कतारमा काम गर्न गएका युवाहरुलाई दाससरह काम लगाइयो भनेर मानवाधिकारवादी रिपोर्टले नै बोल्यो। अफगानिस्तानमा आतंककारीले उडाएका १२ नेपाली युवाहरु भाडाका सैनिक भएर गएका रहेछन्, यसरी भाडाका सैनिक बनेर जानेहरु लाखौं हुनसक्ने अनुमान छ। विश्वका जहाँ जहाँ जोखिम बढी छन्, त्यहाँ त्यहाँ नेपालीहरु भाडाका सिपाही बनेर गएको देखिन्छ। प्रत्येक दिन ३ देखि ७ थानसम्म उडेर गएका युवाहरुको शव आइरहेका छन्, सरकारलाई कुनै मतलव नै देखिन्न। केही वर्षअघि इराकमा लाइन लगाएर १२ नेपालीको हत्या गरियो। तैपनि दलालमार्फत, सरकारले नै वैदेशिक रोजगारीमा युवाहरु बेचिरहेको छ र तिनले पठाएका रेमिटान्सले नेताहरु देश चलाइरहेका छन्। विदेशमा युवायुवतीहरु किरा मारिएजसरी मारिदा, शोषणमा पर्दा तिनको सरकार के हेरिरहन्छ? किन संरक्षकको काम गर्दैन? कति संवेदनहीन छ सरकार।
बैदेशिक रोजगारीमा गएका तिनै युवाहरुको लाशमाथि टेकेर शान्ति, समृद्धि र विकासको गफ चुटिरहेछ।
उच्चशिक्षा पढ्न एकै वर्षमा ३१ हजारभन्दा बढी विदेश गइसकेछन्। वैदेशिक रोजगारीमा गएकाको दाम्पत्य जीवन भत्किरहेको प्रहरी रिपोर्ट छ। अहिले पनि खाडीदेखि युरोप, अफ्रिकासम्म हजारौं युवा युवती जेलमा सडिरहेका छन्, बिरामी भएर अस्पतालमा मृत्यु कुरिरहेका छन्, तैपनि युवामा देश होइन विदेशको मोहमा छन्, आखिर किन? कारण के हो? दोषी सरकार हो कि सरकारी नीति? पार्टी हुन् कि अवसर नदिने पार्टिकरण? खोई समाजशास्त्रीहरु बोलेको?
सरकारले बजेट ल्यायो र बजेटमा ३२ प्रतिशतभन्दा बढी वैदेशिक रोजगारीबाट प्राप्त रकमले देश बनाउने कुरा छ। रेमिटान्सले आजसम्म कुन देश बनेको छ। कोरिया यस्तै थियो, रछ्यानमा फालेको भातको सिता टिपेर खाने कोरियाले वैदेशिक रोजगारी होइन, स्वदेशी स्वाभिमान सिकायो, अवसर दियो र आज कोरिया सम्पन्न भएको छ। हामी युवायुवती बेचेर, तिनको रगत पसिनामात्र होइन, ज्यानको मोल लिएर देश चलाउने राजनीति गरिरहेका छौं, नेताहरु जवाफ देउ– नयाँ नेपाल भनेको यही हो?
काठमाडौं काबुल बन्छ भन्ने आशंका धेरै पहिलेदेखि थियो। अमेरिकाले नेपालमा आतंककारी गतिविधि एयरपोर्टबाटै छिर्न सक्ने खबरदारी गरिसकेको छ। अहिलेसम्म भारतबाट छिर्ने आतंककारी फेरि पनि छिर्नसक्छ। भारतमा आइएसआइएस छिरेको थियो, बंगलादेशमा रक्तपात मच्चाइसक्यो, हामीले अहिले नै सतर्क भएनौं भने युवा बेचेर भ्रष्टाचारी र माफियाकरण भएको राजनीतिज्ञ र प्रशासकको कमजोरीले आतंकी नाच काठमाडौंमै हुनसक्छ। प्रहरी अधिकारीले त्यस्तो आशंका गर्दै तत्काल सुरक्षानीति मजबुत पार्नुपर्ने आवश्यकताबारे बोलिसके। नेताहरु सत्ता परिवर्तनको खेलमा छन्, युवा बेचेर देश चलाउने नीति फेर्नतिर ध्यान दिइरहेका छैनन्। भन्छन्, हामी नयाँ नेपाल बनाउँछौं। गफैमात्र भइरहेछ।
४० लाख भारतमा छन्, ६० लाख खाडीदेखि अन्य मुलुकहरुमा गएका छन्। तिनीहरुलाई फर्काउने कसरी, तिनले हासिल गरेका ज्ञान, सिप र जाँगरलाई देश निर्माणमा लगाउने नीति कस्तो बनाउने? गरिखान पाइएन भनेर विदेशीनेलाई गरिखान पाइन्छ भनेर आश्वस्त पार्न राजनीतिक बर्गले सामुहिक प्रयत्न गर्ने कि नगर्ने? गणतन्त्र अहिले नै गनतन्त्र भइसक्यो, शान्ति खलबलिइसकेको छ। संविधान कागज बनिसक्यो, सरकार, संसद र नेताहरु निस्प्रभावी भइसके। किन? राजनीतिक बर्गले आफूले आफैलाई मन्थन, मूल्यांकन गरेर देश बचाउने, बनाउने विवेकको बिर्को खोल्ने र युवालाई बेच्ने नीति नफेर्ने हो भने देशको भविष्य अन्धकारमात्र होइन, सुरुङ बन्ने निश्चित छ। नेताहरु जवाफ देउ– राष्ट्रका लागि, भावी पुस्ताका लागि जवाफदेही बन्ने कि नबन्ने?
गणतन्त्र आएपछि किन बेरोजगारी बढ्यो? किन रोजगारीको सिर्जना गर्न सकिएन? समाजवाद र संसदवाद भन्नेहरु नै निरंकूशवादी बने? देशलाई अस्तव्यस्त पार्न राजनीतिले मलजलको काम किन गर्यो? एकसेएक बाद छन्, सबैले आफूलाई उत्कृष्ठ भन्छन्। तर यिनले नेपालबाद कुल्चेर युवाजमात मास्ने र मार्ने काममात्र गरिरहेका छन्। युवाको बिनास भनेको देशको विनास हो भन्ने राजनीतिक चेत देख्दै देखिन्न। राजनीति भनेको त सत्ता, शक्ति र सम्पत्तिमात्र हो भन्ने भ्रमको व्यापार चलिरहेको छ। कस्तो बिडम्बना?
एक नागरिक मर्दा वा बिपदमा पर्दा राष्ट्र जुर्मुराउँछ, नेपाली नेता र सरकारका लागि जतिसुकै नेपाली विदेशमा मरुन्, अभरमा परुन् अथवा तिनले हारगुहार गरुन्, नेपाल सरकारका लागि त्यसको कुनै मूल्य नै देखिन्न। तैपनि नेताहरु भन्छन्– नागरिक सर्वोच्चता, नागरिक सरकार।
नेपाली राजनीतिमा मानवीय संवेदना मरिसक्यो। नेताहरु भन– मरेको नागरिक संवेदना बोकेर कसरी नागरिक सर्वोच्चता कायम गर्न सकिन्छ?