Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

राजनीतिमा उठ्ने सजिलो सुत्र : स्वयम्भुनाथ कार्की-

१३ सोमबार , असार २०७३९ बर्ष अगाडि

नेपाली राजनीतिमा चर्चामा आउने सजिलो सुत्र भएको छ पूर्वराजालाई चुनौति दिनु। अनि त्यति नै सजिलो बाटो भएको छ राजाको पक्षमा छु भनेर नाम बेच्नु। यी दुवै प्रवृतिहरु नेपाल र नेपालीको भलो गर्ने पटक्कै होईनन्। विगत तीसौ बर्षदेखि संवैधानिक राजा र पछिल्लो समयमा गणतन्त्र अभ्यास गर्दा पनि पूर्वराजालाई चुनैति दिन छोडिएन। काम केही गर्न नपर्ने केवल भाषणमा ठूला कुरा गरेमात्र हुने परिपाटी विकास गर्न जनता पनि त्यत्तिकै दोषी छ। चर्को भाषण गरेकै भरमा पद र शक्तिमा पुर्‍याउनु जनताको ठूलो दोष हो। आज नेपाली त्यही दोषको सजाय भोग्दैछन्।
यो प्रवृति विरोध गर्नेहरुमा मात्र होईन समर्थन गर्नेहरुमा पनि त्यत्तिकै हानीकारक छ। गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा भएको कारण जनताले टाउकोमा बसालेको राप्रपा नेपालको स्वार्थी नेतृत्व अहिले के गर्दैछ? यो कुरा थाहा नभएको कोही छैन। त्यस्तै वाढी पिडितलाई सहायता गर्न जाँदा पूर्वराजालाई जेल हाल्ने धम्की केवल सस्तो लोकप्रियता बटुल्ने प्रयत्न थियो। 'राजनीति गर्न भनेर विभिन्न पात्र र चरित्रहरूले मेरो नाम प्रयोग गरेको भन्दै मेरा शुभेच्छुकहरूले स्वाभाविक जिज्ञासा पनि राखेका छन् मसँग। म कुनै दल, व्यक्ति वा चरित्रको सूक्ष्म आकार होइन, मसँग समग्र राष्ट्रको सिंगो विचार छ।' भनेर पूर्वराजाले भन्नु पर्ने अवस्था यस्ता दुवै प्रवृतिको विरोधमा हो।
लिकबाट झरेको प्रजातन्त्रिक व्यवस्थालाई तीन बर्ष भित्र लिकमा ल्याएर राजनैतिक दलहरुको जिम्मा लगाउने राजाको संकल्पमा विश्वास गरिएन। त्यसपछि आन्दोलनकारी दलहरुलेलै खेस्रा गरिदिएको घोषणा गरेर 'जनताको नासो जनतालाई नै' जिम्मा लगाएका पूर्व राजाले चलखेलको आरोप भने प्रशस्त भोग्नु पर्‍यो। तर त्यस्तो चलखेलको कुनै सानोचन्दा सानो प्रमाण पनि कसैसँग छैन। दलहरुले निष्कंटक चलाएको यो दशकको मुल्यांकन गर्न जनता अझै चुकेको छ। अझै नेतागिरी चम्काउन विभिन्न दल, त्यसका भातृ संगठन आदिका नेता राजालाई नै गाली गर्न तल्लिन छन।
जनताको सोच बदलिएको छ , अव जनता पूर्वराजालाई दुर्वाच्य बोलेको आधारमा कसैलाई ठूलो नेता मान्न तैयार छैनन्। हो केही भरौटेहरुको ताली भने अवश्य प्राप्त होला, तर आम जनताको आशा र विश्वास भने पूर्व राजामाथि बढ्दो छ। त्यसैले यस्तो वेलामा पूर्व राजालाई लक्षित गरेर बोलिएका दुर्वाच्यले लोकप्रियता हैन घृणाको कमाई हुन्छ। यो कुरा साँढे छ लाख मतले मात्तिएको राप्रपा नेपालको नेतृत्वले सत्ताको गुलियोमा झुम्मिनेहरुको भिडले छेकेकोले बुझ्न सकेको छैन। जुन दिन यो यथार्थ, वास्तविकतासँग सामना हुनेछ त्यो दिन थाहा पाउने छ।
आर्यवर्तमा रहेका हजारौ राज्यका राजाहरुभन्दा नेपालको शाहवंश फरक हो। जहाँ अन्यले जनतालाई राजश्व दिएर आफ्नो ढिकुटी भर्ने साधन बाहेक अरु केही सम्झेनन्। त्यहाँ शाहवंशले हमेशा जनतासँग सहकार्य गर्‍यो। त्यही कमाई हो विगत दशकमा राजा उच्चारण गर्दा पनि सरकारी दमनचक्रको तारो बन्नुपर्ने अवस्थामा पनि पूर्व राजा देख्ने वित्तिकै जनता नारा लगाउछ 'राजा आउ, देश बचाउ'।
भारत संघमा विलय भएको सानो भन्दा सानो रजौटा बरावरको सम्पत्ति पनि शाहवंशसँग छैन। यो कुरा राजाको सम्पत्ति खोज्न चलाईएको सरकारी अभियानले नै प्रमाणित गरेको छ। अहिले राज्यका कुनै संयन्त्रमा राजाको नियन्त्रण छैन। पहिले भनिने गरेको जस्तो सेनाको बल पनि राजासँग देखिएको छैन। गद्दी छोड्दा राजा ज्ञानेन्द्र शाहवंशमा सवैभन्दा कम लोकप्रिय थिए। तैपनि पछिल्ला दश बर्षमा निरन्तर जनताको आस्था उनीप्रति बढदैछ। यो राजतन्त्र र जनता बीचको अभिन्न नाताको बाहेक अरु के को प्रभाव हुनसक्छ?
वर्तमानमा अलिकति प्रतिकूल परिस्थिति लाग्ने वित्तिकै केही जान्ने सुन्ने भनिएको व्यक्ति नेपाललाई अवसर नभएको भन्दै विदेश पलायन हुने बाटो खोज्छ। नेताहरुका आफन्त सबै विदेशमा स्थापित छन्। सत्ता र शक्तिको निमित्त नेपाल आउने, यहाँ नेतृत्व गर्ने प्रतिकुलता आउने वित्तिकै विदेश पलायन गर्ने कुरा कसैबाट लुकेको छैन। वर्तमानमा पूर्व राजा वरावर प्रतिकुल परिस्थिति भोग्ने अरु को छ? तैपनि जनता र मुलुकको निमित्त जस्तोसुकै बलिदान दिन तैयार भएर जनतासँगै बसेका राजालाई दुर्वाच्य वोलेर राजनीति चम्काउन खोज्नेहरु कुन श्रेणीमा छन्? यो कुरा जनताले सोच्न ढिलो गर्नु हुँदैन। पूर्व राजाको समर्थन वा विरोधमा आफ्नो निमित्त सत्ता र शक्ति खोज्नेहरुको जनताले मिति पुर्‍याई दिनु पर्दछ।