत जनतालाई आफूतिर आकर्षित गर्ने एमालेको रणनीति अन्तर्गत, यसै सरकारले चुनाव गराउन पायो भने स्थानीय हुँदै सबै निर्वाचनमा बहुमत नल्याउला भन्न सकिन्न।। पैसा र शक्ति आफ्नो हातमा रहँदा त्यसको भरपूर उपयोग गर्न जानेको एमालेले चुनावको तैयारी (आफ्नै नेतृत्वको सरकारद्वारा) गर्ने निर्णय गरिरहदा उता अर्को बलियो सत्तारुढ दल माओवादी केन्द्रले आफै आफ्नो पार्टी नेतृत्वमा 'राष्ट्रिय सहमतिको सरकार' भज्न छाडेको छैन। वास्तवमा नेपाली राजनीतिमा अहिले नै यसै हुन्छ भन्न सक्ने स्थिति छैन, अन्यौल बढेको छ।

 बालुवाटारमा कांग्रेस सभापति देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डको तारन्तार भ्रमण भइनै रहेको छ। जुनसुकै हालतमा आफू प्रधानमन्त्री भइनै रहने केपी ओलीको इच्छा.. अनि जे गरेर भए पनि ओली नेतृत्वको वर्तमान सरकारलाई विस्थापन गर्ने देउवाको प्रयत्न..अनि राष्ट्रिय सहमतिको सरकारको नाममा तेस्रो ठूलो राजनीतिक दलको हैसियतमा सरकारको नेतृत्व गर्ने प्रचण्डको चाहनामा मुलुकको वर्तमान राजनीतिले गति लिइरहेको देखिन्छ। राजनीतिक विश्लेषकहरु ठोकुवा गरेर भन्छन्– भारतसहितको चाहना ओलीलाई सरकारबाट घोक्य्राउनु हो। तर यो सब देखावटीमात्र हो, ओली र भारतको भित्री साँठगाँठ भएको हुनसक्छ।

सुशील कोइरालाको पालामा, संविधानलाई देखाएर गरिएको नाकावन्दी ओलीको पालामा खुल्नु अनि सम्पूर्ण शक्ति लाग्दा पनि ओली सरकार टसमस नहुनले...यहाँ नाटक ज्यादा भइरहेको छ भन्नेहरुको पनि विस्तार विस्तार संख्या बढ्दै गएको छ। बजेटपछि ओलीले सत्ता प्रचण्डको हातमा सुम्पिन्छन् भन्ने विश्वास गर्ने माओवादी केन्द्रका नेताहरुले भोजसमेत खाइसकेका छन्, ख्वाइरहेका देखिन्छन्। तर अफसोस, ९ बुँदे सम्झौतालाई नै आधार बनाएर अहिले यसै सरकारले निरन्तरता पाइरहेको छ। भारत, देउवा र प्रचण्ड अनि मधेसी दल लाग्दा पनि ओली सरकार हल्लेको छैन। यो त असम्भव कुरो हो। प्रष्टसँग भन्नुपर्छ, खेल अर्कै भइरहेको छ। हुनसक्छ, अर्को परिवर्तन यिनै ओली र तिनै कमल थापा मार्फत गराउन खोजिएको होस्।.. परिवर्तनका लागि जनआन्दोलनका विरोधी ओली र कमल थापालाई एक गराएर खेल खेलाइएको होस्। जेहोस्, खेल चैं राम्रै भइरहेको छ। र एमाले अझ यो पार्टीभित्रको दक्षिणपन्थी गूट अर्थात केपी ओली गूटलाई हदैसम्मको फाइदा भइरहेको छ। र, बगिरहेको पानीमा राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चा नेपालका धर्मनिरपेक्षता र संघीयताका विरोधीहरु हात धोइरहेका छन्, मीठो मानेर सत्ताको रस पिइरहेका छन्।

फेरि पनि भन्नुपर्दा, नेपाली राजनीतिको अर्को 'कोर्स' भनेको ठूलो किसिमको परिवर्तन नै हो। यो सोह्रै आना पक्का छ।