
नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यको चेतना र दायित्वप्रति मेरो धारणाा यसप्रकार रहेको छ ।
दिपेन्द्र सिंखडा
नेपाली कांग्रेस, नेपालको प्रजातान्त्रिक आन्दोलनको अग्रणी शक्ति हो, जसले दशकौंको संघर्ष, बलिदान र नागरिक अधिकारको लडाइँमा ऐतिहासिक भूमिका निर्वाह गरेको छ आज पनि यो पार्टी नेपाली जनताको आशा र विश्वासको केन्द्रबिन्दुका रूपमा रहँदै आएको छ ।
यस ऐतिहासिक दलका क्रियाशील सदस्यहरू पार्टीको मेरूदण्ड हुन् । उनीहरू केवल निर्वाचनका बेला मतदाताको रूपमा सक्रिय हुने पात्र होइनन्; उनीहरू नीति, सिद्धान्त र संगठनको जीवन्त पहरेदार हुन् । क्रियाशील सदस्यता भनेको कागजी नाममात्र होइन, यो जागरूकता, अधिकार र जिम्मेवारीको आधार हो ।
पार्टीभित्र जुनसुकै तहमा देखिएको विकृति, विसङ्गति वा अनुशासनहीनताको विरोधमा बोलेर सुधारको बाटो देखाउनु क्रियाशील सदस्यहरूको कर्तव्य हो । बी.पी. कोइरालाले भनेजस्तै, “नेताले गल्ती गर्दा टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त दास हो, या त चरम स्वार्थी ।” आज यो भनाइ कांग्रेसभित्र झनै सान्दर्भिक बनिरहेको छ ।
यसै सन्दर्भमा हाल क्रियाशील सदस्यता नवीकरण र वितरण प्रक्रिया पार्टीभित्र चलिरहेको छ । यो प्रक्रिया पारदर्शी, विधिसम्मत र अनुशासनमा आधारित हुन आवश्यक छ । प्रत्येक सदस्यले आफ्नो नवीकरण भएको छ कि छैन भनेर चासो दिनुपर्छ। साथै, आफ्नो सदस्यता नम्बर अरू कसैले दुरूपयोग त गरेको छैन भन्ने कुरामा सतर्क रहनुपर्छ ।
यदि कसैले आफ्नो सदस्यता नवीकरण गर्न चाहँदैन भने पनि, त्यो सदस्यता उहाँकै नाममा सुरक्षित रहनुपर्छ । अरू कसैले त्यसलाई प्रयोग गर्न नपाओस् भन्ने सुनिश्चितता पार्टीको केन्द्रिय तहले गर्नैपर्छ ।
नेपाली कांग्रेस मासबेसमा आधारित लोकतान्त्रिक पार्टी हो । यसमा विचारको स्वतन्त्रता, आलोचना गर्ने अधिकार र नेतृत्वलाई सही मार्गमा डोर्याउने दायित्व सबै सदस्यमा समानरूपले हुन्छ । त्यसैले सबै क्रियाशील सदस्यहरूले पार्टीलाई केवल वाह्य आलोचना होइन, आन्तरिक सुधारको बाटो देखाउँदै सचेत, जिम्मेवार र सिद्धान्तप्रति प्रतिबद्ध नागरिकको भूमिकामा उभिनुपर्छ । कांग्रेसभित्र नेतृत्व सशक्त बनाउने, संगठनलाई अनुशासनमा राख्ने र नीति–कार्यदिशा जनमुखी बनाउने जिम्मेवारी केवल शीर्ष तहको होइन; यसमा हामी सबैको सहभागिता अनिवार्य छ । अन्तत, सशक्त नेतृत्व सशक्त सदस्यबाटै जन्मिन्छ । हामी सबैले आ–आफ्नो ठाउँबाट सचेत भएर बोलेर, लेखेर र विचार प्रस्तुत गरेर पार्टीभित्र सुसंस्कृति र लोकतान्त्रिक अभ्यासको आधार निर्माण गर्नुपर्छ ।