Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

किरा अर्थात यार्सा टिप्ने जीवन

०६ सोमबार , असार २०७३९ बर्ष अगाडि

रोशन कार्की - किरा अर्थात यार्सा: यो वहुमूल्य जटिबुटी हो। यसको संरक्षण र विकास गर्न सके हिमाली र पहाडी जीवनलाई स्वर्ग बनाउन सकिन्छ। तर सरकार यस मामिलामा पनि चुकेको छ। मात्र कर उठाएर दलाल र तस्करलाई पोसिरहेको छ सरकार। यार्सा टिप्ने जनताले पाउनुपर्ने न्यायसंगत मूल्य कहिल्यै पाएनन्। मूल्य पाउन् भन्ने वातावरण सरकारले बनाएन पनि। यही कारण दलालहरु मोटाइरहेका छन्, जसले ज्यान हत्केलामा लिएर यार्सा संकलन गरे, तिनीहरु अहिले पनि अन्यायमा परिरहेका छन्। यार्सागुम्बाले पहाडी जीवनलाई जिवन्त पार्ने प्राकृतिक अवसरलाई राज्यले गुमाइरहेको छ।

भारतमा यार्सागुम्बाको खेती नै गर्न थालियो। उच्च हिमाली र पहाडी इलाकामा यार्साको खेती गरेर ती क्षेत्रका जनताको जीवनस्तर उकास्ने नीति लिएर भारत अघि बढेको छ। नचाहिने कुराको जति पनि नक्कल गर्नसक्ने नेताहरु त्यो लाभकारी नीतिको नक्कल गरेर नेपालमा प्राकृतिक रुपमा उम्रने किरा अर्थात् यार्सागुम्बा संकलन गर्ने जनतालाई अन्याय नहोस् भन्ने व्यवस्थासमेत गर्न सकिरहेको छैन।

यो जनताको सरकार हो कि दलाल र तस्करको? लोकतन्त्रमा लोक सरकारले लोकको हित र उन्नति हेर्नुपर्छ। नेपालमा त्यस्तो देखिएन। यसरी ज्यान जोखिममा पारेर यार्सा टिप्न हिमाल उक्लन्छन् पहाडी र हिमाली जनताहरु। पर्याप्त हिउँ परेन भने यार्सागुम्बा पाइन छाड्छ। यसवर्ष हिउँ कम परेकाले यार्सागुम्बा अर्थात किरा कम पाइयो। यार्सा टिप्ने मौसम यही हो र यो मौसममा घरबार छाडेर, स्कूल बन्द गरेर रुकुमदेखि बझाङसम्मका गाउँलेहरु किरा टिप्ने लेकतिर उक्लेका छन्। कतिपयको ठण्डीका कारण उतै मृत्यु पनि हुनेगरेको छ भने टिपेका यार्सा लुटिनेक्रम पनि बढेको छ। यसवर्ष त गुण्डाहरुले गोलीबारीसमेत गरेर जनताले संकलन गरेका यार्सा लुटेको खबर छ। कर उठाउने सरकार, यार्सा टिप्न जानेलाई सुरक्षा दिन भने वास्ता गर्दैन।

यो समयमा गाउँ सुनसान देखिन्छन्। सबै बालबालिका, खाने सामल, त्रिपाल बोकेर लेकतिर लागेपछि पहाडी जनजीवन यार्सामय भएको छ। यार्सागुम्बा प्रतिकिलो १८ लाखसम्म पाइने भएकाले यार्साआकर्षण बढेको हो। मनग्य आम्दानी हुने, जीवनधान्ने मौसमी रोजगारी बनेको छ यार्सा टिप्ने अवसर। यसरी घरपरिवार, जीवन नभनी टिपेको यार्सा अधिकांश दलालले आधामूल्यमा  जबरजस्ती किन्ने गर्छन् र चीनतिर निकासी गरेर दलाल मोटाउने गरेका छन्। राज्यले आफैले यार्सा किनिदिने व्यवस्था गर्ने हो भने यार्साटिप्ने जनताका लागि सहयोग हुनेथियो। त्यसै पनि हिमाली र पहाडी भेगमा सरकारले रोजगारीका अवसर जुटाउन सकेको छैन। यताका युवाहरु अधिकांश विदेशिएका छन्। बालबालिका र बुढाबुढीले यार्सा टिपेर नूनतेलको जोहो गरिरहेको कुरा सरकारलाई थहा छ तर सरकार यी जनताको पक्षमा उभिन सकेको छैन।