
नेपाल र नेपालीहरूको भविष्य अब के होला त ? एमाले की विद्या भण्डारी समूह र केपी शर्मा ओली समूहवचिको द्वन्द्वका कारण पार्टी फूटबाट मुलुकलाई फाइदा हुन्छ भनेर पखेर बस्ने ? कांग्रेसभित्र देउवा र शेखरवीचको छिनाझप्टीबाट कांग्रेसमा पनि फूट हुन्छ अनि त्यसपछि सबै राम्रो हुन्छ भन्ने आश गरेर बस्ने ? उता माओवादीभित्र पनि प्रचण्ड र जनार्दन शर्मावीच लडाइ भएर उक्त माओवादी पार्टि अझ कमजोर हुन्छ भनेर मुख मिठ्याउँदै बस्ने ? रास्वपाभित्रका काण्डहरू अझ छताछुल्ल हुँदै जान्छन् अनि कांग्रेसको बिकल्पमा खडा गरिएको उक्त पार्टीको नामो निशान मेटिन्छ भनेर खुशी हुँदै बस्ने ? उता उपेन्द्र यादव, सिके राउत, रेशम चौधरीहरूको पार्टीहरू भित्र देखिएको बिग्रहका कारण यो गणतन्त्र सकिन्छ भनेर सपना देखेर बस्ने ? नेपाली यसैगरी दिन बिताउने हो ? भ्रष्टहरू बिबादित छन्, कमजोर छन्, तर यो पद्धति बिस्थापनको कुरा कहाँ छ र ? पद, शक्ति र भ्रष्टाचारको लागि एकजूट हुने यी भ्रष्टहरूका माझ अहिले टुटफुट देखिएको छ । विदेशी स्वार्थ पूरा हुने भयो भने तिनले यिनलाई मिलाइदिन सक्छन् । बुझ्नुपर्ने कुरा यही हो ।
यो राजनीति हो, अवसरवादी राजनीति । यहाँ कुनबेला के हुन्छ ? भन्न सकिदैन । गत चैतमा भएको घटना, फागुनमा भएको राजाको भव्य स्वागतबाट यो भ्रष्ट व्यवस्था गयो भनेर धेरैले लख काटेका थिए । के भयो खोई ? तातेको स्थिति एकाएक सेलायो । त्यतिबेला सकृय भएकाहरू त्यसपछि कता हराए खोई ? कसका र कुन कारणले कुना पसेका होलान् ? स्वयम् राजाको मानमर्दन गरियो । राजाको सहमति, सहकार्य र संवादको आह्वानको अपमान गरियो । राजतन्त्रवादी र हिन्दुवादीको आन्दोलनबाट केही हुन्छ भनेर आशा गर्नु निरर्थक हुनेछ । यसकारण पार्टीहरूविरूद्ध देखिएको विवाद, बिग्रह, बिमति सामान्य हुन् । धेरै आशा नगरौं । यो बेथिति, नैतिकहीन राजनीतिको कहरबाट बच्ने बचाउने हो भने नागरिक आफै उठ्नुको बिकल्प छैन । अहिलेसम्म जे जति प्रयोग भए, सबै असफल भइसके । राप्रपा, रास्वपा, जनमत, लोसपा आदिहरू पनि पुरानाकै मार्गमा हिडेका छन् । के गर्ने, कसरी नागरिकको निर्णायक अधिकार सुरक्षित गर्ने ? भन्ने विषयमा नागरिकले नै सोच्नुपर्छ । स्थापित प्रवृत्तिलाई सुधार गर्नैपर्छ । जनताप्रति जिम्मेवार राजनीति नभएसम्म, शासन व्यवस्थामा सुशासन आउनै सक्दैन । यसका लागि आमनागरिकले देशव्यापी बहस चलाउनु पर्छ । जनता जाग्नुपर्छ । जनताले कुशासनमाथि खबरदार गर्नुपर्छ, दण्ड दिने प्रकृया सुरू गर्नुपर्छ । यसपछि राज्य सञ्जालमा जिवन्तता आउनेछ र त्यही जिवन्तताले सुशासनको सुरूआत गराउन सक्छ ।
अहिले जतिसुकै जघन्य अपराध गरे पनि राजनीतिक संरक्षण पाउने र कानुन असहाय हुने स्थिति छ । प्रधानमन्त्रीको हुनेवाला भारत भ्रमण, विद्या भण्डारीको एमालेको अध्यक्ष हुने प्रयास, मन्त्रिपरिषदको पुनर्गठन, भ्रष्टाचारका काण्डहरूको चर्चा परिचर्चा, मुद्दातिर आँखा लगाएर बस्नु देश र जनताका लागि घातक विषयहरू हुन् । राष्ट्रघातीहरूको चर्तिकला १८ वर्षदेखि चलिरहेकै छ । यिनले चटकेलेजस्तो चर्तिकला देखाइरहन्छन् । जनताको आँखामा धूलो हालिरहन्छन् । अब पनि नागरिकले आँखा मिचेर र आशा गरेर बस्नु भनेको जनअधिकारकै त्याग हो, जनाधिकारको स्थापनाबाहेक यो लथालिङ्गबाट पार पाउन सकिनेछैन ।
त्यसैगरी जबसम्म राजसंस्थाको पुनस्र्थापना हुनेछैन, यो भ्रष्ट व्यवस्थाको अन्त गर्न सकिदैन, यो संविधान र यी नेताहरूको चरित्रले मुलुक सिद्धिदै जानेछ । यो भ्रष्ट राजनीतिक पहिरोबाट बीचबचाउका लागि जनता उठ्नुपर्छ, राजसंस्था पुनस्र्थापित गर्नैपर्छ । जनताको असंगठित बिद्रोहबिना यो सम्भव छैन । हिजो पनि जनविद्रोह नै मूलबाटो थियो, आज पनि जनविद्रोहको बिकल्प छैन । बीचमा आन्दोलन भनेर निस्केकाहरू आइहाल्छ कि, पाइहालिन्छ कि भन्ने अवसरवादी थिए । अवसरवादी आन्दोलनकारीलाई नागरिकले चिन्नुपर्छ र आफै अग्रसर हुनुपर्छ । जगमान गुरूङ, राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाई, केशर विष्टहरू मीठा कुरा गर्छन्, आन्दोलन गरेजस्तो पनि गर्छन् । कुन्नी कसले यिनलाई हपार्छ, अनि मौन बस्छन् । यस्तो मौसमी आन्दोलनले नेपाल र नेपालीको भविष्यमाथि खेलबाडमात्र गर्नेछ, भ्रष्टहरूलाई झन बढी आवसर दिनेछ, भ्रष्टाचार गर्न उक्साउने छ । भाषण गर्दा सबै परिवर्तनको पक्षमा देखिन्छन्, लाभ र लोभले आन्दोलन सुरू र अन्त्य हुनेगरेको छ । राजनीति उनै ओली, प्रचण्ड, देउवाका वरिपरि रूमल्लिइरहेको छ ।
मुख्य कुरो जबसम्म हामी भ्रष्ट राजनीतिको सेरोफेरोमा नै अल्मलिइरहन्छौं, तबसम्म यो मुलुकमा परिवर्तन हुने सम्भावना छैन । जब हामी मुलुक र आफू, आफ्ना सन्ततीको भविष्य सोचेर अघि बढ्न खोज्छौ, तब सुरक्षित हुनेछौं ।